दुई दिन लम्बियो महासमिति बैठक, आज के हुँदैछ
काठमाडाैं : बुधबार सकिने भनिएको नेपाली कांग्रेसको महासमिति बैठक दुई दिन लम्बिने भएको छ। केन्द्रीय समितिले बेलामा पार्टी विधानको मस्यौदा पेश गर्न नसक्दा महासमिति बैठक शुक्रबारसम्म लम्बिएको हो।
महासमिति बैठकमा ५४२ जनाले बोल्नका लागि नाम टिपाएकामा हालसम्म १४७ जनाले आ-आफ्नो धारणा राखेका छन्। बुधबार बिहान साढे ९ बजेबाट सुरु भएको महासमिति बैठकमा हालसम्म २५ जनाले बोलेका छन्।
मुख्य विवाद देखिएको पदाधिकारीको संख्या र त्यसको प्रक्रियाबारे मंगलबार साँझ सहमति भएको छ। नेताहरुले आ-आफ्नो धारणा राखेपछि केन्द्रीय समितिको बैठकले आजै विधान मस्यौदा पास गरेर प्रकाशन गरिने र बिहीबार बस्ने महासमिति बैठकमा पेस हुनेछ।
काठमाडौंको एलम्बर पार्टी प्यालेसमा जारी महासमिति बैठकको बाँकी कार्यक्रम बिहीबारदेखि पार्टी कार्यालय सानेपामा हुने प्रवक्ता विश्वप्रकाश शर्माले बताए। त्यसका लागि मंगलबारदेखि नै त्यहाँ टेन्ट राख्ने काम थलिएको छ। ‘सहमतिमै महासमितिबाट विधान मस्यौदा पारित हुनेछ’, शर्माले भने।
महासमितिमा पेश भएको विधानमा जिल्ला सभापतिहरुले धारणा राखेपछि शुक्रबार बेलुका ६ बजे बैठक सक्ने तयारी छ। कांग्रेसको विधानमा पदाधिकारी संख्या, पदाधिकारी छान्ने प्रक्रियासहित सभापतिलाई दिने मनोनीतको प्रतिशत, समावेशिताको क्लस्टर, पार्टीको सदस्यतालगायत विषयमा शीर्ष नेताबीच विवाद थियो।