सुरक्षित बसाइका लागि हाउजिङ
अग्ला घर भए पनि बलिया र भूकम्पप्रतिरोधी भएको अवस्थामा डराउनु पर्दैन।
नयाँसडक गेटनजिकैको साढे तीनतले घर बेचेर चैत्यमान शाक्य सीतापाइलास्थित कम्फर्ट हाउजिङमा बस्न थालेको चार वर्ष भइसकेको छ। नयाँ सडककको पुरानो घर बेच्दा पाएको रकमको केही अंश उनले स्वयम्भूमा रहेको एउटा पानी उद्योग सञ्चालनमा ल्याए। बाँकी केही हिस्साबाट कम्फर्ट हाउजिङको नयाँ घर किने। अहिले उनी परिवारसहित उक्त हाउजिङमा बस्छन्।
मासिक एक लाखभन्दा बढी भाडा आउने नयाँसडकको घर बेचेर हाउजिङ जानुको एउटै मात्र कारण थियो, शान्त वातावरण र आरामदायी बसाइ। नयाँसडक व्यापारिक क्षेत्र भएको र यहाँ हुने भीडभाड तथा ध्वनी प्रदूषणले दिक्क भएका शाक्यलाई हाउजिङको बसाइले हाइसञ्चो छ।चितवनका रमेश पौडेल पनि सुनाकोठीस्थित सिभिल होममा बस्छन्। काठमाडौंमा परिवारका लागि एक घर आवश्यक परेकाले पौडेलले सुनाकोठीस्थित सिभिल होम रोजेका हुन्।
घर बनाउने झन्झट नहुुने, आरामदायी बसाइ र भीडभाडबाट पर भएकाले उनलाई उक्त हाउजिङ मन परेको हो। १० वर्ष वैदेशिक रोजगारमा गएर कमाएको धनलाई उनले आफ्नो सुन्दर र चिटिक्क परेको घरमा लगाउने योजना अनुसार चित्तबुुझ्दो घर सिभिल होममा पाएको बताए।
शाक्य र पौडेलजस्तै राजधानीमा न्यूनतम पाँच/सातदेखि दुई सयभन्दा बढी घर एकै ठाउँमा बनाइएको हाउजिङमा बस्न आकर्षण बर्सेनि बढ्दै गएको छ। हाउजिङमा बस्ने नेपालीको संख्या दिनदिनै बढेसँगै यो क्षेत्रका व्यवसायीको लगानी पनि सोहीअनुसार बढिरहेको छ। व्यवसायीले यसलाई सिंगल हाउजिङ भनेर बिक्री गर्ने गर्छन्। घर तथा अपार्टमेन्ट किनेर बस्नेमध्ये ९० प्रतिशतको रोजाइ हाउजिङका सिंगल घर नै हुने गरको छ।
राजधानीमा आठदेखि १९७ वटासम्म घर भएको सिभिल होमका वरिष्ठ प्रबन्धक भिम खरेलका अनुसार ठूलो क्षेत्रमा बन्ने, आफ्नै बाउन्ड्री हुने, सिंगल घरमा बस्ने रहर पूरा हुने विशेषताका कारण हाउजिङप्रति आकर्षण बढेको पाइन्छ। सबैजसो हाउजिङको विशेषता भनेकै साझा क्षेत्र, बाटो, सेमिनार हल, हरियाली क्षेत्र, स्कुल हुने गरेको छ। यसलाई अन्य स्थानमा बन्ने संरचनाजस्तै काठमाडौं उपत्यका विकास प्राधिकरणले तोकेको मापदण्डमा बनाइने पनि खरेलले बताए। हाउजिङमा जति क्षेत्र सम्झौता गरेर लिइएको हुन्छ त्यो निजी हुन्छ। साझा क्षेत्र भने सरकारी हुन्छ। हाउजिङ सिंगल घरको मोडलमा बनेको हुन्छ। सामान्यतया एउटै डिजाइन र एउटै रंगमा बनाइने यस्ता घरको क्षेत्रलाइ परबाटै देख्दा पनि चिनिन्छ। कुन हाउजिङ हो भनेर सजिलै रंगका आधारमा पनि छुट्याउन सकिन्छ।
यस्तो हाउजिङमा घरको मोडल र डिजाइन भने फरक फरक पनि हुन्छ। हाउजिङ वा कोलोनी नाम दिइने यस्तो क्षेत्रमा साढे दुई आनादेखि डेढ रोपनीसम्मको क्षेत्र हुन्छ। पछिल्लो समय ३÷४ आनामा बनेको घरलाई बढी रुचाइने गरिएको छ।पछिल्लो समय आरामदायी, सुरक्षित र आफ्नै चाहनाअनुसारका घर हुने भएकाले अपार्टमेन्ट भन्दा सिंगल घर रुचाउनेको संख्या बढिरहेको छ। सिंगल हाउजिङलाई विशेषगरी विदेशमा बस्ने, सरकारी जागिरे, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थामा काम गर्ने व्यक्ति वा कर्पोरेट कार्यालयमा काम गर्नेको रोजाइमा पर्ने गरेको छ। जसले आफूले घर बनाउन भ्याउँदैनन्, तर अपार्टमेन्ट भन्दा हाउजिङमै रुची राख्छन् तीनको रोजाइ सिंगल घर पर्ने गरेको छ। सबै सेवासुविधा एकै ठाउँमा हुने भएकाले पनि यस्तो हाउजिङ पछिल्लो समय रुचीको विषय बन्ने गरेको खरेल बताउँछन्।
बढ्दै छ अपार्टमेन्टको संख्या
त्यसो त एउटै जगमा बन्ने अग्ला अपार्टमेन्टमा बस्न रुचाउने पनि कम छैनन्। राजधानीमा मात्रै ७९ वटा यस्ता अपार्टमेन्ट छन्। अपार्टमेन्ट पनि व्यक्तिगत रूपमा लिन सकिने, छट्टाछुट्टै युनिट हुने र परिवारको आवश्यकताअनुसारको युनिट लिन सकिने हुुँदा यसप्रति आकर्षण पनि बढिरहेको छ। सबैलाई समान खालको सुविका दिन र धेरैको परिवारको वस्ती एउटै घरमा बसाउन सकिने भएकाले अपार्टमेन्ट पनि पछिल्लो समय रुचाइको क्षेत्रमै पर्छ। कामकाजी व्यक्तिले जो बाहिर बढी व्यस्त हुन्छन् तिनलाई आफैं ताला लगाएर जाने, काठमाडौंबाहिर गइरहनु पर्ने तर आएको समयमा बस्ने उपयुक्त स्थान अपार्टमेन्ट हुन सक्छ। परिवारसहित बस्ने र एक बेडदेखि तीन बेडसम्मले पुग्ने परिवारको पनि रोजाइँमा आपार्टमेन्ट नै पर्ने गरेको छ। अपार्टमेन्टमा बस्नेको पनि किचेन, लिभिङ र बेडरुमको छुट्टाछुट्टै कोठा हुन्छ। यसमा साझा प्रयोग गर्नुपर्ने ग्राउन्ड, लिफ्ट, धारा, पानी, बत्ती हुन्छ। यो बाहेकका अपार्टमेन्टमा सहज बसाइ हुने र बसाइको छुट्टै आनन्द हुने पनि खरेल बताउँछन्।
नेपालमा पछिल्लो समय ढेड दशकदेखि अपार्टमेन्टको प्रयोग हुन थालेको हो। नयाँ अपार्टमेन्ट थपिने र ग्राहकको रुचीअनुसारकै सेवासुविधामा व्यवसायी केन्द्रित पनि हुन थालेका छन्। एक दशकमा अपार्टमेन्टले आफ्नो छुट्टै छवी बनाउन सफल भएकोमा २०७२ को भूकम्पले हल्लाका केही आपर्टमेन्टले पनि आफ्ना कमजोरी सुधार गरिसकेका छन्। केही अपार्टमेन्टले भने सुधार गर्ने क्रम जारी राखेका छन्। यस क्षेत्रमा आधुनिक सुविधासहित नयाँ लगानी थपिने क्रम रोकिएको पनि छैन।
विश्वासिलो बन्दै व्यावसायिक अपार्टमेन्ट
तीन वर्ष अगाडिको भूकम्पले सहरका अग्ला घरमा बस्नुलाई चुनौती दियो। तर, अग्ला घर भए पनि बलिया र भूकम्प प्रतिरोधी भएको अवस्थामा डराउनु पर्दैन भन्ने सन्देशसहित नयाँ अपार्टमेन्ट बनाउने र पुरानाले पनि आफ्ना कमीकमजोरी सुधारेर दिएका छन्। आफ्नो विश्वासलाई अझै दरिलो बनाउने काममा यी आपार्टमेन्ट तल्लिन छन्। धेरै परिवारको बसोबासप्रति थप विश्वास दिलाउन पनि नयाँ आपर्टमेन्ट अगाडि आउन थालेका हुन्। भवन निर्माण विभागका अनुसार दर्ता भएका अपार्टमेन्टमध्ये धेरैले पूर्ण सुधार गरेका छन्।
रातो स्टिकरको सूचीमा परेको अपार्टमेन्टले पनि सुधारका लागि विभागबाट स्वीकृति लिएका छन्, तर काम पूरा भएको विवरण भने केहीको आउनै बाँकी छ। भूकम्पपछि पहिलो व्यावसायिक अपार्टमेन्ट निर्माणको काम पनि सुरु भइसकेको छ। यस्तो कामको सुरुवात सीई कन्ट्रक्सनले गरेको छ। कन्स्ट्रक्सनले महाराजगन्जमा साततले ५० युनिटको आपर्टमेन्ट बनाएको छ। सीईले प्रिमियर अपार्टमेन्टको नामबाट यसले महाराजगन्जमा निर्माण गरेको हो। यो अपार्टमेन्ट व्यस्त सहरमा हुने, कर्पोरेट अफिसमा काम गर्ने तथा विहान बेलुकाको समयलाई पायक पर्ने गरी लोकेसन पहिचान गरेर बनाएको उल्लेख छ।
पछिल्लो समय नयाँ अपार्टमेन्ट सञ्चालन गर्ने अनुमति दुईवटा कम्पनीले मात्रै मागेको सहरी विकास विभागका विभागका प्रवक्ता लिलाराज खतिवडा बताउँछन्। उनका अनुसार भूकम्पपछि सीई कमिटेड इन्टरप्रेनर्स रियलस्टेट र नन्दन एन्ड नन्दन डेभलपर्सले नयाँ अपार्टमेन्ट बनाउन अनुमति लिएका छन्। नन्दनले पुतलीसडकमा निर्माण प्रक्रिया अगाडि बढाएको छ। यसले ६ तले भवनसहित २७ वटा युनिट बनाउँदै छ। विभागमा हालसम्म ७९ वटा अपार्टमेन्ट दर्ता भएका छन्। साढे तीन वर्ष अगाडि भूकम्पले यसमध्ये ५१ वटा अपार्टमेन्टमा क्षति पुगेको थियो।
पछिल्लो समय एकल परिवार र बढ्दो सहरी जीवनका लागि अपार्टमेन्ट उपयुक्त रोजाइमा पर्ने हाउजिङ व्यवसायी बताउँछन्। अपार्टमेन्ट तथा हाउजिङको बसाइ भनेकै सुरक्षा, चोरी, डकैतीलगायत अपराधबाट जोगिने माध्यम खोजिने गरिन्छ। अपार्टमेन्टको बसाइ व्यक्तिगत जीवनका लागि सुरक्षित र भरपर्दो मानिन्छ। नेपालमा हाउजिङ व्यवसायको भविष्य राम्रो हुँदै गएको घरजग्गा व्यवसायी बताउँछन्। पछिल्लो समय जग्गा नपाउने, कित्ताकाट तथा हदबन्दी समस्याका कारण हाउजिङलाई समस्या परेको छ। यसलाई सरकारले नै सहजीकरण गर्नुपर्ने बुझाइ व्यवसायीको छ।
आवश्यकता सरकारी सहजीकरणकोसरकारले हाउजिङ तथा अपार्टमेन्ट निर्माणमा अझै सहजीकरण गर्नुपर्ने व्यवसायी बताउँछन्। डाँडोपाखोमा मात्रै हाउजिङ बनाउन जान सम्भव हुँदैन। मानिसको बसोबास भनेको सहरी क्षेत्रमै हो। सहज हुन स्थान पनि हेर्नुपर्छ। बनेको संरचनामा र बन्ने नयाँ संरचनाका लागि सरकारले बिजुली तथा खानेपानीलगायत अत्यावश्यक सुविधामा ध्यान दिनुपर्छ। सरकारले बिजुली तथा खानेपानीको लाइन उक्त संरचनासम्म पु¥याइदिनुपर्छ। व्यवस्थित गर्ने काम डेभलपर्स आफैंले गर्ने व्यवसायीको तर्क छ।
सहरी विकास तथा भवन निर्माण विभागले भने भवन होस् वा अपार्टमेन्ट बलियो बनाएको अवस्थामा कुनै समस्या नहुने स्पष्ट छ। सहरी विकास मन्त्रालयले ल्याएको भवन निर्माणको मापदण्ड पालना गरेर बनाइने हरेक भवन तथा आपर्टमेन्ट हाम्रो सहरी पूर्वाधार हुन्। सरकारले २०६० सालमा ल्याएको नेपाल राष्ट्रिय भवन संहिता (बिल्डिङ कोड)को अनिवार्य पालना गरेर मात्रै घर तथा भवन बनाउनुपर्ने हुन्छ। भवन निर्माण विभागको नेपालभर यही बिल्डिङ कोडका आधारमा विभिन्न मापदण्ड तथा स्थानीय तहले आफू अनुकूल मापदण्ड तयार गर्न सक्ने विभागले जानकारी दिएको छ।
कुनै पनि स्थानमा कति तलाको घर बनाउने, कस्तो बनाउने र कसरी बनाउने भन्ने सबै विषय भवनसंहिताले तय गर्छ। संहिताको पालना गरेर बनाएको घर नै बलियो र भरपर्दौ हुनै पर्छ। यही संहितालाई आधार बनाएर सहरी विकास मान्त्रालयले ‘बस्ती विकास, सहरी योजना तथा भवन निर्माणसम्बन्धी आधारभूत निर्माण मापदण्ड २०७२’ ल्याएको छ। महानगर तथा नगरपालिकाले पनि यही मापदण्डलाई आधार बनाएर घर तथा भवन बनाउने गरेको छ।