खोलामै फस्टायो खेती : खोले साग बेचेरै धमाधम आम्दानी

खोलामै फस्टायो खेती : खोले साग बेचेरै धमाधम आम्दानी

वीरगन्ज : पर्साको ठोरीमा रहेका खोलाहरुमा पाइने खोले साग केही वर्षदेखि स्थानीय किसानका लागि आम्दानीको राम्रो स्रोत बनेको छ ।

सहरी क्षेत्रमा खोले सागको माग बढ्न थालेपछि ठोरीका स्थानीय किसानले खेर गइरहेको खोले साग टिपेर मनग्य आम्दानी गर्न थालेका छन् । छिप्छिपे पानी बग्ने खोलामा यस्तो साग राम्ररी मौलाउँछ ।

यसलाई सीम साग वा पालुङ्गे साग पनि भनिन्छ । ठोरी गाँउपालिकामा पर्ने गंगटेखोला, धार्नी खोला, ताल खोला, जरायोखोला र झिंगेखोलामा पाइने खोले स्थानीयले टिपेर बेच्न थालेका हुन् ।

बजारमा खोले सागको माग बढ्न थालेपछि स्थानीयले खोलामै व्यवसायिक रुपमा खोले सागको खेती पनि गर्न थालेका छन् । ठोरीका चार÷पाँचवटा खोलामा खोले साग पाइने भए पनि स्थानीयले वडा नम्बर १, भगवाननगरको घोलटोलमा रहेको गंगटेखोलामा मात्रै खोले सागको व्यवसायीक खेती गर्न थालेका हुन् ।

स्थानीय हर्कबहादुर अधिकारी, हर्कबहादुर आले, दिलबहादुर थापा, धनबहादुर थापा, प्रेमबहादुर रिमाल, ज्ञानेन्द्र रिमाल लगायत थुप्रै किसानले गंगटेखोलामा खोले सागको व्यावसायिक खेती सुरु गरेका हुन् ।

खोलामै उनीहरुले एक–एक कठ्ठा क्षेत्रमा खोले सागको खेती गरेका छन् । स्थानीय पुरन थापा भन्छन्, ‘खोलामा त्यसै खेर गइरहेको साग अहिले सिजनमा प्रत्येक वर्ष एक घरपरिवारले ३५ देखि ४० हजार रुपैयाँसम्म कमाइ हुन्छ ।’

त्यसो त, उपभोक्ता पनि अचेल साग किन्न खोलामै पुग्छन् । खोलामै किन्न जानेका लागि भने एक मुठा सागको २५ देखि ३० रुपैयाँ पर्छ । हाट बजारमा मुठाको ४० रुपैयाँ । स्थानीय किसान धनबहादुर थापाका अनुसार पछिल्लो समय खोले सागको ‘सप्लाइ’ चितवन, पोखरा, काठमाडौं लगायत ठूला सहरसम्म हुन थालेको छ ।

सामान्यतः मंसिरदेखि चैत महिनासम्म खोले साग उत्पादन हुन्छ । फागुनदेखि चैतसम्म यसको माग अत्यधिक हुने बताउँछन् किसान थापा । खोले साग रोपेको एक महिनामै बेच्न लायक हुने किसानहरु बताउँछन् । रोपिदिएपछि विना लगानी गोडमेल पनि गर्नु नपर्ने भएकाले सजिलो खेती हुने उनीहरुको अनुभव छ । कब्जियत, कुपोषण, आँखाको समस्या भएकाहरुको स्वास्थ्यमा प्रत्यक्ष फाइदा पुग्ने भएकोले पनि यस्तो सागको माग बढी हुने गरेको बताइन्छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.