सहायक वन अधिकृत पक्राउ
बेनी : अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले म्याग्दीको बेनीबाट बिहीबार एकजना कर्मचारीलाई घुस रकमसहित पक्राउ गरेको छ। मंगलाघाट सब डिभिजन वन कार्यालयका प्रमुख सहायक वन अधिकृत राजकुमार ठाकुरलाई घुस लिएको ३३ हजार रुपैयाँ नगद सहित रङ्गेहात पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पोखरास्थित कार्यालयका सूचना अधिकारी रमेश ढकालले बताए।
ठाकुरले बिनापूर्जी ट्याक्टरमा राखेर निकासी गर्दै गरेको अवस्थामा नियन्त्रणमा लिएको काठसम्बन्धी मुद्दा मिलाइदिने बाहनामा घुस मागेको आधारमा नियन्त्रणमा लिएको सूचना अधिकारी ढलालले बताए।
जिल्ला प्रहरी कार्यालय म्याग्दीले गत मंसिर ७ गते अर्थुङ्गेबाट काठ बोकेर बेनीतर्फ आउँदै गरेको ग १ त ५२८० नम्बरको ट्याक्टर र बिनापूर्जीको ३७ थान उत्तीसको काठ नियन्त्रणमा लिएको थियो। चालकलाई कारबाहीका लागि प्रहरीले वन डिभिजनमा बुझाएको छ।