हेभी इक्विपमेन्टसँगै विकासको रफ्तार
निर्माण उपकरण र सामग्रीका क्षेत्रमा विकास भएका अत्याधुुनिक प्रविधिले निर्माण क्षेत्रलाई श्रमप्रदान प्रविधिबाट प्रविधिप्रदान बनाउँदै लगेको छ।
माटो धकेलेर बाटो निर्माण गर्ने डोजर बाट तलमाथिको माटो फाल्दै बाटो खोल्दै जाने स्काभेटरसम्म आइपुग्दा ठूलो परिर्वतन भएको छ। कुनै बेला डोजरले माटो धकेल्दै बाटो बनाउने प्रचलन थियो। विस्तारै स्काभेटर भित्रियो। सँगसँगै विकास–निर्माणको काममा रोलर, क्रेन, टनेल बोरिङ मेसिनजस्ता उपकरण भित्रिएका छन्। जसको प्रयोगले देशको विकासमा आमुल परिवर्तन नै आएको छ। विकास–निर्माणको काममा हेभी इक्विपमेन्टले ल्याएको सहजता र यसले दिएको अवसरले केही वर्षको अन्तरालमा नेपालले फड्को मारेको छ। यसले विकास–निर्माणको काममा क्रान्ति नै ल्याएको छ भन्न सकिन्छ।
त्यसको एउटा उदाहरको रूपमा भेरी बबई डाइभर्सन बहुद्देश्यीय आयोजनालाई पनि लिन सकिन्छ। भेरी बबई डाइभर्सन बहुद्देश्यीय आयोजनाको सुरुङ खन्न प्रयोग भएको टनेल बोरिङ मेसिन (टीबीएम) ले उक्त आयोजनालाई सफल आयोजनाको रूपमा चिनाएको छ। कुल १२ किलोमिटरको सुरुङ खन्नुपर्ने आयोजनामा टीबीएम राख्न प्लेटफर्मको रूपमा एक सय ५० मिटर टनेल खन्न आयोजनालाई तीन महिना लागेको थियो। एक सय ५० मिटर सुरुङ परम्परागत प्रविधिबाट खनिएको थियो। त्यही परम्परागत प्रविधि र ब्लास्टिङ गरेर सुरुङ खनेको भए एक किलोमिटर सुरुङका लागि एक वर्षभन्दा बढी लाग्ने थियो होला। तर, चिनियाँ निर्माण ठेकेदार कम्पनी चाइना ओभरसिज इन्जिनियरिङ ग्रुप कम्पनी लिमिटेडले चीनबाट अत्याधुनिक मेसिन टीबीएम भित्र्यायो। परम्परागत प्रविधिबाट दैनिक औसतमा एकदेखि दुई मिटर मात्र सुरुङ खन्न सकिने भए पनि टीबीएम प्रयोगपछि दैनिक औसत ४० मिटरसम्म सुरुङ खन्ने काम भइरहेको छ।
सिँचाइ र जलविद्युत्सहितको बहुद्देश्यीय आयोजनाको रूपमा लिइएको उक्त आयोजना सम्पन्न भएपछि बाँके र बर्दियाका करिब ५१ हजार हेक्टर खेतीयोग्य जमिनमा सिँचाइ पुग्नेछ भने ४८ मेगावाट जलविद्युत् उत्पादन गर्ने लक्ष्य सरकारको छ। उक्त निर्माणाधीन भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङ खन्न प्रयोग भएको टीबीएम नेपालका लागि नयाँ प्रविधि थियो। नेपालमै पहिलो पटक प्रयोग स्वरूप भिœयाइएको टीबीएममार्फत भेरी–बबई आयोजनाको सफलताले उक्त आयोजना इन्जिनियरिङ विद्यार्थीका लागि ‘शैक्षिक हब’ बनेको छ। यो एउटा उदाहरण मात्रै हो। देशको विकास निर्माण र ठूलो आयोजनामा प्रयोग भएका हेभी इक्विपमेन्टले परम्परागत सिप शैलीलाई चिर्दै नयाँ बाटो देखाएको छ।
पछिल्लो दुई दशकको अवधिमा हाम्रो जस्तो भौगोलिक रूपले पहाडी र हिमाली भू–भाग धेरै भएको देशका अधिकांश स्थानमा मोटर बाटो पुग्न सम्भव भएको छ। कुनै समय यस्तो पनि थियो जहाँ मानिसहरू हातमा कुटो कोदालो बोकेर पूर्वाधार विकासमा लागिपरेका थिए। कुटो कोदालोले खनजोत गरेर पनि विकासका काम नभएका भने होइनन्। मात्र फरक यो हो कि, एउटा सानो कामका लागि सयौंको संख्यामा जनशक्तिको उपस्थिति जरुरी थियो। एउटै कामका लागि महिनौ खटिनुुपर्ने अवस्था। त्यो अवस्थामा हेभी इक्विपमेन्ट प्रयोगसँगै परिर्वतन आएको छ। कुटो कोदालोलाई हेभी इक्विपमेन्टका उपकरणले बिस्थापित गरिदिएको छ। यसले सडकका साथै अन्य विकास निर्माणका काममा प्रविधिको प्रयोगले निर्माण क्षेत्रको श्रमलाई न्यूनीकरण गरेको छ। सडक र टनेलमात्र होइन भवन, सिँचाइ, विद्युुत् प्रसारण लाइन, जलविद्युुत् आयोजनाजस्ता भौतिक निर्माणका क्षेत्रमा निर्माण उपकरण र निर्माण सामग्रीका क्षेत्रमा विकास भएका अत्याधुुनिक प्रविधिले निर्माण क्षेत्रलाई श्रमप्रदान प्रविधिबाट प्रविधिप्रधानमा बनाउँदै लगेको छ। निर्माण र विकासको रफ्तार तीव्र भएको छ।
पछिल्ला वर्षमा हेभी इक्विपमेन्ट आयातमा तीव्र वृद्धि भएको छ। राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. स्वर्णिम वाग्ले हेभी इक्विपमेन्टको आयातलाई पनि विकासको सूचकसँग जोडेर हेर्छन्। ‘यतिका हेभी इक्विपमेन्ट आयात भइरहेका छन् भने तिनीहरूको उपयोगबाट केही न केही विकास निर्माणका काम वृद्धि भइरहेका होलान्’, उनी भन्छन्।
हेभी इक्विपमेन्ट प्रयोगको इतिहासलाई हर्ने हो भने २०५० सालसम्म पनि आवश्यक परेको खण्डमा सरकारको स्वामित्वमा रहेको हेभी इक्विपमेन्ट डिभिजन कार्यालयमा निवेदन पेस गरी भाडाका लागि सिमति समयलाई पाइन्थ्यो। त्यो समयमा विकासका काम पनि देशव्यापी विस्तार हुन नसकेको अवस्थामा यसको प्रयोग पनि खासै भएको थिएन। त्यो समयमा प्रतिघण्टा नौ हजारका दरले हेभी इक्विपमेन्ट प्रयोगमा आएका नेपाल हेभी इक्विपमेन्ट व्यवसायी महासंघका अध्यक्ष ताराबहादुर कुँवर बताउँछन्। २०६० साल पछिमात्रै यो क्षेत्रमा परिवर्तन आएको हो। सरकाले दिएको भाडा दर महँगो भएपछि व्यवसायीले २०६० सालपछि हेभी इक्विपमेन्टमा बुल डोजर भिœयाएका थिए। विस्तारै बहुउपयोगी एक्साभेटर हुँदै भ्याकुर लोडर, रोलर, ब्याकु लोडर, डोमालुसन, क्रेन, टनेल बोरिङ मेसिनजस्ता विभिन्न हेभी इक्विपमेन्ट विकास–निर्माणका काममा प्रयोगमा आएका छन्। त्यसमा सबैभन्दा बढी एक्साभेटर प्रयोग भएको छ। पहाडि क्षेत्रमा बाटो खन्न सजिलो र बहुउपायोगी हुनाले नेपालमा एक्साभेटरको प्रयोग सबैभन्दा बढी बिक्री भइरहेको कोमात्सुको नेपालका लागि आधिकारिक बिक्रेता कन्टिनेन्टल टे«डिङ इन्टरप्राइजका कार्यकारी निर्देशक टंक भट्ट बताउँछन्।
हेभी इक्विपमेन्ट व्यवसायी महासंघका अध्यक्ष कुँवरका अनुसार सरकारले २०६४ सालमा आफ्नो गाउँ आफै बनाउँ भन्ने अभियान सुरु ग¥यो। त्यसपछिका दिनमा नेपालमा हेभी इक्विपमेन्ट ठूलो मात्रामा भित्रिएको हो। सरकाले सुरु गरेको यो अभियानले गाउँगाउँमा विकासको पहिलो पाटो सडक भन्दै सडक निर्माणका काम सुरु भयो। अहिले सडक सञ्जालसँग जोड्न सबै ठाउँमा हेभी इक्विपमेन्टकै प्रयोग भएका हुन् भन्दा फरक पर्दैन। त्योसँगै हेभी इक्विपमेन्टको माग बढेको बताउँछन् अध्यक्ष कुँवर। संघीयता लागू भएसँगै यसको सहरउन्मुख ठाउँमा निमार्णाधीन ठूला ठूला व्यापारिक भवन, होटल, रिसोर्ट, हाउजिङ र त्यसका लागि आवश्यक पर्ने पूर्वाधार निर्माणमा पनि यसको प्रयोग भइरहेको छ। यसले विकास निर्माणको कामलाई अत्यन्तै सजिलो बनाइदिएको छ भने समयको बचत अर्को महत्त्वपूर्ण उपलब्धी हो।
जेसीबीको नेपालका लागि आधिकारिक बिक्रेता एमएडब्लू इन्टरप्राइजेजका यम गुरुङका अनुसार कुनै पनि देशको आर्थिक विकासका लागि आवश्यक पुँजी, प्रविधि, व्यवस्थापन र यन्त्र उपकरण नै हो। पुँजी जनशक्तिका लागि आवश्यक छ। प्रविधिको संरचना समय व्यवस्थापनका लागि हो भने यन्त्र उपकरण कार्यको सहजताका लागि। यसरी सहजताका लागि प्रयोगमा आएका हेभी इक्विपमेन्ट अहिले ठुुल्ठूला जलविद्युत्, खानेपानी, सिँचाइ, क्रसर, कन्स्ट्रक्सन, इँटा उद्योगलगायत आयोजना निर्माणमा प्रयोगमा आइरहेको छ। यसको प्रयोगसँगै हेभी इक्विपमेन्टमा प्रयोग भएको प्रविधिमा पनि ठूलो परिवर्तन भएको बताउँछन् टाटा हिटाचीको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी अर्थमुभर प्रालिका सञ्चालन प्रमुख राजेन्द्र कार्की। उनका अनुसार हेभी इक्विपमेन्टमा प्रयोग भएको प्रविधिले ठूलो फड्को मारेको छ। प्रयोगकर्ताको सहजतादेखि कामको प्राकृतिक सहजताका लागि विभिन्न प्रविधि प्रयोग आएका छन्। जुन नेपालमा पनि भित्रिएको छ।
हेभी इक्विपमेन्टमा इक्विपमेन्ट मोनिटरिङ सिस्टम (ईएमएस), जीपीएस प्रणाली, कमट्र्याक प्रणालीजस्ता प्रविधि प्रयोग भएको छ। जसले घरमै बसेर आफ्नो उपकरणबारे जानकारी लिन सकिने भएको छ। घरमै बसेर मेसिन कहाँ चलिरहेको छ, मेसिनमा इन्धन कति छ, काम भएको छ छैन, उपकरण सुरक्षित छ/छैन, सर्भिसिङको समय भए/नभएको जस्ता जानकारी लिन सकिने भएको छ। त्यो मात्र नभएर अहिले नेपालमा भित्रिएका हेभी इक्विपमेन्टमा चालकलाई सुसूचित गर्ने प्रविधि भित्रिएको कार्की बताउँछन्। उनका अनुसार भित्रिएका प्रविधिले हेभी इक्विपमेन्टको प्रयोगमा सहजता ल्याएको छ। समय र इन्धनको बचत भएको छ।
प्रविधिको हिसाबले यो क्षेत्र विस्तारित भइरहे पनि पछिल्लो एक वर्षको अवधिमा यसको व्यापारमा ठूलो गिरावट आएको एमएडब्लू इन्टरप्राइजेजका गुरुङ बताउँछन्। उनका अनुसार अघिल्लो वर्ष ३७ प्रतिशत वृद्धि भई नेपालमा कुल पाँच हजार तीन सय ९४ सय हेभी इक्विपमेन्ट आयात भएको थियो। तर अहिले त्यो आयातमा ३५ प्रतिशतले गिरावट आएको छ। यो डिसेम्बरसम्म कुल २३ सय ४० वटा हेभी इक्विपमेन्ट आयात भएको छ। यसरी व्यापारमा गिरावट आउनुको प्रमुख कारण बैंकले यस क्षेत्रमा लगानी नगर्नु रहेको जगदम्बा कन्स्ट्रक्सन सोलुसन प्रालिका बिजनेस प्रमुख सञ्जीव देउजा बताउँछन्। अर्को विकासका परियोजना यस वर्ष अहिलेसम्म पनि सुरु भएको छैन।
अघिल्लो वर्ष यस समय विकासका काम सुरु भइसकेका थिए। अहिले कुनै नयाँ आयोजना सुरु भएको छैन। पुराना आयोजनाको पनि सरकारले पैसा निकासा नगरिदिँदा व्यवसायीले यसमा लगानी गर्न सक्ने अवस्था नभएको देउजा बताउँछन्। देउजाका अनुसार यो क्षेत्रका लागि उपयुक्त समय सेप्टेम्बरदेखि मे महिनासम्म हो। अहिले यही समयमा पनि यो व्यवसाय सुस्ताएको छ। नेपालमा जेसीबी, हुन्डाई, एस्कटर््स, क्याट, कोमात्सु, टाटा, केस, कावासाकी, टेरेक्स, भोल्भो, हिटाची, कोभेल्कोलगायत १७ ब्रान्डका हेभी इक्विपमेन्ट उपकरण भित्रिएका छन्। यसले बजार विस्तार र प्रतिस्पर्धी पनि बनाएको छ। बजारमा सात टनदेखि ४५ टनसम्मका उपकरण भित्रिएको नेपालमा अहिले २५ लाखबाट सुरु भएर डेढ दुई करोडसम्मका हेभी इक्विपमेन्ट छन्।
कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेजका कार्यकारी निर्देशक भट्टका अनुसार विदेशी कन्स्ट्रक्सन कम्पनी हितमा भने आफूलाई आवश्यक ठूला क्रेनल एक्साभेटर, टनेल बोरिङ मेसिनलगायत उपकरण आफैले ल्याएर काम गरिरहेका छन्। उनीहरूले ल्याएको उपकरण आफैंले लिएर जाने हुनाले ती उपकरणको प्रयोग र त्यसका लागि आवश्यक जनशक्ति उत्पादन हुुन सकेको छैन। कतिपय विदेशी कम्पनीले आवश्यक सामान व्यवसायीसँग भाडामा लिएर पनि काम गरिरहेका छन्। यसले व्यापारको साथै रोजगारीको अवसर पनि सिर्जना गरिदिएको छ। यो क्षेत्रमा व्यवसायी तथा मजदुर गरी करिब २५ हजार संलग्न रहेको अध्यक्ष कुँवर बताउँछन्। कुँवरका अनुसार यस क्षेत्रमा अनुभवी कामदारको ठूलो अभाव छ।