तराईमा चिसोको कहर : पराल नै बन्छ सिरक डसना

तराईमा चिसोको कहर : पराल नै बन्छ सिरक डसना

सिरहा : 'जति जति जाडो बढ्दै जान्छ, त्यत्ति नै मनमा जाडो छल्ने चिन्ता थपिँदै जान्छ' लहान नगरपालिका १४ वस्तीपुर मुसहरीटोलका गेनियाँ सदायको व्यथा हो, यो। उनको सडक छेउकै ऐलानी जग्गामा दुईकोठे फुसको घर छ। एउटामा छोरा सुत्छ, अर्कोमा श्रीमति सितलीसँगै उनी बस्छन्। घरमा बाक्लो ओढ्ने, ओछयाउने नहुँदा उनलाई जाडो कटाउन मुस्किल परेको छ। उनले आफ्नो सुत्ने ओछयानको रुपमा 'पराल' बिछयाएका छन्।

विगत तीन दिनयता बढिरहेका चिसोका कारण उनको गाउँका धेरैजसो विपन्न परिवारले पराल नै ओछयाएर सुत्ने गरेको उनले सुनाए। 'जाडोमा धेरैजसो समय आगो तापेर नै बिताउने गर्छौं,' उनले भने, 'जाडोले काम गर्न कठिनाई भएको छ, थोरै घाम लाग्दा काम गर्न मात्रै जान्छौँ।'

उनका अनुसार सिरक,डसना भनेको नै 'पराल' हो। जाडो कटाउन गिरहतको खेतमा धान काट्न जाँदा परालको जोहो गरेको उनले सुनाए। २५ घर सदाय समुदाय बस्ती रहेको यस मुसहरी गाउँमा जाडो बढेपछि वृद्धवृद्धा बढी प्रभावित भएका छन्।। बालबालिका विद्यालय पढ्न जान पनि छाडेका छन्। 'जिउभरी लुगा नहुँदा बालबालिका पढ्न जान मान्दैनन्,' सितली सदायले भनिन्,'हामीलाई जाडो छल्न मुस्किल भएको छ।' गिरहतमा बनिबुतो गर्न जानेहरुको काम गर्ने जाँगर जाडोले खाए दिकएको उनले सुनाइन्। 

महिनौंसम्म संकलन गरी राखेको दाउरा बालेर साँझ बिहान जाडो कटाउने गरेको सोही गाउँका पल्ट सदायले सुनाए। 'गरिबलाई जाडोमा बढी पीडा हुनेगर्छ,' उनले भने, 'काम गरी जम्मा गरेको रुपैयाँ खानापिनमै सक्छ। न घर बनाउन सकेको छु, न त जाडो छल्ने परिवारका सदस्यलाई लुगा किन्न सकेको छु।' जाडो बालबालिका बिरामी हुन थालेको उनले सुनाए। 

यो मुसहरबस्ती जस्तै जिल्ला अन्य बस्ती पनि जाडोबाट जोगिन विभिन्न उपाय अपनाउने गरेका छन्। ती बस्तीमा पनि परालमा सुत्ने र धेरै समय आगो तापेर बिताउने गरेका छन्। जाडोमा सावधानी नपनाउँदा बालबालिका प्रभावित हुने गरेको जिल्ला अस्पताल सिरहा डा. नागेन्द्र यादवले बताए।

जाडोमा अस्पताल आउने बिरामीको संख्या बढेको छ। दैनिकरुपमा बालबालिका रुघाखोकीजस्तो रोगबाट प्रभावित हुने गरेको उनले सुनाए।

स्थानीय तहले विवरण दिएन

शीतलहर तथा चिसो मौसमजन्य प्रकोपबाट प्रभावित समुदाय÷परिवारलाई बचाउन पूर्व तयारी तथा उद्धारका कार्य गर्नका लागि उनीहरुको विवरण कार्तिक ७ गते नै गृह मन्त्रालयले जिल्ला विपद् व्यवस्थापन समितिसँग माग गर्दै पत्र ठाएको थियो ।  

सोहीअनुसार समितिले कार्तिक ११ गते निर्णय गरी यहाँका १७ वटै स्थानीय तहलाई यथाशीघ्र गृह मन्त्रालयले माग गरे अनुसारको विवरण पठाउन आग्रह गरेका छन्। तर, स्थानीय तहले अझैसम्म उक्त विवरण पठाएका छैनन्।

विवरण नपठाउँदा शीतलहरबाट प्रभावित भएका पीडितको राहत तथा उद्धारमा समस्या हुने देखिएको छ। स्थानीय तहले विवरण उपलब्ध गराउन नसक्दा पनि आ-आफ्नै किसिमले दाउरा र कम्बल बाड्ने योजना बनाएका छन्। 

'पटक पटक विवरण माग गर्दा स्थानीय तहले उपलब्ध नगराउँदा, आफुले नै अनुगमन गरेर र रेडक्रससँग विवरण मागेर गृह मन्त्रालयमा पठाएका छौ', विपद् व्यवस्थापन समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पंडितले भने,‘विपद् व्यवस्थापन समितिको कोषमा पनि शीत लहरबाट प्रभावित हुनेहरुका  राहत तथा उद्धार गर्न १५ लाख रुपैयाँ मौज्दात छ ।'

विपद्मा यहाँका स्थानीय तह अझै गम्भिर नदेखिएको नेपाल रेडक्रस शाखा सिरहाका सभापति राजदेव यादवले गुनासो गरे। 'विपद् व्यवस्थापन समितिको निर्णय अनुसार विवरण उपल्बध गराउनु पथ्र्यो,' उनले भने,'विवरण नहुँदा प्रभावित स्थानमा राहत र उद्धार कार्यमा कठिनाई हुन्छ।'

शीतलहरबाट कुनै घरपरिवार प्रभावित भए आफूहरु राहत बाड्न तयारी अवस्था रहेको उनले सुनाए। उनका अनुसार रेडक्रससँग हजार थान कम्बल सञ्चित अवस्थामा छन्। स्थानीय तहले सक्रियता देखाए शीतलहर प्रभावितलाई थप राहत तथा उद्धारमा सहज हुने उनको भनाई छ।

यस्तो छ स्थानीय तहको योजना 

कल्याणपुर नगरापालिकाले विभिन्न विपद् व्यवस्थापनका लागि दोस्रो नगरसभाबाट ४३ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ। मेयर सुर्यनाथ मण्डलका अनुसार शीतलहर बढ्दै जाँदा हामीले चाँडै नगर कार्यसमितिको बैठकबाट दाउरा र कम्बल खरिदका लागि निर्णय गर्छौं। शीतलहर प्रभावित समुदायलाई दाउरा र कम्बल उपल्बध गराउने योजना रहेको उनले सुनाए । 

धनगढीमाई नगरपालिकाले पनि जाडो मौसममा दाउरा र कम्बल बाड्न १० लाख रुपैयाँ छुटयाएको मेयर हरिनारायण चौधरीले बताए। उनका अनुसार जाडोमा प्रभावित भएका विपन्न वस्तीमा दाउरा र कम्बल पुर्‍याउने योजना रहेको छ। 'विपद् व्यवस्थापन समितिले प्रभावित हुन सक्ने समुदाय÷परिवारको विवरण मागेको आफुलाई थाहा भएन,' उनले भने,'यस नगरमा दर्जनाभन्दा बढी गाउँमा विपन्न परिवार जाडोबाट प्रभावित हुने देखिएको छ।'

यसैगरी, सिरहाको सीमावर्ती भगवानपुर गाउँपालिकाका अध्यक्ष बेचन यादवका अनुसार विपद् व्यवस्थापनका लागि रुपैयाँ छुटयाइएपनि दोस्रो गाउँसभा नहुँदा शीतलहर प्रभावितको राहत र उद्धार कार्य प्रभावित हुने देखिन्छ।'हामीले पोहोर पनि कम्बल र दाउरा बाड्यौं, उनले भने, 'यस वर्षपनि कार्यपालिका सदस्यहरु छलफल गरी दाउरा र कम्बल बाड्नेछौं।'

कल्याणपुर, धनगढीमाई र भगवानपुर जस्तै सिरहाका अन्य स्थानीय तहले शीतलहरबाट प्रभावित हुने समुदाय र परिवारका लागि कम्बल र दाउरा बाड्ने योजना बनाएका छन्। उनीहरुले बजेट पनि छुटयाएका छन्।

तयारी अवस्था रहन विपद् व्यवस्थापन समितिको आग्रह  

शीतलहरबाट प्रभावित हुनसक्ने समुदाय/परिवारलाई राहत तथा उद्धारका निम्ति तयारी अवस्था रहन आग्रह गरेका छन्। विपद् व्यवस्थापन समिति सिरहाले निर्णय गर्दै शितलहरबाट हुने जोखिमलाई न्यूनिकरण गर्न आवश्यक स्रोत साधनको पूर्व प्रबन्ध मिलाउन यहाँका स्थानीय तह, समाजिक संस्था तथा सरोकारवाला निकायसँग आग्रह गरेका छन्।

शीतलहरबाट प्रभावित हुन सक्ने गाउँ, टोल, परिवारको पहिचान गरी राहत तथा उद्धारका लागि अगुवा सहयोगी संस्थाको समन्वयमा सबै सरोकारवालालाई विशेषगरी दाउरा, कम्बलजस्ता सामग्रीको पूर्व प्रबन्ध गरी तयारी अवस्थामा रहन आह्वान गरेका छन्। 

'जाडो याममा हुनसक्ने स्वास्थ्यसम्बन्धी समस्यालाई न्युनिकरण गर्न जनचेतनामुलक कार्यक्रम सञ्चालन गर्न र स्वास्थ्यकर्मी तथा औषधि जिल्लास्थित सबै स्वास्थ्य चौकीमा तयारी अवस्थामा राख्ने व्यवस्था मिलाउन जिल्ला जनस्वास्थ्य कार्यालयलाई अनुरोध गरेका छौ', प्रमुख जिल्ला अधिकारी पंडितले भने,'राहत तथा उद्धारका सामग्री मिलाउन स्थानीय तहलाई पनि सर्कुलर गरेका छौं।'

उनका अनुसार विद्यालयमा अध्ययनरत बालबालिकालाई चिसोले अझै बढी असर पार्ने हुँदा दिउँसो विद्यालय सञ्चालन गर्न र विद्यालय प्रशासनले प्राथमिक उपचारको व्यवस्था मिलाउन शिक्षा विकास तथा समन्वय इकाईमार्फत सबै विद्यालयलाई अनुरोध गरिएको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.