फिल्ममा बर्सेनि डुब्छ आधा अर्ब
काठमाडौं : नेपाली फिल्ममा लगानी बढेको छ । बर्सेनि बन्ने फिल्मको संख्या सय हाराहारी पुगेको छ । तर, नाफा ? अहँ, छैन । बरु हरेक वर्ष आधा अर्बभन्दा बढी रुपैयाँ डुबिरहेको छ ।
फिल्म निर्माणमा वार्षिक एकदेखि डेढ अर्बको लगानी हुन्छ । तर निर्माण भएका पाँचदेखि सात प्रतिशत चलचित्रले मात्रै लगानी सुरक्षित गर्छन् ।
०७५ सालको आठ महिना अवधिमा प्रदर्शनमा आएका ६५ चलचित्रमध्ये पाँच प्रतिशतले मात्र लगानी जोगाए । तीन प्रतिशतले लगानीको थोरै गुणा नाफा कमाए । नाफा कमाउने केही प्रतिशत फिल्मको ‘चार्म’ देखेर लगानी दिनदिनै बढ्दै गएको छ । अघिल्ला वर्षहरूमा भन्दा पनि यस वर्ष फिल्म फ्लप हुने क्रम अत्यधिक देखियो ।
वैशाख ७ गते रिलिज भएको वर्षको पहिलो फिल्म ‘स्वर्ग मेरो गाउँ’देखि मंसिर २८ गते प्रदर्शनमा आएका ‘सु श्री सम्पत्ति’, ‘डोली’ र ‘कथा ७२’सम्म आइपुग्दा ६५ फिल्म रिलिज भए । तीमध्ये ‘छक्का पन्जा-३’ सर्वाधिक कमाउने फिल्म बन्यो । यसले अहिलेसम्म १७ करोड रुपैयाँभन्दा माथि कलेक्सन गरेको छ भने अहिले पनि केही हलमा प्रदर्शनरत छ ।
‘नाइँ नभन्नु ल-५’, ‘रामकहानी’, ‘इन्टु मिन्टु लन्डनमा’, ‘जय भोले’, ‘चंगा चेट’लगायत केही फिल्मले नाफा कमाए । ‘प्रसाद’ले प्रदर्शनको आकर्षक सुरुआत गरेको छ । यसबीचमा निर्मित प्रायः सबै फिल्मको लगानी एक करोड रुपैयाँ र त्योभन्दा माथि छ । ‘इन्टु मिन्टु’ले त आफ्नो फिल्मको लगानी तीन करोड रुपैयाँभन्दा माथि रहेको जनाएको छ ।
कलाकारको बढ्दो पारि श्रमिक र विदेशमा छायांकन गर्ने होडबाजीका कारण फिल्मको बजेट वृद्धि भएको हो । बजेट बढे पनि फिल्मको बजार विस्तार हुन नसक्दा व्यापारघाटा अत्यधिक देखिएको हो ।
‘नेपाली फिल्म रिलिज गर्नै गाह्रो छ । हलवालाहरू नेपाली फिल्म प्रदर्शन गर्नै मान्दैनन् । झन् मल्टिप्लेक्सहरूले त सो नै दिँदैनन्’, अघिल्लो महिना रिलिज भएको फिल्म ‘गुनगुन’का निर्माता तथा निर्देशक पुकार भट्टराई भन्छन्, ‘मेरो फिल्म चल्दाचल्दै उतारियो । अनि कसरी निर्माता सुरक्षित हुन्छन् ? विदेशी फिल्मलाई रेड कार्पेट ओछ्याइन्छ, नेपाली फिल्म चल्नै दिँदैनन् ।’
निर्माताहरू नेपाली फिल्मको लगानी डुब्नुको अधिकांश दोष हलवालालाई दिन्छन् । तर, वितरक सुनील मानन्धर भन्छन्, ‘फिल्ममा लगानी मात्रै गर्ने तर कन्टेन्टमा ध्यान नदिने प्रवृत्तिले यस्तो अवस्था आएको हो । यहाँ निर्माताले आफ्नो फिल्मले यति कमायो, उति कमायो भनेर गर्ने गरेको चर्चा हल्ला मात्रै हो । स्थिति धेरै नाजुक छ । पाँचसात प्रतिशत फिल्मले मात्रै कमाउँछन्, बाँकी सबै डुब्ने हो ।’
नेपाली फिल्ममा विदेशमा रहेका नेपालीले लगानी गर्न थालेपछि पनि बजेट बढ्दै गएको मानिन्छ । बजारको आकलनै नगरी कलाकारको पारि श्रमिक बढाइन्छ । प्रदीप खड्का, अनमोल केसीलगायत अभिनेता प्रतिफिल्म ३० देखि ५० लाख रुपैयाँसम्म अफर गर्न थालेका छन्, जुन रकम केही वर्षअघिसम्म पूरै फिल्मको बजेट हुन्थ्यो ।
अभिनेत्री साम्राज्ञी नामै तय नभएको एउटा फिल्मका लागि १५ लाख रुपैयाँमा अनुबन्धित भइन् । हाल छायांकनमा रहेको फिल्म ‘पासवर्ड’को एउटा आइटम गीतका लागि बलिउड अभिनेत्री सन्नी लियोनले तीन करोड रुपैयाँ लिइन् । लन्डनमा छायांकन भइरहेको यो फिल्मको बजेट सात करोड रुपैयाँभन्दा माथि हुने बताइएको छ ।
गत वर्ष रिलिज भएका ८३ चलचित्रमध्ये १० प्रतिशतले नाफा कमाएका थिए । तिनमा २० प्रतिशतले लगानी उठाए । बाँकी सबैले आफ्नो फिल्म असफल हुनुको दोष हलवाला, कलाकार, वितरकलगायतलाई लगाउँदै आफैलाई सान्त्वना दिए ।
२०७४ वैशाख १ गते दीपेन्द्र लामा निर्देशित फिल्म ‘घामपानी’ रिलिज भएको थियो । वर्षको अन्तिम दिन चैत ३० गते मिलन चाम्स निर्देशित फिल्म ‘लिलिबिली’ र देवकुमार श्रेष्ठ निर्देशित ‘नेप्टे’ रिलिज भए । यो वर्ष सर्वाधिक कमाउने फिल्ममा ‘छक्कापञ्जा-२’, ‘शत्रुगते’, ‘कृ’, ‘ए मेरो हजुर-२’ लगायत रहे । सिक्वेल फिल्मको क्रम चलिरहेकै बेला आएको ‘छक्कापञ्जा-२’ले बक्स अफिसमा राम्रो कलेक्सन गर्यो । छिटो कलेक्सनको हिसाबले यसले अघिल्लो फिल्मलाई उछिन्यो । यो फिल्म एक करोड ५० लाख रुपैयाँमा निर्माण भएको हो ।
यसैगरी धेरै कमाउने अर्को फिल्म बन्यो, मह सञ्चारको ‘शत्रुगते’ । एक करोड ५० लाख रुपैयाँ लागतमा बनेको चलचित्रले रामै्र कमायो । यस्तै भुवन केसी र सुवास गिरीले निर्माण गरेको ‘कृ’मा दुई करोडभन्दा बढी खर्च भएको थियो तर यसले अपेक्षाकृत व्यापार गरेन ।
२०७३ सालभित्र एक सय ६० फिल्म निर्माणका लागि चलचित्र विकास बोर्डमा दर्ता भए पनि २०७४ मा ८३ फिल्म मात्र रिलिज भए । रिलिज भएका धेरै फिल्मले १० देखि ५० प्रतिशत मात्रै लगानी सुरक्षित गर्न सके । औंलामा गन्न सकिने केही फिल्मले लगानीको दुईतीन गुणासम्म नाफा कमाए । स्वदेशी सामान्य बजारले धान्न नसक्ने बजेट र विदेशी बजार उपयोग गर्न नसक्दा धेरै निर्माताको लगानी डुबेको हो ।