‘करोट’को चोट

‘करोट’को चोट

काठमाडौं : ३३ किलोे सुनकाण्डको चर्चा उत्कर्षमा छ। यस घटनामा संलग्न तीन जनाले ज्यान गुमाइसकेका छन्, अझै कतिपय थुनामा छन्, कतिपय रिहा हुँदैछन्। सुन अर्थात् धनको अर्को पर्याय, यो देखेपछि महादेवको पनि तीन नेत्र हुन्छ।

गएको शुक्रबारदेखि सर्वनाम थियटरमा थारू भाषाको नाटक ‘करोट’मा यही सुनको कथाले निम्नवर्गीय परिवारमा फाटो भएको कथा देखाइएको छ। सुनिता चौधरी (सोन्या) जेठानी शान्ति चौधरी (गजमोटी)सँग खेतमा काम गर्दा तिलहरी फेला पार्छे। उसले        श्रीमान् इन्द्रबहादुर चौधरी (सुकराम) लाई मात्र आफूले सुन फेला पारेको खुसुक्क भन्छे। सोन्याको श्रीमान्को मनमा पाप पलाउँछ। दाजु दीपक पछलडंग्या (मंग्र्या) लाई भेटाइएको सम्पत्ति बाँड्न नपरे हुन्थ्यो भन्ने योजना बनाउन थाल्छ ऊ। अन्ततः झगडाले उग्ररूप लिएपछि दुई भाइ अलग हुन्छन्। दुई छोराबीच कहिल्यै झगडा नदेखेकी आमा उर्मिला गम्बा थारू (चैनारी) लाई यो घटनाले साहै्र पिरोल्छ। उनी इन्तु न चिन्तु हुन्छिन्।

धनले सानो परिवारमा मात्र होइन, ठूलै परिवारमा पनि फाटो ल्याउँछ। मंग्र्याले घरको आर्थिक अवस्था उकास्न भाइ सुकरामलाई विदेशमा समेत पढाउने सोच बनाइरहेको हुन्छ। किनकि सामान्य खेतीले परिवार नचल्ने उसलाई थाहा हुन्छ। तर भाइ सुकरामको हातमा जुन दिन सुन फेला पर्छ, त्यही दिनदेखि घर भाँड्न निहुँ खोज्न थाल्छ। सुन बेच्न गएपछि नक्कली ठहरिँदा सुकरामको बजारमा घर बनाएर आफू बाइकमा सवार हुँदै छोरालाई बोर्डिङ पढाउने सपना चकनाचुर हुन्छ। उसले नक्कली सुन खोलामा फालिदिन्छ। माछा मार्दा गाउँले महिला भूमिका चौधरी (सोरहिन सन्हली) ले पुनः उही नक्कली तिलहरी फेला पार्छिन्। शायद घरझगडा अब उही महिलाको घरमा सर्छ होला भन्ने संकेत गर्दै नाटक टुंगिन्छ।

आमाको भूमिकामा उर्मिला गम्बा थारूले बेजोड अभिनय गरेकी छिन्। आमाको बिलौना पोख्न उनले मैना गीत गाउँदा होस् या छोराहरू कुस्ती खेल्दाको क्षण उनको रुवाइ निकै कारुणिक छ। त्यसबेला दर्शक पनि रुन थाल्छन्। निरजबाबु चौधरीले पनि 

मौसा र लाहुरेको दोहोरो भूमिकामा न्याय गरेका छन्। नाटकलाई जीवन्त पार्न थारू झुमरा नाचको दृश्यमा उनले बजाएको चट्कौली कला मनमोहक छ। सोन्याले ठरवा (श्रीमान्) घर छुट्टिँदा होस् या जेठाजुसँग झगडा गर्दा होस् या सुन फेला पर्दाको बेला उसको भावभंगीमा अब्बल पात्रको छायाँ देखिन्छ।

यसअघि ‘भुरभुरा रहर’ थारू नाटक तथा त्यही नाटकको कथावस्तुमा उही नामको फिचर फिल्मको क्रियटिभ डाइरेक्टरको भूमिका निभाइसकेका प्रनव आकाशले ‘करोट’ निर्देशन गरेका हुन्। यसको कथा पनि प्रनवकै हो। तर यस नाटकले गैरथारू दर्शकलाई तान्न गाह्रो छ। नाटकका पात्रहरूले ठेट दंगौरा थारू भाषा मात्रै प्रयोग गरेका छन्। थारूहरू पनि पूर्व झापादेखि पश्चिम कञ्चनपुरसम्म अलगअलग बोल्छन्। शायद नाटक नबुझेरै होला सप्तरी घर भएकी भूमिसुधार तथा व्यवस्था राज्यमन्त्री रामकुमारी चौधरी नाटक उद्घाटन मन्तव्य दिएर एकछिन मात्र नाटक हेरेर बाहिरिइन्।

दंगौरा थारूहरूको जनजीवन बुझ्न भने नाटकले सहयोग गर्छ। धान राख्न बनाइएको डेहरी (भकारी)को सेटमा कृष्णजन्माष्टमीको चित्र, मुठाको छाप, त्यही डेहरीलाई कोन्टी (कोठा) को आकारले नाटकमा थारू घरको दृश्यानुभूति गराउँछ। थारू समुदायको नयाँ वर्ष माघीको संघारमा आएको नाटक ‘करोट’ सान्दर्भिक छ। दाङका थारू युवाहरूको समूह ख्याल बगालको प्रस्तुति नाटक २१ पुससम्म मञ्चन हुनेछ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.