'छाेरो नपाई सुखै छैन'
जुम्ला : तातोपानी गाउँपालिका–२ की २४ वर्षीया कालिका डाँगीले विवाह गरेको १० वर्ष भयो। साथीको लहलहैमा लागेर उनले १४ वर्षको कलिलै उमेरमा भागी बिहे गरिन्। अहिले उनी तीन सन्तानकी आमा बनेकी छन्। बिहे गरेको दुई वर्षमै उनले पहिलो सन्तान छोरी जन्माइन्।
अहिले कालिकासँग आठ, पाँच र एक वर्षकी छोरी छन्। २४ वर्षमै तीन सन्तानको आमा बनेकी कालिकाको बिहेपछि पढाइ त रोकियो नै, स्वाथ्यमासमेत असर पुगेको छ। उनी भन्छिन्, ‘सानैमा बिहे गरेर बन्धनमा परियो, अहिले पीडाले थलिएकी छु। त्यसैमा तीन/तीन वटी छोरी हुर्काउनुपर्ने बाध्यता छ।’ तीन सन्तानले मात्र पुगेको छैन, छोरा जन्माउनैपर्ने पारिवारिक दबाब उनीमाथि छ। जसका कारण उनको मानसिक अवस्था कमजोर बन्दै गएको छ।
‘हामी महिलाले सधैं अर्काकै चाहाना पूरा गर्नुपर्ने ? मर्न लागे पनि कसैलाई वास्ता छैन। जिन्दगी मेरालागि बोझ भइसक्यो’, उनले दुखेसो पोखिन्। बिहेपछि कालिकाका पति कृष्ण डाँगीको पढाइमा पनि पूर्णविराम लाग्यो। उनलाई बालबच्चा हुर्काउनै समस्या छ। पति पाटनमा भेडा चराउने गर्छन्। कालिकालाई तीन छोरी लिएर घर धान्न मुस्किल छ।
सरकारी सेवाबाट वञ्चित
बालविवाह गरेकै कारण कालिकाको विवाह दर्ता भएको छैन। विवाह दर्ता नभएकै कारण नागरिकतासमेत बन्न पाएन। नागरिकता नपाएपछि झण्डै आठ वर्षसम्म उनले महिलाले पाउने सरकारी सुविधाबाट समेत वञ्चित हुनुपर्यो। नागरिकता नहुँदा उनकी जेठी छोरी पुष्पा र माइली छोरी कविताको समयमै जन्म दर्तासमेत बनेन। छोरीको जन्मदर्ता नहुँदा सरकारले कर्णालीका बालबालिकालाई दिँदै आएको बालपोषण भत्ताबाटसमेत दुवै छोरी वञ्चित भएका कालिकाको गुनासो छ।
बढ्दै किशोरी आमा
हतारमा बिहे गर्ने र उमेर नपुगी बच्चा जन्माउनको संख्या जुम्लामा अधिक छ। तातोपानी गाउँपालिका ६ को हियाँखोला बस्तीमा एक दर्जन बढी विवाहिता किशोरी छन्।
एक अध्ययनअनुसार तातोपानीको वडा नम्बर ४ जिल्लाकै बढी बालविवाह हुने ठाँउ हो। वडाध्यक्ष धीरज जैसीले बालविवाह गर्नेलाई सरकारी सेवाबाट वञ्चित गराउनुका साथै न्यूनीकरणका कार्यक्रम भइरहेको बताए। पातारासी गाउँपालिकामा १३ देखि १८ वर्ष उमेर समूहका किशोरीहरू कलिलै आमा बन्नेहरू बढेका छन्।