चिसो सिरेटो छल्दै ‘हिमाली नेपाली’
दमौली : कुहिरो उत्पत्ति भएको मानुङडाँडाको काखैमा भएर होला दमौलीमा दिउँसो पनि घाम कम लाग्छ, त्यसमाथि राति, त्यो पनि मध्य पुसको समय। सोमबार राति सिरेटो चल्न थालिसकेको थियो। अंग्रेजी नयाँ वर्ष मनाउन दार्जिलिङको चर्चित सांगीतिक समूह ‘मन्त्र’ दमौली झर्ने खबर पाएपछि दमौली मात्र नभएर आसपासबाट पनि ठूलो संख्यामा फ्यान अनशन चौतारा अगाडिको खुला मैदानमा भेला भएका थिए। दिउँसैबाट सांगीतिक कार्यक्रम चले पनि धेरैको प्रतीक्षा मन्त्र नै थियो। राति अबेर हुन लाग्दा पनि मन्त्र नभित्रिँदा धेरैको व्यग्रता बढिरहेको थियो।
नयाँ वर्ष महोत्सव कार्यक्रममा पौने ११ बजे मञ्चमा उत्रिएको ब्यान्डले नेपाली र भारतका नेपालीभाषी माझ पनि चलेको ‘हिमाली नेपाली’ गाउँदा दर्शकको ठूलो समूहले हुटिङ गर्दै नाचेको थियो। भोकलिस्ट भास्कर देवानले दर्शकलाई नाचेर साथ दिन आग्रह गरे पछि त झन् के बालक के प्रौढ सबैले साथ दिए।
हिमाली नेपालीपछि सर्वाधिक चलेको संस्कृति, वीर गोर्खालीलगायतका आधा दर्जन गीत पस्किएको थियो। कन्सर्टकै क्रममा १२ बजेपछि नयाँ वर्षलाई स्वागत गरेपछि पनि प्रस्तुति रोकिएन। साढे १२ बज्न लाग्दा ब्यान्डले ‘वान्स मोर’ पाएको हिमाली नेपाली गाएर बिट मार्नैै लागेको थियो। अझै नअघाएका दर्शकले फेरि हुटिङ गरे। दर्शकको अगाडि ब्यान्ड पग्लिहाल्यो। भोकलिस्ट भास्करले ‘सधैं आइरहन्छ तिम्रो यादहरू’ गाए। गीतमा दर्शकले बत्ती बालेर नाच्दा दमौली अनशन चौतारी र वरपरको माहोल नै बेग्लै देखिएको थियो।
कार्यक्रममा मन्त्रअघि स्थानीय कलाकारहरू नवराज थापा, ईश्वर परियार तथा ब्यान्डहरूले प्रस्तुति दिएका थिए। यसैगरी लोकगायिका शोभा त्रिपाठी, पपगायिका माण्डवी त्रिपाठीले आफ्नो प्रस्तुतिमार्फत दर्शकलाई मनोरञ्जन दिएका थिए। कार्यक्रममा दर्शकको माया र साथका कारण भव्य भएको आयोजक लायन्य क्लब अफ तनहुँ दमौलीका अध्यक्ष राजकुमार श्रेष्ठ ‘राकु’ ले बताए। क्लबका सचिव विपिन श्रेष्ठले नसोचेको दर्शक आएको प्रतिक्रिया दिए।