कथा सुनाउने पर्व ‘पुसे १५’

अछाम : आपसमा जम्मा भएर कथा, गाउँखाने कथा सुन्ने/सुनाउने पर्वका रूपमा लिइने ‘पुसे १५’ पर्व आज अछाममा धुमधामसाथ मनाइँदै छ। यस पर्वमा दिनमा भन्दा राति एक ठाउँमा भेला भएर गरिने गतिविधिलाई विशेष महत्त्वका रूपमा हेर्ने गरिन्छ।
यो पर्वमा टोल छिमेकको एक घरमा भेला भई आगो तापेर रातभर जाग्राम बस्ने, जाग्राम बसेका बेला विशेषगरी चामलको पिठोबाट बनेको ढुकढुके रोटी तरुल, पिंडालु, सखरखण्डलगायत कन्दमूलका साथै पाकेको फर्सी उसिनेर खाने प्रचलन रहेको साँफेबगर नगरपालिका–३ प्रभा धम्कोटका पूर्वप्रधानाध्यापक एवं जानकार कुलबहादुर कुँवरले बताए।
‘अन्य चाडपर्वजस्तै आजको दिनलाई पनि हामीले विशेष रूपमा मनाउँदै आएका छौं’, उनले भने, ‘१५ गतेको बेलुकी प्रत्येकको घरमा चामलको पिठोको ढुकढुके रोटी पाक्छ। टोल–टोलमा सामूहिक रूपमा पनि पकाउने गरिन्छ र रातभर त्यही रोटी खाएर वृद्धवृद्धाबाट लोक कथा एवं दन्त्य कथा, गाउँखाने कथा सुन्ने/सुनाउने प्रचलन छ। पहिले रातभर जाग्राम बस्ने प्रचलन रहे पनि उक्त प्रचलन विस्तारै हराउँदै गएको उनले सुनाए। डोटेली लोक संस्कृतिको मौलिक पहिचान बोकेको यो पर्वलाई पुस १५ गतेको रात वर्षभरिकै सबैभन्दा लामो रात भएको विश्वासमा मनाउने गरिएको कुवँरले बताए।
विशेष गरी केटीहरू मिलेर एउटै ठाउँमा जम्मा भई ढुकढुके रोटी पकाउने र इष्टमित्रका केटाहरू वा भिनाजुलाई निमन्त्रणा दिई उनीहरूसँगै रोटी खाँदै न्याउले खेलेर, गीत, कथा सुन्ने÷सुनाउने गरी रमाइलोसाथ रात बिताउने चलन रहेको चौरपाटी गाउँपालिका–६ दुनीकी एन्जिला साउदले बताइन्।
पर्वमा विवाहिता छोरीचेलीलाई घरमा आमन्त्रण गरी स्वागत–सत्कार गरिन्छ। २२ डिसेम्बरलाई विश्वभरि सबैभन्दा छोटो दिन भनिए पनि नेपाली समाजमा पुस १५ लाई छोटो दिन मान्ने गरिन्छ। १५ पुसदेखि दिन विस्तारै लम्बिँदै जाने र असार १५ मा वर्षकै ठूलो दिन मानिन्छ।
प्रतिक्रिया दिनुहोस !
