प्लास्टिक ट्यांकी राज
काठमाडौं : कुनै समय नेपालमा पानी थाप्न खोला, पोखरी, ढुंगेधारा, पानीपँधेरोमा लाम लाग्थ्यो। आधुनिक युगसँगै पानी वितरण प्रणालीको विकास भयो। समयको मागअनुसार घरघरमा पानी संकलन गर्ने चलन आयो। बाक्लो बस्तीमा एकनास पानी वितरण सम्भव भएन। यसैलाई मध्यनजर गर्दै पानी ट्यांकीको प्रयोग बढ्यो। अहिले घरघरमा पानी ट्यांकी अपरिहार्य छ।
जनसंख्या वृद्धिसँगै फैलिदो बस्तीमा पानी ट्यांकीको माग बढिरहेको नेपाल हिलटप इन्डस्ट्रिजका वरिष्ठ मार्केटिङ म्यानेजर विनोद महत बताउँछन्। ‘एउटा घर १÷२ वटा ट्यांकी अनिवार्य जस्तै भइसक्यो’, उनले भने, ‘काकाकुल सहरमा त पानी ट्यांकी आधारभूत साधन कै रूपमा प्रयोग गरिन्छ।’
नेपालमा पौराणिक ग्रन्थमा ट्यांकीको इतिहास खोतल्ने हो भने माटाका भाँडोमा पानीको संकलन गर्ने गरिएको पाइन्छ। यद्यपि, प्रविधिको विकाससँगै ट्यांकीमा पनि फरकफरक प्रविधिको प्रयोग भएको पाइन्छ। कुनै समय जीआइ ट्यांकीको एकाधिकार थियो। ट्यांकीको टिकाउपन र गुणस्तरलाई ध्यानमा राखी प्लास्टिकको पाइपको प्रयोग सुरु भयो। २५ वर्षेदेखि अहिलेसम्म बजारमा प्लास्टिकको ट्यांकीको राज छ।
जीआईको तुलनामा प्लास्टिकका ट्यांकी मजबुत र टिकाउ हुने महतको बुझाइ छ। नेपाली बजारमा प्लास्टिका ट्यांकीको बजार हिस्सा ९० प्रतिशतभन्दा बढी रहेको उनको दाबी छ। बाकी बजार हिस्सा स्टिलका ट्यांकीको रहेको उनले बताए। उनले भने, ‘स्टिलका ट्यांकी अझै गुणस्तरको बन्न नसक्दा प्लास्टिककै ट्यांकीको प्रयोग बढ्दो छ। त्यसमाथि प्लास्टिकका ट्यांकी तुलनात्मकरूपमा सस्तो पनि छ।’
प्लास्टिकको ट्यांकी उत्पादनसँगै खिया लाग्ने ट्यांकीको युगको अन्त्य भएको हिलटेक ट्यांक इन्डस्ट्रिजका अध्यक्ष कमल जैन बताउँछन्। नेपालमा पहिलोपटक प्लास्टिकका ट्यांकी निर्माणको सुरुवात २५ वर्ष अगाडि जिन्टेम्स कम्पनीले गरेको थियो। त्यसको तीनवर्षपछि हिलटेक ट्यांक इन्डस्ट्रिजले आफ्नो व्यावसायिक उत्पादन सुरु गरेको थियो। अहिले बजारमा यसको ठूलो हिस्सा रहेको व्यवसायी स्वीकार्छन्। हाल देशभर करिब ३५ वटा ट्यांकी उद्योग छन्।
ट्यांकीको हेरचाह
ट्यांकी निर्माणमा गुणस्तरीय सामान प्रयोग नगर्ने हो भने यसले पानीको संकट मात्र होइन, घरको सौन्दर्य र संरचनामै असर पुर्याउनसक्ने जैन बताउछँन्। ट्यांकी खरिद गर्दा रंगिन ट्यांकीको प्रयोग सकेसम्म नगर्न उनी सुझाउँछन्। उनले भने, ‘रंगिन ट्यांकीमा अनेक तत्व मिसावट हुनसक्छ। कालो ट्यांकीमा कार्बाेनको मात्रा हुनेभएकाले यसले पानीलाई सुरक्षित राख्न मद्दत पुर्याउछ।’
राम्रो गुणस्तरको ट्यांकीको आयु अधिकतम् ५० वर्षको हुने उनको दाबी छ। ट्यांकीको तौल बढाउन मनपरी तत्वको मिसावट गर्ने कम्पनीका ट्यांकीमा चाँडै चुहिने जस्ता समस्या आउने गरेको उनको भनाइ छ। ‘म दाबीका साथ भन्न सक्छु, हाम्रो उत्पादनमा कुनै मिसावट हुँदैन। ट्यांकीमा अत्यधिक क्याल्सियमको प्रयोग गरेर बनाउदा यसले ट्यांकीको टिकाउपनमा ह्रास ल्याउँछ’, उनले भने। पानीको चाप परीक्षण गरेर मात्र यस्ता सामग्री प्रयोग गर्नुपर्ने उनको सुझाव छ। उपत्यकाका अधिकांश ठाउँमा आइरन, कार्बोनेट जस्ता तत्वको मात्रा बढी हुने भएकाले पाइपमा फोहोर जम्मा हुने र यसले पानी चुहिने समस्या निम्त्याउँछ। त्यसैले समयसमयमा जाँच गराइराख्नुपर्छ।
विचार पुर्याउनुपर्ने अरु कुरा पनि छन। चार/पाँच तले घरको छतमा राखिएको ट्यांकीको पानी मुनिको तलासम्म आइपुग्दा चाप बढी हुन्छ। त्यसैले धारा खोल्दा र बन्द गर्दा होस पुर्याउनु पर्छ। एक्कासी खोल्दा र बन्द गर्दा पाइप जडान गरिएको ठाउँमा चाप परी जडान टुट्न सक्छ। त्यस्तै ट्यांकीमा पानी लगाएर अरु काममा भुलिने सम्भावना पनि उत्तिकै देखिएको छ। ट्यांकीको पानी ’ओभरफ्लो’ हुनुले पनि घरको सौन्दर्यमा समस्या थपिरहेको हुन्छ।
उनी खिया लागेपछि डण्डीको आकार बढ्ने भएकाले घरको भित्ता चर्काउने जोखिम बढाउन सक्ने बताउँछन्। कुरा सानो हो, तर बेलैमा ध्यान नदिने हो भने यसले सुन्दरता मात्र होइन संरचना नै बिगार्छ। बिग्रेपछि मात्र बनाउने बानीले पनि क्षति बढी हुने गर्छ। समस्या देखिहाले तत्काल मर्मत गर्ने कुरा त छँदैछ, बिग्रनुअघि पनि नियमित निरीक्षण गरिरहनुपर्ने प्राविधिकको सुझाव छ। ट्यांकीलाई छोप्दा परैबाट घर सुन्दर देखिन्छ। त्यसको साथसाथै अन्य सामग्री पनि गुणस्तरीय हुनै पर्दछ।
सुरक्षाका लागि सकभर घरभित्रै ट्यांकी नबनाउन सुझाव दिन्छन्। शहरमा तीन–चार आना जग्गामै घर बनाउनुपर्ने बाध्यताका कारण ट्यांकी कसरी राख्ने भन्ने समस्या पनि देखिन सक्छ। किनभने बाहिर ट्यांकी राख्ने ठाउँ नै हुँदैन। तर, यहाँ पनि विकल्प छ। तिवारी तीन/चार आनामा बनाइने घरमा ट्यांकी राख्नुपरे प्राविधिकको सल्लाह आवश्यक पर्ने बताउँछन्। यसरी बनाइएका ट्यांकी जाडो र गर्मीयाममा नियमित परीक्षण गर्नुपर्ने उनी बताउँछन्।
वर्षौं पुराना ट्यांकीमा खिया लाग्दा कतिपयले ध्यान नदिँदा समस्यामा पर्नेगरेका छन्। पानी हो अलिअलि चुहिन्छ भन्ने सोचले पनि काम गरेको हुन्छ। तर, पानीको संकट र यसले घर नै अव्यवस्थित देखाउने कुरामा भने घरमा बस्ने सचेत हुनैपर्ने देखिन्छ। पानी जीवन हो भन्ने तथ्य मनन् गरेर मात्र हुँदैन यसको प्रभावकारी सदुपयोगमा पनि विशेष ख्याल पुर्याउनुपर्ने देखिने व्यवसायीको भनाइ छ।