तस्करी रोक्ने नियम हटाउन फोरमको दबाब ! चार घण्टामै गल्यो भन्सार

तस्करी रोक्ने नियम हटाउन फोरमको दबाब ! चार घण्टामै गल्यो भन्सार

वीरगन्जः वीरगन्ज भन्सार नाकामा तस्करी रोक्न भन्दै बुधबार बिहानदेखि साना सवारी सधानको चेकजाँचमा लगाइएको नयाँ नियम चार घण्टामै हटाइएको छ । भरतको रक्सौलबाट यात्रु बोकेर आउने निजी तथा भाडाका साना सवारी साधनबाट तस्करी बढेको भन्दै भन्सार कार्यालयले सूचना टाँसेर नाकामा चेकजाँचको नया नियम लगाएको थियो । 

भन्सार कार्यालयका प्रमुख श्यामप्रसाद भण्डारीको निर्देशनमा बुधबार बिहान १० बजेदेखि नाकामा सशस्त्र प्रहरीले रक्सौलबाट आएका ई–रिक्सा, टाङ्गा, ट्याम्पो र निजी सवारी साधनबाट यात्रुलाई झारी दुई सय मिटर हिँडाएर चेकजाँच गरेका थिए ।

तर भन्सार कार्यालयको नयाँ नियमबाट यात्रुलाई सास्ती भएको भन्दै संघीय समाजवादी फोरम नेपालका नेता कार्यकर्ताले नाकामै नारबाजी गरेपछि भन्सार कार्यालय दिउँसो २ बजेदेखि उक्त नियम हटाउन बाध्य भएको हो ।

भारतबाट आउने ई–रिक्सा, टाङ्गा, ट्याम्पो र निजी कार जिप रोकेर सशस्त्र प्रहरीले चेकजाँच गर्न थालेपछि फोरम नेपालका नेता कार्यकर्ताले भन्सार कार्यालय अगाडि भन्सार प्रमुख भण्डारी र केपी ओली सरकारविरुद्ध नाराबाजी गर्दै प्रदर्शन गरेका थिए । उनीहरुले भन्सार कार्यालय अगाडिकै सडकमा बसेर वीरगन्ज–रक्सौल नाका एक घण्टा अवरुद्ध पनि पारेका थिए ।

तस्कारी रोक्न भन्सार कार्यालयको नयाँ नियमले मधेसी जनतालाई सास्ती दिने काम मात्र भएको भन्दै उनीहरुले मधेस विरोधी उक्त नियम तत्काल हटाउन मागेका थिए । 

‘तस्करी रोक्ने निहुँमा ओली सरकारको निर्देशनमा भन्सार प्रमुखले मधेसी जनतालाई सास्ती दिन यो नया नियम लगाएको हो’, प्रदर्शनको अगुवाई गरेका फोरमका नगर अध्यक्ष इश्वर यादवले भने, ‘तस्करी नै रोक्ने हो भने अरु विकल्प छन्, सर्वसाधरणलाई सास्ती दिएर तस्करी कहिल्यै रोकिन्न ।’ 

वीरगन्ज नाका अवरुद्ध भएपछि भन्सार प्रमुख भण्डारीले प्रदर्शनकारीलाइ वार्तामा बोलाएका थिए । वार्ताकै क्रममा फोरम पर्साका अध्यक्ष तथा सांसद प्रदीप यादवले पनि भन्सार प्रमुख भण्डारीलाई टेलिफोन गरेर नाकाको नयाँ नियम तत्काल हटाउन दबाब दिएका थिए । 

फोरमका कार्यकर्ता र सांसद यादवको दबाबपछि नाकामा बुधबार बिहान १० बजेदेखि लगाइएको नयाँ नियम भन्सार कार्यालयले दिउँसो २ बजेदेखि हटाएको हो । नयाँ नियम हटेसँगै वीरगन्जमा दिउँसो २ बजेपछि वीरगन्ज नाकामा पहिलेकै जस्तै सवारी साधन आउन जान थालेका छन् । 

वीरगन्ज भन्सार कार्यालयका प्रमुख भण्डारीले भने रक्सौलबाट आउने भाडा र निजीका साना सवारीसाधनबाट भइरहेको तस्करी रोक्ने उद्धेश्यले चेकजाँचमा कडाइ गरिए पनि स्थानीय दलको विरोधपछि हटाइएको बताए ।

यो नियम विराटनगर, मेची लगायतका अन्य भन्सार नाकामा पनि लागुूगरिएको उनले बताए । ‘तस्करी रोक्ने उद्धेश्यले यहाँ पनि यो नियम लागू गर्न खोजेको हुँ’, उनले भने, ‘तर यो नया नियम हटाउँदा तस्करीलाई झन् प्रश्रय दिने निश्चित छ ।’


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.