मण्डपमा बसिरहेकी बेहुली कुटपिट गर्ने ५ पक्राउ
तेह्रथुम : तेह्रथुममा विवाह भइरहेको बेला बेहुलीलाई कुटपिट गर्ने पाँचजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। सोमबार राति १०.३० बजेतिर विवाह भइरहेको फेदाप गाउँपालिका-३, जलजलेस्थित बेहुलीको घरमा स्थानीयवासी युवाको समूहले आक्रमण गरेको थियो। उनीहरूको कुटपिटबाट बेहुली प्रतिक्षा सम्बाहाम्फे र अन्य तीनजना घाइते भएका छन्।
प्रहरीले विवाहमा कुटपिट गर्ने १९ वर्षका सरोज लिम्बू, १४ वर्षका ओमन लिम्बू, २१ वर्षका दिनेश लिम्बू, १९ वर्षका सुदीप लिम्बू र १७ वर्षका मन्दिप लिम्बूलाई नियन्त्रणमा लिएको छ।
कुटपिटबाट घाइते भएकी बेहुलीको थप उपचारका लागि विराटनगर पठाइएको र अन्य घाइते बेहुलीका दाजु देउमान लिम्बू, सुमन खापुङ र टीकादेवी सम्बाहाम्फेको जिल्ला अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक नारायण गौतमले जानकारी दिए।
जलजलेकी प्रतिक्षासँग पाँचथरको फाल्गुनन्द गाउँपालिका-१, नवमीडाँडाका सचिन आङदेम्बेसँग विवाह भइरहेको थियो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। -रासस