प्रविधिले फेरिँदै जीवनशैली
वासिङ मेसिनले व्यस्त जीवनशैलीलाई सहज र व्यवस्थित बनाएको छ। व्यस्त समयका बीच वासिङ मेसिनमा लुगा धुन सकिने भएकाले दैनिक जीवनशैलीसँग गाँसिएको छ।
पछिल्लो समय सहर होस् या गाउँ, आधुनिक जीवनशैलीमा अभ्यस्त हुँदै गएको छ। बजारमा आएका नयाँ प्रविधि र सामानको प्रयोगले दैनिकी सहज र सरल बन्दै गएको छ। सहजतामात्र हैन दैनिक जीवनसँग जोडिएका घरायसी सामानले घरको आकर्षण र मजबुती बढाएको हाँडीगाउँकी बिना केसीले बताइन्। ‘सामान्यतया घरको प्रवेशद्वार, सुत्ने कोठा, पाहुना कक्ष, भान्सा तथा ट्वाइलेटमा राखिएका यस्ता सामग्रीले घरको सुन्दरता बढाएको छ’, उनले भनिन्, ‘भान्सामा किचन सेट, दराज, रेफ्रिजेरेटर, माइक्रो ओभन अनिवार्य भइसके।’
हाल बजारमा टेलिभिजन, वासिङ मेसिन, एयरकन्डिसन भ्याकुम क्लिनर, माइक्रोवेभको माग बढ्दो छ। रेफ्रिजेरेटर, वासिङ मेसिन र भ्याकुम क्लिनर गृहिणीको पहिलो रोजाइमा परेको छ। गर्मीको समयमा सामान्य व्यक्तिदेखि ठूला घरानाका व्यक्तिले समेत उपयुक्त फ्यान र एसी जडान गर्ने गरेका छन्।
केसी भान्सामा प्रयोग हुने मिक्स्चर, पानी तताउन हटपट, कोठा सफा गर्न भ्याकुम क्लिनर, कपडा धुन वासिङ मेसिनसहित ननस्टिकका भाँडाकुडा प्रयोगमा आनन्द आउने बताउँछिन्। सामान्य भाँडाकुडा प्रयोग गर्र्दा किचनमा पस्नै गाह्रो मान्ने केसी ननस्टिकका भाँडाकुडा प्रयोग गरेर खाना बनाउँदा सजिलो भएको भन्दै दंग छन्। ‘तरकारी डढ्दैन, खाना पकाउँदै काम गर्न सहज भएको छ’, उनले भनिन्।
कपडा धुन वासिङ मेसिन छ, भात राइस कुकुरमा पाक्छ, तरकारी दैनिक पकाउनु पर्दैन, फ्रिजमा राखेको खाना तताएर खान माइक्रो ओभन छ। पानी तताउन इलेक्ट्रिक जग र कित्ली पनि छ। सोलार जडानले धारामा तातोपानी आउँछ। ‘विद्युतीय सामग्रीले भातभान्सा यति सजिलो भएको छ’, कालिमाटीकी शारदा शाह सुनाउँछिन्’, भान्सामा पाक्दै गर्दा छोराको होमवर्क हेर्दिन भ्याइन्छ।’
विद्युतीय सामग्रीको प्रयोग नहुँदा किचनमै घण्टौं लाग्ने र खाना बनाउन भनेपछि निकै अल्छी मान्ने शाहको दैनिकी पछिल्लो एक दशकदेखि सहज बन्दै गएको छ। भान्सामा प्रयोग हुने विद्युतीय सामग्रीले भान्सा क्रान्ति नै गरेको उनले सुनाइन्। रेफ्रिजेरेटरले व्यस्त जीवनशैलीलाई थप सरल बनाएको छ। रेफ्रिजेरेटरमा खाना, फलपूmललगायत भान्सामा प्रयोग हुने सामग्री राख्दा नसड्ने भएका कारण पनि यसको प्रयोग बढेको हो। गर्मीमा चिसो पानी पिउनेदेखि आइसक्रिम बनाएर खानेका लागि पनि रेफ्रिजेरेटर आवश्यक छ।
आधुनिक हिटरमा झुम्मिएको नेपाली समाज विस्तारै एसीतर्फ केन्द्रित हुँदै गएको छ। अहिले बजारमा एसीको प्रयोग पनि बढ्दो छ। पछिल्लो समय निजी घरमा समेत एसी राख्ने चलन बढेको छ। तातो र चिसोका लागि सजिलो विकल्पका रूपमा एसीलाई लिन थालिएको छ। बजारमा आवासीयका लागि ४५ हजारदेखि साढे दुई लाखसम्मका विभिन्न ब्रान्डका एसी पाइने ‘किई कन्सेट’ नेपाल प्रालिका बजार प्रबन्धक मुकेश महर्जनले बताए। त्यस्तै व्यापारिक प्रतिष्ठानमा पाँच लाखदेखि माथिका आवश्यकता अनुसार एसी बजार पाइन्छ। साढे तीन किलोवाटको एसीले काठमाडौंमा १७० स्क्वायर फिट र तराईमा १५० स्वायर फिटको कोठालाई वातावरण अनुकूलित बनाउने मजर्हनले बताए।
जाडोमा सबैको समस्या हो चिसो पानी। पानी तताउने प्रविधिका कारण पछिल्लो समय जाडोमा जीवनस्तर सहज हुन थालेको छ। तातो पानीका लागि सबैभन्दा बढी इलेक्ट्रिक्स किट्लीको प्रयोग हुने गर्छ। एकदेखि पाँच लिटरसम्मका किट्ली अहिले बजारमा सबैको आकर्षणमा पर्ने गरेका छन्।
पिउने पानीका लागि किट्लीसँगै नुहाउने कामका लागि गिजर र सोलारको प्रयोग पनि अहिले बढ्दै गएको छ। सरकारले विद्युत्को विकल्पका रूपमा सौर्य ऊर्जाको प्रयोगमा जोड दिएका कारण मात्र होइन, सञ्चालन लागत शून्य भएकाले पनि सोलारको प्रयोग बढेको हो।
वासिङ मेसिनले व्यस्त जीवनशैलीलाई सहज र व्यवस्थित बनाएको छ। व्यस्त समयको बीचमा पनि वासिङ मेसिनमा लुगा धुन सकिने भएकाले दैनिक जीवनशैलीसँग गाँसिएको छ। अनामनगरको भाटभटेनी सुपर मार्केटमा भेटिएकी बानेश्वरकी शारदा कुँवर जाडो बढ्दै जाँदा ब्रान्डेड वासिङ मेसिनको खोज्दै त्यहाँ पुगेकी हुन्। कपडा धोएर निचोर्न नसकेपछि नयाँ मोडेलको कपडा निचोर्न नपर्ने मेसिन खोज्दै कुँवर त्यहाँ पुगेकी हुन्।
महाराजगञ्जका रमेश थापा जनवरीमा हुने एसिया कप फूटबल र मार्चमा हुने इन्डियन प्रिमियम लिग हेर्न ठूलो पर्दाको टेलिफिजन खोज्दै दरवार मार्ग पुगेको भेटियो। विशेष गरी पछिल्लो समय युवा पुस्ताले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकूद हेर्न समेत ठूला स्क्रिनका टेलिभिजन किन्ने गरेका छन्। त्यतिमात्रै होइन बालबालिकालाई कार्टुनदेखि गृहिणीलाई सिरियल हेर्नसम्म ठूला स्क्रिनका टेलिभिजन रोज्ने पनि बजारमा प्रशस्तै छन्।
मोबाइल पछिल्लो पुस्ताको लागिमात्र नभइ सबैको दिनचर्या बनिसकेको छ। युवापुस्ताले ब्रान्डेड मोबाइल बोक्ने बाक्लै छन्। २१ औं शताब्दीका मानिसको जीवनमा स्मार्टफोन अभिन्न अंगका रूपमा साबित भएको हुवावे मोबाइलकी असिस्टेन्ट म्यानेजर प्रनिशा श्रेष्ठ बताउँछिन्। मानिसको दैनिक जीवनयापनमा काम लाग्ने फिचरहरु भएका स्मार्टफोन बजारमा पाइने श्रेष्ठले बताइन्।
घरमा सजावटका विभिन्न सामग्रीदेखि झ्यालमा प्रयोग गरिने पर्दाले समेत घरको सुन्दरता थप बढाउँछ। घरमा राखिने फर्निचरमा समेत आकर्षण बढ्दै गएको नेपाल फर्निचर तथा फर्निसिङ संघका उपाध्यक्ष सुवेन्द्र जोशी बताउँछन्। ‘अन्य घरको डेकोरेसनभन्दा फरक देखिन धेरैले फरक डिजाइनका फर्निचर रोज्ने गरेका छन्’, उनले भने। यति मात्रै नभएर कोठामा ओछ्याउने कार्पेटमा समेत नौलोपन खोज्ने गरेको भेटिन्छ।
नेपाली समाज अत्याधुनिक प्रविधि प्रयोगमा अभ्यस्त बन्दै गएको मात्र छैन, विश्वमा नाम चलेका र लोकप्रिय प्रोडक्टको राम्रो व्यापार हुने ‘हब’का रूपमा विकास भएको छ। बजारमा पाइने सामग्री पनि यस्तै गृहिणीलाई आकर्षण गर्ने गरी आइरहेको होम ग्लोरीले जानकारी दिएको छ।पछिल्लो समय नेपालभरि नै उपलब्ध हुन थालेका ब्रान्डेड यस्ता सामग्रीले वारेन्टीसहित बजार विस्तार गरिरहेका छन्। आधुनिक सामग्री र सहजता हुने भएकाले यसको प्रयोग बढ्दै गएको छ। पछिल्लो समय नेपालमा वार्षिक करिब दुई अर्ब रुपैयाँसम्मको यस्ता विद्युतीय सामग्रीको कारोबार हुने गरेको व्यवसायीको भनाइ छ।
नेपाली बजारमा अहिले फिलिप्स, सीजी, एलजी, भिडियोकन, यासुदा, गोदरेज, वर्लपूल, सार्प, फोर्स, क्याल्भिनेटर, बेको, सामसुङ, ओनिडा, हिमस्टारलगायत ब्रान्डका होम अप्लायन्सका सामान पाइन्छन्। उपभोक्ताले छानीछानी किन्न पाइने यस्ता सामान पछिल्लो समय सहरमा मात्रै नभएर ग्रामीण भेगसम्म नै प्रयोग हुन थालिसकेको छ। पछिल्लो समय लोडसेडिङ हुन छाडेपछि नै विद्युतीय सामग्रीमा उपभोक्ताको रुचि बढिहरेको पनि सम्बन्धित कम्पनीको भनाइ छ।
सहरी क्षेत्रका मानिस कामकाजमा बढी व्यस्त हुन थालेकाले यस्ता सामग्रीको प्रयोगबाट दैनिकी सहज सहज बनाउन चाहन्छन् भने ग्रामीण क्षेत्रमा पनि पछिल्लो समय रेमिट्यान्सका कारण होम अप्लायन्सको प्रयोग बढ्दै गएको छ। चाडपर्वमा अफर आउने भएकाले र नेपालीको चाडवाड लक्षित सपिङ हुने गरेको छ। अन्य घरायसी प्रयोगको टीभी, मोबाइल, कम्प्युटर, आईप्याड, स्टोभ, इलेक्ट्रिक जग, ओभन, मिक्स्चर, बिजुलीका सामग्री भने जतिबेला आवश्यक पर्छ त्यति नै बेला खरिद बिक्री हुने महाबौद्धका इलेक्ट्रिक व्यापारी हरि ढकालले बताए।
पछिल्लो समय घरायसी सामग्रीका विद्युतीय सामानमा उपभोक्ताले ब्रान्ड खोज्ने गरेका छन्। टिकाउ, वारेन्टी भएको, राम्रो समान चाहियो भन्ने ग्राहकको संख्या उल्लेख्य रहेको चाइना टाउनकी व्यापारी सुष्मा महर्जनले बताइन्। उनका अनुसार कतिपय ग्राहक सस्तो खोज्दै आउँछन् भने कतिपय नाम लिएर ब्रान्डेड नै चाहियो भन्छन्। प्रयोगको हिसाबले ब्रान्डेड सामग्री खोजिनु सकारात्मक हो। हाल बजारमा करिब एक दर्जन ब्रान्डका यस्ता विद्युतीय सामग्री चलनचल्तीमा छन्।
पहिले असीमित आवश्यकता पूरा गर्न सीमित साधन स्रोतको प्रयोग हुने गथ्र्याे। प्रतिस्पर्धात्मक बजारका कारण भान्साका सामग्रीका लागि सीमित आवश्यकता पूरा गर्न असीमित स्रोत र साधान बजारमा पाइन्छ।