पर्यटन प्रवर्द्धन गर्न अन्तर्राष्ट्रिय बजार प्रतिनिधि
काठमाडौं : नेपाल पर्यटन बोर्डले प्रवर्द्धन गर्न पहिलोपटक अन्तर्राष्ट्रिय बजार प्रतिनिधि नियुक्त गर्ने भएको छ। बोर्डले चालु आर्थिक वर्ष २०७५/७६ देखि निश्चित रकम दिएर मार्केटिङ प्रतिनिधिमार्फत पर्यटन प्रवर्द्धनको काम गराउनेछ। बोर्डले छिमेकी मुलुक चीन र भारतमा रहेको दूतावाससँगको सहकार्यमा शुल्कसहितको पब्लिक रिलेसन रिप्रिजेन्टेटिभ (पीआरआर) अर्थात् बजार प्रतिनिधि नियुक्त गर्ने गरी चालु आर्थिक वर्ष २०७५/७६ को बजेटमा उल्लेख छ।
बोर्डले चीनको बेइजिङ र भारतको दिल्लीमा पेड पीआरआर नियुक्ति गरेर पर्यटन प्रवर्द्धनका कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन गर्न बजेटमार्फत रकम विनियोजन गरेको पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपकराज जोशीले बताए। उनका अनुसार यसका लागि बोर्डले चीन र भारतका लागि मात्रै ६० लाख रुपैयाँसम्म खर्च गर्ने गरी बजेट तय गरेको छ।
यसरी नियुक्त हुने बजार प्रतिनिधि अन्तर्राष्ट्रिय प्रतिस्पर्धाबाट छनोट हुनेछ। अन्तर्राष्ट्रिय स्तरमा पनि यस्ता प्रतिनिधि हुने गरेका छन्। यसलाई कतिपय पीआर एजेन्सी त कतै प्रतिधिनिको रूपमा चिन्ने गरिन्छ। अन्तर्राष्ट्रिय स्तरमा यस्ता विशेष प्रकारका एजेन्सी नै हुने गरेका छन्। यसले विभिन्न देशको पर्यटन प्रवर्द्धनमा आवश्यक भूमिका निर्वाह गरेका हुन्छन्। विभिन्न देशमा पर्यटन प्रवर्द्धन गर्ने, मिडिया म्यानेज गर्ने, पर्यटकीय गतिविधि तथा कार्यक्रम सञ्चालन गर्नेसहितको काम यस्ता एजेन्सीबाट लिने गरिन्छ। बोर्डले पनि पहिलो पटक यस्तो एजेन्सीमार्फत पर्यटन प्रवर्द्धनको काम गराउन लागेको हो।
बोर्डले पर्यटन प्रवर्द्धन प्रभावकारी बनाउने र सम्बन्धित देशसँगको संयुक्त सहकार्यमा प्रवर्द्धनात्मक कार्यक्रम सञ्चालन गर्न शुल्क तिरेरै प्रतिनिधि नियुक्त अभ्यासलाई पनि अवलम्बन गरेको छ। बोर्डले आफ्ना प्रतिनिधि, गैरआवासीय नेपाली (एनआरएन), विश्वविद्यालय तथा शिक्षण संस्था, एयरलाइन्स, निजीक्षेत्रसँग साझेदारी गरेर प्रवद्धनात्मक कार्यक्रम आयोजना गर्ने भएको छ। यसका लागि बोर्डले थप ५० लाख रुपैयाँको बजेट विनियोजन गरेको छ। यी प्रतिनिधिमार्फत बोर्डले पर्यटन प्रवर्द्धनका कार्यक्रमसम्बन्धी अवधारणा, प्रस्ताव माग गर्ने, सहकार्यका सम्भावना हेरेर साझेदारीमा कार्यक्रम आयोजना गर्ने तय गरेको छ। यस्तो कार्यक्रमबाट एचपीआरआर, सञ्चार माध्यम, पर्यटनसँग सम्बन्धित संघसंस्था, ट्राभल ट्रेड विदेशस्थित नेपाली समुदायसँग साझेदारी र सहकार्य गर्दै पर्यटन प्रवर्द्धनको काम गर्ने भएको हो।
पर्यटन प्रवर्द्धन प्रभावकारी बनाउने र सम्बन्धित देशसँगको संयुक्त सहकार्यमा प्रवर्द्धनात्मक कार्यक्रम सञ्चालन गर्न बोर्डले प्रतिनिधि नियुक्त गर्न लागेको छ।
बोर्डले नेपालको पर्यटन प्रवर्द्धन गर्न जनसम्पर्क तथा प्रचारप्रसार महाशाखाबाट खर्च गर्ने गरी चालु आवमा ३२ करोड ५६ लाख रुपैयाँको बजेट विनियोजन गरेको छ। यस्तो बजेटबाट बोर्डले नेपालको पर्यटन प्रवर्द्धन गर्ने गरी सार्वजनिक रूपमा देखिने स्थानलाई केन्द्रित गरेर प्रवर्द्धन कार्यक्रम गर्न एक करोड २५ लाख खर्च गर्ने भएको छ। बोर्डले स्वदेशी र विदेशी एयरलाइन्सको सहकार्यमा स्रोत बजारसम्म गन्तव्य प्रवर्द्धनका कार्यक्रम गर्ने गरी ७५ लाख रुपैयाँको बजेट विनियोजन गरेको छ।
बोर्डले पर्यटन प्रवर्द्धन गर्ने खालको फिल्म छायांकनका लागि पनि आवश्यक सहकार्य गर्ने भएको छ। यसका निम्ति बोर्डले कुमारी एन्ड अ ब्वाई नामक जापानी फिल्मको नेपालमा छायांकनमा सहयोग गर्न मात्रै एक करोड रुपैयाँको बजेट छुट्याएको छ। ०००
पर्यटन दूत खारेज
बोर्डले यसअघि पर्यटन दूतका नाममा नियुक्त गर्ने अनरी पब्लिक रिलेसन रेप्रिजेन्टेटिभ (एचपीआरआर)को व्यवस्था खारेज गरेको छ। निःशुल्क नियुक्त गरिने यस्ता एचपीआरआरमा मापदण्ड तथा कुनै कार्यगत सर्त बिना नै भएको भन्ने गुनासो बढेपछि सबैलाई खारेज गरेको बोर्डले जानकारी दिएको छ।
बोर्डले समय सकिएकाको नवीकरण नगरेको र समय बाँकी भएका सबैलाई खारेज गरेर नयाँ मापदण्ड बनाएर मात्रै नियुक्त गर्ने निर्णय गरेको छ। पर्यटन बोर्डले सन् १९९८ देखि नै नेपाल बाहिर बसेर पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने र राम्रो छवी बनाएका व्यक्तिलाई यस्तो पीआरआर नियुक्त गर्ने गरेको थियो। पछिल्लो समय यस्तो पीआरआरका नाममा बिना मापदण्ड नियुक्ति हुँदा व्यक्तिगत फाइदा लिन खोज्नेको रुचि बढेकाले पनि बोर्डले यस अघिका सबै नियुक्ति खारेज गरेर नयाँ प्रक्रियाबाट नियुक्त गर्ने मापदण्ड बनाइरहेको उल्लेख छ।