बन्दीपुरमा अफ सिजनमा पनि पर्यटक
दमौली : अरु बेला बन्दीपुरमा चहलपहल शून्यजस्तै हुन्थ्यो। तर नेवारी संस्कृतिमा आधारित तनहुँको प्राचीन बस्तीमा अहिले पर्यटकको चहलपहल बढेको छ। विदेशी पर्यटक बढी भित्र्याउने केही होटलमा बास बस्ने ठाउँ पनि छैन। यो बन्दीपुरमा यस वर्ष देखिएको परिवर्तन हो।
देश तथा विदेशका पर्यटकमाझ ग्रामीण पर्यटकीय गन्तव्यको पहिचान बनाएको बन्दीपुरमा नोभेम्बर र डिसेम्बर सामान्यतः अफ सिजन हो। तर अफ सिजनकै बेला पनि पर्यटकको संख्या वृद्धि भएकाले बन्दीपुरबासी हौसिएका छन्।
दरबार हिमालय होटल सञ्चालनमा ल्याएका बन्दीपुर पर्यटन समितिका अध्यक्ष वंैश गुरुङ गत वर्षभन्दा अफ सिजनमा समेत पर्यटक बढेको बताउँछन्। ‘अहिले अफ सिजनमा पनि देशी विदेशी पर्यटकको चहलपहल छ’, उनले भने, ‘यसले राम्रो संकेत गरेको छ।’ उनका अनुसार सामान्य दिनमा समेत ५० को हाराहारीमा पर्यटक बन्दीपुर आइरहेका छन्। यो पर्यटक शून्य हुने समय हो। बन्दीपुर ओल्ड इनका व्यवस्थापक रामशरण श्रेष्ठ चहलपहल कम हुने समयमा आएको सकारात्मक नतिजा भन्छन्। ‘अहिले पनि हाम्रोमा मात्र ५० पर्यटक बास बसेका छन्’, उनले भने, ‘यो पोहोरभन्दा निकै राम्रो हो।’
बन्दीपुरमा अंग्रेजी नयाँ वर्षपछि पर्यटकीय सिजन सुरु हुने भएकाले तिहारपछिको समय बन्दीपुरमा कम चहलपहल हुने मानिन्छ। तर यस वर्ष सुधारका संकेत देखिएको पर्यटन विकास समितिका अध्यक्ष गुरुङ बताउँछन्। ‘यसले बन्दीपुर सदाबहार पर्यटकीय गन्तव्य बन्न खोजेको देखाएको छ’, उनले भने।
सप्ताहान्तमा नेपालीको चहलपहल
विदेशी पर्यटक जुनसुकै बेला आए पनि स्वदेशी पर्यटक भने शुक्रबारको रात बिताउन बन्दीपुर आउँछन्। यसैगरी शनिबार दिनभर घुमेर फर्कनेको जमात पनि बढिरहेको छ। अफ सिजनकै बेला पनि शनिबार एक÷डेढ सय पर्यटक आउने गरेको पर्यटन समिति अध्यक्ष गुरुङको भनाइ छ। सामान्यतः विदेशी पर्यटक बस्न रुचाउने बन्दीपुर ओल्ड इनका श्रेष्ठले होटलमा पनि शुक्रबार बास बस्न आउने नेपाली बढेको बताए।
बन्दीपुर गाउँपालिकाका अध्यक्ष पूर्णसिंह थापा अफ सिजनमा आउने पर्यटक दोब्बर बढेको दाबी गर्छन्। ‘अहिले पनि पर्यटक आउने क्रम उत्साहप्रद छ’, उनले भने। थापाले बन्दीपुरको प्रचार बढेकाले यस्तो भएको अनुमान गरे। नेपालीको घुम्ने बानीको विकासले पनि बन्दीपुरलाई फाइदा दिएको उनको तर्क छ।
पृथ्वीराजमार्गबाट करिब १५ मिनेटको सवारी यात्रापछि पुग्न सकिने बन्दीपुर राजमार्ग हुँदै हिड्नेका लागि पनि एकपल्ट पुग्ने गन्तव्य बनेको छ। ओल्ड इनका म्यानेजर श्रेष्ठ भन्छन्, ‘घुम्दै हिडँ्दा बन्दीपुर पनि पसौं भनेर आउने पर्यटक बढेका छन्।’ बन्दीपुर गाउँपालिकाले पर्यटन बढेसँगै आवश्यक पूर्वाधार विकासका लागि भनेर काम गरिरहेको गाउँपालिका अध्यक्ष थापाले बताए। ‘केबलकार बन्दै छ। हामी पनि थप पर्यटकीय पूर्वाधार तयार पार्दै छौं’, उनले भने।