अब घलेगाउँ ‘स्मार्ट भिलेज’ : मुख्यमन्त्री गुरुङले गरे शुभारम्भ

अब घलेगाउँ ‘स्मार्ट भिलेज’ : मुख्यमन्त्री गुरुङले गरे शुभारम्भ

बेसीशहर : सार्क राष्ट्रको नमुना गाउँको रुपमा चिनिएको पर्यटकीय गाउँ घलेगाउँ अब स्मार्ट भिलेज बन्ने भएको छ। गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले मंगलबार स्मार्ट भिलेज घलेगाउँ शुभारम्भ गरेका हुन्।

नगरपालिकामा स्मार्ट सिटीको अवधारणा भित्रिएको बेला घलेगाउँलाई नेपालकै पहिलो स्मार्ट भिलेजका रुपमा विकसित गर्न लागिएको हो। 

मुख्यमन्त्री गुरुङले स्मार्ट भिलेज बन्नका लागि आवश्यक पर्ने पूर्वाधार पूरा गर्नका लागि सहयोग र सहकार्य गर्न प्रदेश सरकार तयार रहेको बताए। ‘स्मार्ट भिलेज हुन गाउँमा भरपर्दो इन्टरनेट, फोनको साथै गाउँ सफा र शान्त हुनुपर्‍याे मुख्यमन्त्री गुरुङले भने, ‘आवश्यक पूर्वाधार पूरा गर्दै घलेगाउँलाई विश्वकै स्मार्ट बनाउनतर्फ लाग्नुपर्छ।’

गण्डकी प्रदेश सभा सदस्य मायानाथ अधिकारी, आशा कोइराला खनाल, विधान समितिका सभापति नारायण रेग्मी, संविधानसभा सदस्य जमीन्द्रमान घलेलगायतले घलेगाउँ स्मार्ट भिलेज बन्न सकेमा लमजुङले पर्यटनमा फड्को मार्ने बताए।

ग्रामीण पर्यटन व्यवस्थापन समिति घलेगाउँका अध्यक्ष प्रेमबहादुर घलेकाअनुसार स्मार्ट भिलेज बनाउने कार्यक्रम अन्तर्गत सबै घरका छानामा एउटै गाढा रातो रंग लगाइने भएको छ। बाटो वरपर फूल रोपिनेछ। 

सिँढीहरु निर्माण तथा मर्मत गरिनेछ। घर पालुवा जनावरलाई व्यवस्थापन गरिनेछ। गाउँमा रहेको गुरुङ संग्रहालय, चियावारी, भेडीगोठलाई थप व्यवस्थित गरिनेछ। यी सबै काम पूरा हुन एक करोड रुपैयाँ लाग्ने घलेले बताए। यसका लागि संघीय सरकारको पर्यटन मन्त्रालय, पर्यटन बोर्ड, गण्डकी प्रदेश सरकार, तारा गाउँ विकास समिति, स्थानीय तहसंग बजेट माग गरिएको उनले बताए।  

स्मार्ट भिलेज अभियान सफल बनाउन ६ वटा टोल सुधार समिति गठन गरिएको छ। हरेक घरले दैनिक घरआँगन र टोलको सफा गर्ने निर्णय गरिएको छ। 

होमस्टेलाई अझ व्यवस्थित बनाउन पूर्णबहादुर गुरुङको संयोजकत्वमा अनुगमन समिति बनाइएको छ। गाउँमा रहेको गुरुङ संस्कृतिलाई व्यवस्थित र उजागर गर्न नवराज घलेको संयोजकत्वमा सांस्कृतिक उपसमिति गठन गरिएको छ। 

विभिन्न उपसमितिका संयोजक, टोल सुधार समितिका संयोजक, आमा समूह, युवा समूहका अध्यक्ष पदेन सदस्य रहने गरी २१ सदस्य पर्यटन समिति गठन गरी स्मार्ट भिलेजको अभियानलाई नेतृत्व प्रदान गरिने अध्यक्ष घलेले बताए।

समुद्री सतहदेखि करिब २ हजार १ सय मिटर उचाईको घलेगाउँमा २०५७ सालबाट पर्यटन प्रवद्र्धनका कार्यक्रमसहित होमस्टे संचालनमा ल्याइएको थियो। 

त्यसपछि स्थानीयले हरेक बर्ष महोत्सवको आयोजना गर्दै आएका छन्। करिब १ सय २० घर रहेको गाउँमा अहिले ३२ घरमा होमस्टे संचालन भएको छ। 

घलेगाउँलाई संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय अन्तर्गत तारा गाउँ विकास समितिले २०७४ सालको उत्कृष्ट सामुदायिक होमस्टे घोषणा गरी एक लाख एक हजार रुपैयाँ पुरस्कार प्रदान गरेको थियो। 

पर्यटकीय सेवा सुविधा, स्थानीय कला संस्कृतिको प्रवद्र्धन तथा गतिविधि, होमस्टे कार्यक्रममा समुदायको संलग्नताले स्वदेशी तथा विदेशी पर्यटकको रोजाईमा घलेगाउँ पर्ने गरेको छ। घलेगाउँमा लमजुङको बेंसीसहरबाट मोटरमा चढी हिउँदबर्खा साँढे २ घण्टामा पुग्न सकिन्छ।

हिमालै हिमालको काखमा रहेको सय वर्ष पुरानो घलेगाउँमा हिमाली दृष्यावलोकन, सुधारिएको होमस्टेसँगै परम्परागत गुरुङ संस्कृति झल्कने घाँटु, सोरठी, सेर्गा, कृष्णचरित्रलगायतका नृत्य, नमुना चिया बगानको अवलोकन, गुरुङ खाना, सूर्योदय र सूर्यास्तको दृष्यावलोकन गर्न सकिन्छ। यस्तै सामूहिक भेडापालनको अवलोकन, बोटानिकल गार्डेन र भ्यु टावर आदि घलेगाउँका आकर्षण हुन। 

यहाँबाट लमजुङ हिमाल, मनासुलु, माछापुछ्रे, अन्नपूर्ण, हिमालचुली लगायतका हिमाल नजिकबाट नियाल्न सकिन्छ भने मस्र्याङदी, खुदी, मादी लगायतका नदीको मनोरम दृष्य देख्न सकिन्छ। पाहुनाको न्यानो सत्कार गरिने घलेगाउँ पुग्ने पर्यटकलाई दही चामलको अक्षता र फूलमालाले स्वागत गर्दै दुलही झै भित्राउने चलन छ। 

दक्षिण एसियाकै नमुना गाउँका रूपमा विकास भएको घलेगाउँमा पर्यटकको आगमनसँगै स्थानीय बासिन्दाको आर्थिकस्तर पनि उकासिँदै गएको छ। 

दक्षिण एसियाको नमूना लमजुङको घलेगाउँ। तस्बिर : नवीनराज कुइँकेल

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.