जाजरकोटमा पनि कर्मचारी आन्दोलन जारी
जाजरकोट : जाजरकोटका विभिन्न स्थानीय तहका कर्मचारीहरुले कामकाज ठप्प पारेर आज पनि आन्दोलन जारी राखेका छन् । विभिन्न माग राख्दै आन्दोलनमा उत्रिएका उनीहरुले शुक्रबार कालोपट्टी बाँधेर कामकाज ठप्प पारेका हुन् ।
विभिन्न समयमा स्थानीय तहहरुले नियुक्त गरेका स्थायी, करार ज्यालादारी कर्मचारीहरुको सेवाको ग्यारेन्टी गर्नुपर्ने, सर्वाेच्च अदालतले २०७४ पुस २१ गते गरेको फैसला अनुसार स्थानीय तहका सबै कर्मचारीहरुलाई सम्मानजनक व्यवहार गर्नुपर्ने, स्थानीय तहका सबै कर्मचारीलाई सरकारले भर्खरै अध्यादेश मार्फत जारी गरेको कर्मचारी समायोजन प्रक्रिया सम्वन्धी कार्यविधिमा स्थानीय तहका कर्मचारीलाई सम्मानजनक ढंगले पदस्थापन गर्ने व्यवस्था मिलाउनु पर्ने लगायत माग राखी उनीहरुले आन्दोलन गरेका हुन् ।
आफ्ना माग सरकारले सुनुवाइ नगरे १० गतेदेखि थप कडा आन्दोलनमा उत्रिने उनीहरुको चेतावनी छ ।