कांग्रेस केन्द्रीय समितिले विधान पारित गर्न सकेन : विवाद फेरि बल्झियो
काठमाडौं : मंगलबार सहमति जुटाएको विधानलाई कांग्रेस केन्द्रीय समिति बैठकले पारित गर्न नसक्दा फेरि विवाद बल्झिएको छ। सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको केन्द्रीय समिति बैठकमा पूर्णबहादुर खड्काले प्रस्तुत गरेको विधान पारित हुन नसकेको हो।
बैठकमा बोल्दै केन्द्रीय सदस्यले पदाधिकारीदेखि तलसम्म विधान समावेशी नभएको भन्दै आपत्ति जनाएका हुन्। बैठमा बोल्ने वीरबहादुर बलायर, महेन्द्र यादव, गगन थापा, रीता गुरुङले विधान अपुरो भएको धारणा राखेका थिए।
नेता थापाले संरक्षण एकपटक मात्र पाउनुपर्ने विषय विधानमै समेट्नुपर्ने धारणा राखे। अन्य नेताले भने पदाधिकारीमा मधेसी, जनजाति र महिलाको प्रतिनिधित्व हुन नसकेको भन्दै आपत्ति जनाए।
यता प्रवक्ता विश्वप्रकाश शर्माले भने सहमति भएको विधान केन्द्रीय समितिमा पेश भएको र अर्को बैठकले पारित गर्ने दाबी गरे। ‘विधान केन्द्रीय समितिमा पेश भएको छ’, प्रवक्ता शर्माले भने, ‘अर्को बैठकले पारित गर्छ।’
कांग्रेसले केन्द्रीय समितिबाट विधान पारित गरेर महासमितिमा पेश गर्ने तयारी गरेको थियो। बुधबारको बैठकमा सहमति नजुटेपछि महासमितिमा विधान पेश गर्ने तयारी अपुरो बन्ने देखिएको छ।