एकैपटक ७ प्रअको सरुवा, विवादले परीक्षा स्थगित

एकैपटक  ७ प्रअको सरुवा, विवादले परीक्षा स्थगित

वीरगन्ज : वीरगन्ज महानगरपालिकाले प्रधानाध्यापकको सरुवा गरेपछि महानगरका दुईवटा विद्यालयको पठनपाठनसहित परीक्षा नै प्रभावित भएको छ। महानगरपालिकाको शिक्षा महाशाखाले वीरगन्ज महानगरका सातवटा माध्यमिक विद्यालयका प्रधानाध्यापाकको सरुवा गरेपछि शिक्षकले सरुवालाई कारण देखाएर पठनपाठन र परीक्षा नै स्थगित गरेका छन्। 

वीरगन्ज महानगरपालिकाको शिक्षा महाशाखाले गत बिहीबार त्रिजुद्ध रघुवीरराम महावीर प्रसाद मावि वीर्ता, माइस्थान विद्यापीठ मावि माइस्थान, नृसिंह मावी पिपरा, सुरजीदेवी मावि श्रीपुर, रेल्वे मावि घण्टाघर, गीता गजेन्द्र मावि सुखचैनार  र लक्ष्मीदेवी बाबुलाल हंसबाहिनी मावि कोन्हीया गरी सातवटा माविका प्रधानाध्यापकको सरुवा गरेको हो।    

वीरगन्जको विर्तामा रहेको त्रिजुद्ध रघुवीरराम महावीर प्रसाद माविमा प्रधानाध्यापकको सरुवाबाट असन्तुष्ट शिक्षकको आन्दोलनका कारण आइतबार उक्त विद्यालयका विधार्थी परीक्षा दिनबाट समेत बन्चित भएका छन्। 

आइतबार बिहान अन्य विद्यालयमा सरुवा भएका प्रधानाध्यापक नविन मिश्रा र उनका पक्षधर शिक्षकले परीक्षा स्थगित गरिएको भन्दै सूचना टाँसेपछि विधार्थी परीक्षा दिनबाट बन्चित भएका हुन्।

मिश्रसहितका शिक्षक आफैले आइतबार बिहान परीक्षा दिन पुगेका विधार्थीलाई परीक्षा स्थगीत भएको भन्दै विधार्थीलाई घर जान निर्देशन दिएका थिए।  तर सरुवाको पक्षमा रहेका शिक्षकले परीक्षा सन्चालन हुने अडान लिएपछि विद्यालयमा तनाव नै सृजना भएको थियो ।

शिक्षकको उक्साहटमा दुई गुटमा विभाजित भएका विधार्थीले सरुवा भइ अर्कै विद्यालयमा पठाइएका र सरुवा भइ विद्यालयमा आएका प्रध्यानाध्यापकको पक्ष विपक्षमा नाराबाजी गर्दै एकआपसमा हानाहान समेत गरेपछि विद्यालय परिसर झनै तनावग्रस्त बन्न पुगेको थियो। 

विधार्थीबीच झपड भएपछि वडा प्रहरी कार्यालय वीर्ताबाट आएका प्रहरीले स्थिति नियन्त्रणमा लिएको थिए। शिक्षक र विद्यार्थीबीच विवाद भएपछि संघीय समाजवादी फोरम नेपाल, राजपा, कांग्रेसका दर्जनौं नेता कार्यकर्ता पनि विद्यालय परिसरमा छिरेका थिए। 

फोरम र कांग्रेसका नेताले सरुवाको पक्षमा र राजपाका नेताले सरुवाको विपक्षमा नारबाजी गर्न विद्यार्थीलाई उक्साएका थिए ।  पछि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सन्जय कुमार कलवारसहितका केही शिक्षकले छलफलबाट समस्या सामधान गर्ने आश्वासन दिएपछि भने विधार्थी परीक्षा नै नदिइ घर फर्किएका थिए। 

अध्यक्ष कलवारले प्रधानाध्यपकको सरुवा , नियमित प्रक्रिया भएपनि आफ्नो स्वार्थका लागि शिक्षक शिक्षिकाले राजनीति दलको उक्साहटमा लागेर विधार्थीबीच नै झगडा लगाउने काम गरेको बताए। 

राजनीतिक दलको उक्साहटमा लागेर शिक्षक शिक्षीकाले विधार्थीको भविष्यसँग खेलवाड गर्ने काम गरिररहेका छन्, यो एकदम दुखद कुरा हो, अध्यक्ष कलवारले भने,' शिक्षाको मन्दिरमा राजनीति पसेको छ, यसले विधालयलाई मात्र नभइ विधार्थीलाई पनि बर्बाद गर्छ।'

अन्य विद्यालयबाट सरुवा भइ आएका प्रधानाध्यापक हरेन्द्र कुर्मीलाई आइतबार नै स्वागत गरी हाजिर समेत गराइ सकिएको भन्दै कलवारले भने, 'समस्या सामधानका लागि हामी छलफलमा बस्छौं। 

उक्त विद्यालयबाट सरुवा गरिएका प्रधानाध्यापक नवीना मिश्राले भने आफ्नो सरुवाको आधिकारिक पत्र नपाएकाले आफू नै यो विद्यालयको प्रधानाध्यापक रहेको दाबी गरे। 

मेरो सरुवा महानगरपालिकाले होइन, जिल्ला शिक्षा कार्यालयले गर्ने हो, उनले भने,'अर्को कुरा सरुवाको कुनै पत्र मैले पाएकै छैन, त्यसैले हेडमास्टर म नै हो।'यस्तै प्रधानाध्यापकको सरुवाकै विषयलाई लिएर माइस्थान विद्यापिठ माविमा पनि आइतवार विधार्थीले महानगरका मेयर विजय सरावगीका विरुद्ध नाराबाजी गर्दै प्रदर्शन गरेका छन्। 

प्रधानाध्यापक विनोद मेहतालाइ महानगरपालिकाले अन्य विद्यालयमा सरुवा गरेको विरोधमा त्यस विद्यालयका शिक्षक पठनपाठन ठप्प पारेर गत शुक्रबारदेखि नै आन्दोलनमा छन्। 

आन्दोलनरत शिक्षककै उक्साहटमा आइतबार विद्यालयले विद्यालय परिसरमा मेयर सरावगी विरुद्ध नाराबाजी गर्दै प्रदर्शन गरेका हुन्। पठनपाठनको गुणस्तर र भौतिक संचरनाले समेत धरायसी भइसकेको विद्यालयलाई आफनो कार्यकालमा प्रधानाध्यापक मेहताले थुप्रै सुधार गरेर जिल्लाकै उत्कृष्ट विद्यालयका रुपमा पहिचान दिलाउन सफल भएको भन्दै माइस्थान विद्यापिठका शिक्षकले मेहताको सरुवाको विरोध गरेका हुन्।

२०६० सालमा विद्यालयमा मावि शिक्षकको रुपमा आएका मेहताले २०६८ साल देखि प्रधानाध्यापकको जिम्मेवारी सम्हालेका थिए। उनलाई तत्कालिन जिल्ला शिक्षा कार्यालयले तीनपटक सर्वोत्कृष्ट केन्द्राध्यक्ष र शिक्षा मन्त्रालयले एकपटक जिल्लाकै सर्वोत्कृष्ट शिक्षकका रुपमा पुरस्कृत समेत गरिसकेको छ।

विद्यालयका लागि मरिमेट्ने प्रधानाध्यापक मेहतालाई महानगरका मेयर सरावगीले राजनीतिक पूर्वाग्रह राखेर अन्तको विद्यालयमा सरुवा गरेको आन्दोलनरत शिक्षकमध्येका राजेश सिंहले आरोप लगाए। 

सरुवा भएका प्रधानाध्यापक मेहताले पनि मेयर सरावगीले आफू निकटका तीनजना प्रधानाध्यापकलाई राम्रा विद्यालयमा ल्याउनका लागि नियमविपरित सरुवा गरेको बताए। 

वीरगन्ज महानगरपालिकाका प्रमुख प्रशाकीय अधिकृत डाक्टर भीष्म कुमार भुषालले भने महानगरको शिक्षा महाशाखाले नियम संगत ढंगले विधि पुर्‍याएर प्रधानाध्यापकको सरुवा गरेको बताए। 

शिक्षकको सरुवा र बढुवा नियमित प्रक्रिया हो, त्यही नियमितअन्तर्गत महाजगरले सरुवा गरेको हो, उनले भने, ' सरकारको जागिर खाइ सकेपछि म अन्त जान्न यहि नै बस्छु भनेर कुनै पनि कर्मचारीले भन्न मिल्दैन।'

तर उपमहानगरपालिकाकी उपमेयर शान्ति कार्कीले भने बोर्डमा कुनै सरसल्लाह नगरी मेयर सरावगीले आफू खुशी प्रधानाध्यापकको सरुवा गरेको आरोप लगाइन्। 

अहिले सबै विद्यालयमा परीक्षा चलिरहेका बेला हेडमास्टरको सरुवा गरेर विद्यालयको पठनपाठन प्रभावित भएको छ, उनले भनिन्,' एक त कुनै पनि विद्यालयबाट हेडमास्टरको बारेमा कुनै पनि अभिभावकबाट गुनासो नै आएको छैन, त्यसैले यो सरुवा नियमसंगत नै छैन, म यो सरुवाको विपक्षमा छु, यस बारेमा महानगरका मेयरसँग म कुरा गर्छु।' 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.