महानगर र शिक्षकको चेपुवामा २० हजार विधार्थीको पठनपाठन ठप्प

महानगर र शिक्षकको चेपुवामा २० हजार विधार्थीको पठनपाठन ठप्प

वीरगन्ज : वीरगन्ज महानगरपालिकाले प्रधानाध्यापकको सरुवा गरेको विषयलाई लिएर असन्तुष्ट शिक्षकले महानगरका सामुदायिक विद्यालयमा सोमबारदेखि पठनपाठन ठप्प पारेका छन्।

शिक्षकको आन्दोलनका कारण महानगरका सामुदायिक विद्यालयमा अध्ययनरत २० हजारभन्दा बढी विधार्थीको पढाइ प्रभावित भएको छ। महानगरपालिकाको शिक्षा महा शाखाले गत बिहीबार एकैपटक आठ माध्यमिक विद्यालयका प्रधानाध्यापकको सरुवा गरेको थियो।

महानगरले गरेको सरुवाको निर्णयबाट शिक्षक असन्तुष्ट भएपछि पेशागत शिक्षक संघसंगठनले सोमबार र मंगलबार महानगरका सबै सामुदायिक विद्यालय बन्द गरेका हुन्।

प्रधानाध्यापकको सरुवा नियमसंगत र प्रक्रिया विपरित रहेको भन्दै नेपाल शिक्षक संघ, नेपाल राष्ट्रिय शिक्षक संगठन , राष्ट्रिय लोकतान्त्रिक शिक्षक युनियन र अखिल नेपाल शिक्षक संगठनले विद्यालय बन्द गराएका हुन्। 

वीरगन्ज महानगरमा १९ वटा माध्यमिकसहित कूल ६० वटा सामुदायिक विद्यालय छन्। ती विद्यालयमा २० हजार एक सय ८५ विधार्थी अध्ययनरत छन्। शिक्षक विद्यालय नै बन्द गरी आन्दोलनमा उत्रिएपछि आक्रोशित विधार्थीले सोमबार वीरगन्जमा प्रदर्शन गरेका छन्।

बिहान विद्यालय जाँदा शिक्षकले तालाबन्दी गरेको देखेपछि आक्रोशित माइस्थान विद्यापीठ माविका विधार्थीले घण्टाघर चोकमा पुगेर सडकमा टायर बालेर प्रदर्शन गरेका हुन्। 

बिहान सात बजेदेखि नै घण्टाघर चोकमा लठ्ठी र चिर्पट बोकेर विद्यालय पोशाकमै पुगेका करिब पाँच सय विधार्थीले नारबाजी गर्दै बिहान साढे १० बजे सडक पनि अवरुद्ध पारेका थिए। त्यस क्रममा उनीहरुले केही सार्वजनिक सवारी सधानहरुमा तोडफोड पनि गरेका थिए।

विद्यार्थीको प्रदर्शन उग्र बनेपछि प्रहरीले विधार्थीमाथि लाठी चार्ज पनि गरेको थियो। लाठी चार्जबाट प्रदर्शनकारीमध्ये दुईजना विधार्थी सामान्य घाइते भएका छन्।प्रदर्शनमा सहभागी विधार्थीले महानगरले गरेको प्रधानाध्यापकको सरुवा र शिक्षकको आन्दोलनले नजिकिँदै गरेको एसईई परीक्षामा आफूलाई असर पर्ने भएकाले सडकमा उत्रिन बाध्य भएको बताए।

एसईई परीक्षा आउन अब दुई महिना मात्रै बाँकी छ , यो बेला महानगरपालिकाले अचानक हाम्रो हेडसरको सरुवा गरिएको छ, स्कुलका सर पनि स्कुल नै बन्द गरेर हडतालमा उत्रिनु भएको छ, यसले हाम्रो एसई‍ई परीक्षा बिग्रिन्छ, प्रदर्शनकारीमध्येका कक्षा १० मा अध्ययनरत गौरव चौरसीयाले भने, ' हामी अहिले महानगर र शिक्षकको दोहोरो चेपुवामा परेका छौं, हाम्रो भविष्यसँग खेलवाड भइरहेको छ। 

प्रध्यानाध्यापकको सरुवाको विायलाई लिएर माइस्थान विद्यापीठ माविमा शिक्षक गत शुक्रबारदेखि नै पठनपाठन बन्द गरेर आन्दोलनमा छन्।माइस्थान विद्यापीठ माविमा आइतबार पनि विधार्थीले नाराबाजी गर्दै विद्यालयमा तोडफोड पनि गरेका थिए।  प्रधानाध्यापकको सरुवाकै विषयलाइ लिएर त्रिजुद्ध रघुवीरराम महावीर प्रसाद माविमा पनि सोमबार शिक्षकको एक समूहले तालाबन्दी गरेको छ। 

त्रिजुद्ध माविमा यहि विषयलाई लिएर आइतबारदेखि अर्धवार्षिक परीक्षा पनि शिक्षकले स्थगित गरिसकेका छन्।उक्त विद्यालयमा आइतबार प्रधानाध्यापक सरुवाको विषयलाइ नै लिएर विद्यार्थीको दुई समूहबीच झडप पनि भएको थियो । 

महानगरको शिक्षा महाशाखाले आठ वटा माविका प्रधानाध्यापकको सरुवा गरेपनि दुईवटा मावि( त्रिजुद्ध मावि र माइस्थान विद्यापीठ मावि) मा मात्रै विरोध भइरहेको छ।

दुईवटा विद्यालयमा मात्रै सरुवाको विरोधमा असन्तुष्टी रहेपनि शिक्षकले त्यसकै बहानामा महानगरका सबै ६० वटा विद्यालय बन्द गरेका हुन्। नेपाल शिक्षक महासंघ पर्साका अध्यक्ष तिर्थराज यादवले भने यहि १४ गते पर्सामा महासंघको निर्वाचन हुन गइरहेका बेला महानगरका मेयर विजय सरावगीले दलगत स्वार्थका लागि निर्वाचन भाड्ने नियतले नै आफनो दल इतरका प्रधानाध्यापकको सरुवा गरेको आरोप लगाए । 

चुनावमा शिक्षकलाई डरत्रास देखाएर आफनो दल निकटको शिक्षक संगठनको पक्षमा पार्ने नियतले फोरमका मेयरले यो सरुवा गरेका हुन्, यादवले भने, 'अहिलेसम्म संघीय, प्रादेशीक र स्थानीय शिक्षा ऐन बन्न सकेको छैन तर मेयरले आफनो पदको दुरुपयोग गरेर दलगत स्वार्थका लागि पूर्वाग्रही बनेर सरुवा गरेका हुन्, यो सरुवा अवैधानिक छ, त्यसैले हामी आन्दोलनमा उत्रिएका हौं।'

प्रधानाध्यापकको सरुवाको विषयलाई लिएर शिक्षकले गरेको आन्दोलनले वीरगन्जको समग्र शैक्षिक वातावरणलाई नै बिगार्ने काम भइरहेको भन्दै विधार्थीका अभिभावकले आक्रोश पोखेका छन्। 

आफ्नो स्वार्थका लागि शिक्षकले विधार्थीलाई सडकमा लठठी बोक्न लगाएर नाराबाजी र प्रदर्शनमा उतार्ने काम अराजक भएको अभिभावकको भनाइ छ। सोमबार बिहान घण्टाघर चोकमा भेटिएका सोनु कुमार गुप्ताले भने, 'हामीले बच्चाको भविष्य बनोस् भनेर स्कुल पठाएका हौं , तर शिक्षकले आफनो स्वार्थका लागि हाम्रा बच्चालाई उक्साएर सडकमा आन्दोलन गर्न पठाएएका छन्, शिक्षकले हाम्रा बालबच्चाको भविष्यसँग खेलवाड गरिरहेका छन्। 

अर्का अभिभावक सन्जय कुमार साहले पनि प्रधानाध्यापकको सरुवाको निहुमा शिक्षकले विद्यालय नै बन्द गरेर नाराबाजी गर्न सडकमा पठाएर विधार्थीको भविष्य बिगार्ने काम गरिरहेको बताए। उनले महानगगर र शिक्षकको चेपुवामा विधार्थी परेको पनि बताए। 

महानगरपालिकाका मेयर विजय सरावगीले भने महानगरको शिक्षा महाशाखाले विधि प्रक्रिया पुर्‍याएर प्रधानाध्यापकको सरुवा गरेकाले जति सुकै विरोध र आन्दोलन गरिएपनि आफनो निर्णयबाट महानगर पछाडि नहट्ने अडान लिएका छन्। 

प्रक्रिया  र विधिसम्मत ढंगले प्रधानाध्यापकको सरुवा गरिएको हो त्यसैले जस्ले जतिसुकै विरोध र आन्दोलन गरेपनि त्यसले कुनै असर पार्दैन, सरावगीले भने, ' सरुवाको निर्णय नमान्ने र यसैको बहानामा विधार्थीलाई उक्साएर सडकमा उतार्न लगाउने अराजक प्रधानाध्यापक र शिक्षक विरुद्ध महानगरले कारबाहीको प्रक्रिया पनि थालिसकेको छ।' 

वीरगन्ज महानगर भित्रका सहरी भेगका विद्यालयमा मात्रै बढी शिक्षक थुप्रिएका छन्, गाउँमा  कोही पनि जान नमान्ने प्रवृत्ति वर्षौंदेखि छ ,त्यही प्रवृत्ति निरुत्साहित गर्नका लागि अहिले पहिलो चरणमा आठजना प्रधानाध्यापकको सरुवा गरिएको हो ,मेयर सरावगीले भने, 'अब दोश्रो चरणमा एक सय २५ जना अरु शिक्षकको पनि सरुवा गर्ने सूची बनिसकेको छ।'


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.