कांग्रेसको विधान मस्यौदामा सहमति
काठमाडौं : कांग्रेसको नयाँ विधान मस्यौदामा पार्टीका शीर्ष नेताबीच सहमति जुटेको छ। सहमतिअनुसार कांग्रेसमा एक सभापति, दुई उपसभापति, दुई महामन्त्री र दुई सहमहामन्त्री निर्वाचनबाट चुनिनेछन्। एकएक कोषाध्यक्ष र प्रवक्ता भने सभापतिले केन्द्रीय समितिमार्फत मनोनीत गर्न पाउनेछन्।
प्रवक्तासहित कांग्रेस पदाधिकारी संख्या ९ सदस्यीय हुनेछ। यसअघि कांग्रेस केन्द्रीय समितिमा एक उपसभापति, एक महामन्त्री र एक सहमहामन्त्री निर्वाचित सभापतिले मनोनीत गर्ने व्यवस्था थियो। सभापतिसँगै एक महामन्त्री र एक कोषाध्यक्ष निर्वाचित हुन्थे। केन्द्रीय समितिको संख्या भने १ सय ६१ सदस्यीय बनाउने सहमति भएको छ।
यसअघि उक्त संख्या ८५ सदस्यीय थियो। मुख्य विवाद देखिएको पदाधिकारीको संख्या र त्यसको प्रक्रियाबारे मंगलबार साँझ सहमति भएको नेता कृष्णप्रसाद सिटौलाले जानकारी दिए। ‘बाँकी कुरा विधान मस्यौदा समितिका संयोजक पूर्णबहादुर खड्का र विधान समितिले मिलाएर ल्याउनुहुनेछ’, उनले भने। बुधबार १२ बजे केन्द्रीय कार्यसमिति बैठक बस्नेछ। त्यसले सहमति भएको विधान मस्यौदालाई पारित गर्ने उनले बताए।
महासमिति बैठकको बन्दसत्रमा विधानकै विषयलाई लिएर मंगलबार बिहान तनाव सिर्जना भएपछि शीर्ष नेता दबाबमा थिए। दिउँसो साढे तीन बजेदेखि संसदीय दलमा उपसभापति विमलेन्द्र निधि, महामन्त्री तथा विधान मस्यौदा समितिका संयोजक पूर्णबहादुर खड्का, समिति सदस्य रमेश लेखक र मीनेन्द्र रिजाल एवं नेता अर्जुननरसिंह केसीबीच अनौपचारिक छलफल भएको थियो। छलफलले विधानको टुंगो लगाएको नेता रिजालले बताए। अनौपचारिक छलफलमा साँझ साढे ६ बजे सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला र नेता सिटौलासमेत सहभागी थिए। उनीहरू पुगेको केही समयमै विधानमा सहमति जुटेको थियो।
कांग्रेसको विधानमा पदाधिकारी संख्या, पदाधिकारी छान्ने प्रक्रियासहित सभापतिलाई दिने मनोनीतको प्रतिशत, समावेशिताको क्लस्टर, पार्टीको सदस्यतालगायत विषयमा शीर्ष नेताबीच विवाद थियो। सभापति देउवाले मंगलबार पदाधिकारीमा समेत समावेशिता बनाउन सहमहामन्त्रीको संख्या ५ बनाएर मनोनीत गर्ने प्रस्ताव गरेका थिए। उपसभापति र महामन्त्री दुईदुई जना निर्वाचित गरेर समावेशिताका आधारमा सहमहामन्त्री बनाउने उनको प्रस्ताव थियो। तर वरिष्ठ नेता पौडेल र महामन्त्री कोइरालाले त्यो स्विकारेनन्।
लम्बियो महासमिति
बुधबार सकिने भनिएको महासमिति बैठक शुक्रबारसम्म लम्बिने पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए। बिहीबारदेखिको महासमिति बैठक भने पार्टी कार्यालय सानेपामा हुनेछ। त्यसका लागि मंगलबारदेखि नै त्यहाँ टेन्ट राख्ने काम थलिएको छ। ‘सहमतिमै महासमितिबाट विधान मस्यौदा पारित हुनेछ’, शर्माले भने।
महासमिति बैठकको बन्दसत्रको तेस्रो दिन पनि पार्टीको केन्द्रीय नेतृत्वले विधान मस्यौदा पेस गर्न सकेन। यसले मंगलबार दिनभरको बन्दसत्र प्रभावित बन्यो। विधान मस्यौदामै सहमतिका लागि बैठक भन्दै सोमबारको बन्दसत्र पनि प्रभावित बनेको थियो। जिल्ला सभापतिले विधान मस्यौदा पेस नभए महासमिति बैठक अघि नबढाउन भनेपछि मंगलबार बिहानै बन्दसत्रमा कोलाहल मच्चिएको थियो।
जिल्ला सभापतिहरूका तर्फबाट जगदीश्वरनरसिंह केसीले बिनाअनुमति मञ्चमा पुगेर बोल्न खोजेपछि सहमहामन्त्री डा. प्रकाशशरण महतले माइक नै खोसका थिए। त्यसपछि अवस्था तनावपूर्ण बनेको थियो। बन्दसत्रमा जिल्ला सभापति केसी र सहमहामन्त्री महतबीच जुहारी चलेपछि फ्लोरमा नाराबाजीसमेत भयो।
बैठक सुरु हुनेबित्तिकै अवस्था तनावपूर्ण बनेपछि सभापति देउवाले बन्दसत्र स्थगन भएको घोषण गरेका थिए। बन्दसत्र स्थगन गरे सिंहदरबारस्थित संसदीय दलको कार्यालय पुगेका सभापति देउवा, वरिष्ठ नेता पौडेलसहितका पदाधिकारी नेताले अनौपचारिक बैठक गरेका थिए।
शीर्ष नेताको अनौपचारिक बैठकलगत्तै जिल्ला सभापतिलाई संसदीय दलमै डाकेर उपसभापति विमलेन्द्र निधि, महामन्त्री पूर्णबहादुर खड्काले अनौपचारिक छलफल गरेका थिए। उनीहरूले बन्दसत्रलाई प्रभावित नपारिदिन आग्रहसमेत गरेका थिए।
जिल्ला सभापतिसँगको छलफलपछि शीर्ष नेताहरू दिउँसो ३ बजे महासमिति बैठकस्थल पुगेर बैठकलाई पुनः निरन्तरता दिएका थिए।