सेवा लिन खुइय्य !

‘१५ हजार दिनुस्। आजै काम बन्छ।’ लेखा अधिकृतको आदेशअनुसार लेखापढी व्यवसायीले सेवाग्राहीसँग सिधै पैसा मागे। सेवाग्राहीले पैसा दिन मानेनन्। काम नबनेपछि व्यवसायी अधिकृतको नजिक गइ कानेखुसी गर्न थाले। ती व्यवसायी एकैछिनमा फेरि सेवाग्राही भएको ठाउँमा गए। १५ सयमा बन्ने कामको लागि १५ हजार तिर्न नसकिने भन्दै सेवाग्राही बाहिरिए। आइतबार अपरान्ह ४:१० बजे भक्तपुर मालपोत कार्यालयको भुँई तलामा देखिएको दृश्य हो यो।
विहान १२ बजे। कार्यालयमा भिड थियो। सेवाग्राही फाइल बोकेर दौडिरहेका थिए। व्यस्त समयमा खरदार चित्रप्रसाद खतिवडा भने पटकपटक कार्यकक्ष छाडेर कार्यालय परिसरमा निस्किरहे। एकजना चस्मा लगाएका व्यक्ति उनको प्रतिक्षामा थिए। उनी बेलाबेला ती व्यक्तिसँग सुस्तरी कुरा गर्थे। खतिवडा भन्थे, ‘कति फिटको बाटो छ ? ’ ती व्यक्ति सुस्तरी कुरा गर्थे। एकछिन कुरा गरेर खरदार खतिवडा कार्यालय भित्र छिरे। चस्मा लगाएका व्यक्ति उनलाई पर्खिरहे।
करिब २ घन्टापछि फेरि खतिवडा बाहिर आए। फेरि सुरु भयो दुईजनाको खासखुस। खतिवडाले भने, ‘बाटो काटेर मिलाउदा १२ सम्म त हुन्छ होला।’ ती व्यक्तिले अनविज्ञता जनाए। अन्तमा ती व्यक्ति खतिवडाको फोन नम्बर लिएर बाहिरिए।
दिउँसो १२:३० बजे। ५० कटे जस्ता देखिने एक व्यक्ति कार्यालयभित्रबाट ठूल्ठूलो स्वरमा हल्ला गर्दै बाहिर निस्किए। उनी कसैलाई गाली गदै थिए। भन्दै थिए, ‘म अहिले सारा समाजको अगाडि उभिएर बोलिरहेछु। थाहै नदिइ जग्गा पास गर्ने ? खै मेरो ५ प्रतिशत कमिसन ? ’ गेटमा उभिएर रिसाउदै फोनमा कुरा गरिरहे। त्यसपछि सडकमा पुगेर फोनबाटै थर्काइरहे। उनी भन्दै थिए, ‘तेरो घर नदेखेको हो र ? म त्यहीँ आउँछु।’ कमिसन पाउने आशामा उनले जग्गा मिलाइ दिएछन्। तर जग्गा लिने र दिनेले उनैलाई पत्तै नदिइ पास गरेपछि ती उनी क्रुद्ध भए। उनले पाउने २ लाख कमिसन पाएनन्। ‘बैना लिने बेलै आफ्नो भाग लिनु पथ्र्यो नी। अब कराएर केही हुन्छ।’ उनको कुरा सुनिरहेका एकजनाले सान्त्वना दिँदै सुझाए।
केही कर्मचारी बिहान सातै बजे कार्यालय पुगि सक्छन्। एक सेवाग्राही बिहानै कर्मचारी कार्यालय पुग्नुलाई शंका गर्छन्। उनी भन्छन्, ‘विहान पैसाको चलखेल हुन्छ। त्यही भएर बिहानै आएका हुन्। हाम्रो काम गर्न आएका हुन् र ? ’ तर, मालपोत कार्यालयका प्रमुख ध्रुवप्रसाद कोइराला कामको चापले कर्मचारीहरु विहानै कार्यालय आउने गरेको बताउँछन्। भन्छन्, ‘अघिल्लो दिन थालेको काम टुंग्याएर सेवाग्राहीलाई सेवा दिन आएका हुन्।’ तर बिहानैदेखि काम गर्ने कर्मचारीको लागि कार्यालयबाट कुनै विशेष सुविधा नभएको उनी बताउँछन्। कर्मचारीको निजी जिन्दगी हुने तर कामप्रतिको जिम्मेवारीले गर्दा बिहानैबाट खट्नु परेको उनको भनाइ छ।
कर्मचारी पुगेपछि लेखापढी व्यवसायी सल्बलाउँन थाल्छन्। कार्यालय परिसर वरपर खुलेका बग्रेल्ती लेखापढी व्यवसायीका कार्यालयहरु सँगसँगै खुल्छन्। उनीहरु दिनभर कार्यालय परिसर घुमिरहन्छन्। अन्त जस्तो बाटो रोकेर सेवाग्राहीलाई लैजाने अवस्था भने देखिएन। सेवाग्राही उनकै अफिसमा पुग्छन्। अनि सुरु हुन्छ युवती व्यवसायीको काम।
अठार÷बिस वर्षका जस्ता देखिने युवतीहरु फाइल बोकेर निस्कन्छन्। उनीहरुको बाक्लो चहलपहल सुरु हुन्छ। उनीहरु कसैले लेखापढी व्यवसायीको परिचय भिरेका हुँदैनन्। उनीहरु हाँस्दै, जिस्किँदै कार्यालयको भर्याङ तलमाथि गरिहन्छन्। कर्मचारीको कार्यकक्ष पुग्छन् अनि मुस्कुराउँदै भन्छन्, ‘हाइ सर...।’ अरुको भन्दा अगाडि हुन्छ उनीहरुको काम। एक लेखापढी व्यवसायी भन्छन्, ‘केटीहरु मस्किएर बोलेपछि कर्मचारीले काम छिटो गरिदिन्छन्। त्यसले उनीहरुलाई राखेका हौं।’
इन्टरनेटले सास्ती
कार्यालयका भित्ताहरुमा टाँसिएको छ सुचना– कार्यालयको काम अब अनलाइनबाट। तर सर्भरले काम नगर्दा सेवाग्राहीले झनै सास्ती भोग्नु परेको छ। समस्याको चाँङमा थपिएको छ इन्टरनेट। इन्टरनेट सिस्टममा गएपछि सेवाग्राहीको काम छिटो हुनुपर्नेमा उल्टै सास्ती खेपिरहेका छन्। इन्टरनेट ‘डाउन’ भएकाले काम नभएको एक कर्मचारीले बताए। कोठामा सेवाग्राहीको भीड बाक्लिन थाल्यो। तर कम्प्युटर बन्द गर्दै एक कर्मचारी भन्दै थिए, ‘इन्टरनेटले काम गरेको छैन। भोली आउनुस् भोली।’ निरास हुँदै एक सेवाग्राहीले भने, ‘जस्तो कर्मचारी, उस्तै इन्टरनेट।’
भक्तपुर झौखेलका बिशम बहादुर भन्छन्, ‘ श्रेस्ता उतार्न पनि आज दिउँसभरी लाग्यो। जतिबेला पनि इन्टरनेट छैन भन्छन्। अल्छि गरेर छैन भनेको हो कि साँच्चै हो कि ! केही थाहा छैन।’ तर कार्यालय प्रमुख सापकोटा इन्टरनेटको समस्या हल गर्न नसकिने बताउँछन्। जिआइडिसी (गोभमेन्ट इन्टरग्रेटेड डाटा सेन्टर) सफ्टवयरको ब्याकअप सिंहदरबारमा राखिएको उनले बताए। उनले भने, ‘यो हाम्रो समस्या होइन। सिंहदरबारभित्र नेट स्लो हुँदा यहाँ पनि हुन्छ। त्यहाँ फास्ट हुँदा यहाँ पनि हुन्छ।’
२०२ नम्बर कोठा। यो फोटो खिच्ने ठाउँ हो। यहाँ करिब सयजना सेवाग्राही कोठामा कोचिएका छन्। कतैबाट हावा आउँदैन। पसिना गन्हाएको छ उस्तै। अगाडि ८÷१० जना कर्मचारी कम्प्युटरमा काम गरिरहेका छन्। झ्यालको माथि बत्ती राखिएको छ। टोकन सिस्टम छैन। डिजिटल बोर्ड माथि टाँसिएको छ। तर बन्द छ। कर्मचारी बेलाबेलामा भन्छन्, ‘नेट स्लो छ। एकछिन पर्खनुस्।’ फेरि एकछिनपछि अर्का कर्मचारीले भने, ‘आज नेट चलिरा छैन भोलि आउनु।’
त्यही कोठामा १० मिनेटभित्र बस्दा गुम्सिएर सास फेर्न गाह्रो हुन्छ। पुषको जाडोमा १० मिनेटभित्र बस्दा गर्मी हुन्छ। टाउको दुखेर रिंगटा लाग्छ। ३ बजे त्यहाँ पुग्दा बच्चा रोइरहेका थिए। एकजना १०÷१२ वर्षका बालक कुनामा निधाइरहेका थिए। कोही सेवाग्राही ढोकाबाहिर उँगिरहेका थिए। बुढाबुढी बच्चाबच्ची भिडमा कोचिएकै थिए। एकजना सेवाग्राही दिक्क मान्दै भन्दै थिए, ‘यो त सामान्य हो। सोमबार र बुधबार यहाँ खुट्टा राख्ने ठाउँ हुन्न।’
ढोका छेउतिर आइपुग्दा ट्वाइलेट ह्वास्स गनाउँछ। त्यो गन्ध बेलाबेलामा ढोकाभित्र पस्छ। त्यो गन्धले झनै वातावरण विग्रन्छ। कुनै पनि काम छिटो भइरहेको थिएन। सेवाग्राहीहरु निरास थिए। बिहानै आएका सेवाग्राही बेलुकीसम्म पनि परिसरमै रिंगीरहेका थिए। भिड, कोलाहल र दौडधुप थियो। घुँइचो र हल्लि खल्लीले कार्यालय अस्तव्यस्त देखिन्थ्यो। एक सेवाग्राही नेवारी भाषामा भन्दै थिए, ‘थनला बिस्केट जात्रा थेँ चोँ।’ (यहाँ त बिस्केट जात्रा लागे जस्तो पो छ त।)
सिसि क्यामेराको निगरानी
मालपोत कार्यालयको देब्रे पट्टी छ, नापी विभाग। मालपोतमा भन्दा भिड कम छ। नापी विभागका प्रमुख अधिकृत ज्ञानेन्द्रकुमार विष्टको कार्यकक्षमा सिसि क्यामेराको मोनिटर राखिएको छ। कार्यालयभित्रको निगनारी उनकै कार्याकक्षबाट भइरहेको थियो। मोनिटरमा कार्यालय भित्रको गविविधि सबै देखिन्थ्यो। तर मोनिटर नियाल्ने कोही थिएन। १०:४५ बजेदेखि ३ बजेसम्म कार्यालय प्रमुख कार्यकक्षमा देखिएनन्।
मालपोतको कोठा नम्बर ७ मा सर्भेक्षक अर्जुन थापा व्यस्त थिए। झ्यालबाट एक व्यक्ति निकै बेरदेखि उनीसँग गफिरहेका थिए। जाँदा जाँदै उनले भने, ‘भोलि आउँदा सरलाई एक प्याकेट ग्रिन टी लिएर आउँछु।’
अस्तव्यस्त पार्किङ
पार्किङस्थल अन्डरग्राउण्ड तोकिएको छ। तर कार्यालय प्रमुख कोइरालाको गाडी सेवाग्राहीलाई हिँड्न अप्ठेरो हुने गरी गेट छेउमै पार्किङ गरिएको छ। अन्डरग्राउण्डमा कर्मचारी र लेखापढी व्यवसायीका सवारीसाधन पार्किङ गरिएका छन्। कतिपय परिसर वरपर अव्यवस्थित पार्किङ गरिएका छन्।
कार्यालय परिसर बाहिर लेखापढी व्यवसायीका सटरहरु जताजतै देखिन्छन्। नेपाल लेखापढि कानुन व्यवसायी एसोसियनका भक्तपुर शाखाका अध्यक्ष राजेन्द्रकुमार दाहाल करिब १ हजार लेखापढी व्यवसायी रहेको बताउँछन्। जसमध्ये २५ प्रतिशतले लाइसेन्स नलिएको हुनसक्ने उनी बताउँछन्। कुनै पनि व्यवसायीले देखिने गरी कार्ड भिरेका छैनन्। कुन व्यवसायी कुन, सेवाग्राही, कुन बिचौलिया कोही पनि चिनिदैन।
मालपोत र नापी विभागको वरपर यत्रतत्र छन् लेखापढी व्यवसायीका कार्यालय। कुनै पनि व्यवसायीले आधिकारिक प्रमाणपत्र अफिसमा राखेका छैनन्। प्राय सेवाग्राही काम लिएर सिधै कार्यालय आउँदैनन्। सेवाग्राही सिधै सरकारको कार्यालयसँग जोडिन पुग्दैनन्। घरजग्गा कारोबार गर्दा प्राय: सेवाग्राही पहिला ‘दलाल’को फन्दामा पर्छन्। त्यसपछि लेखापढीको कार्यालय पुग्छन्। तिनै लेखापढी व्यवसायीको पछिपछि सेवाग्राही दिनभर घुम्छन्। एक सेवाग्राही भन्दै थिए, ‘सिधै कार्यालय गयौं भने अलमल भइन्छ।’ एसोसियन भक्तपुरका अध्यक्ष दाहाल सेवाग्राहीलाई सहयोग गर्ने मुख्य उदेश्य व्यवसायीको भएको बताउँछन्।
अड्डादेखी असन्तुष्ट
चाँगुनारायण घर भएका दिपकबहादुर दिउँसभरीजसो मालपोत कार्यालयमै भेटिए। ८४ वर्षीया दिपकबहादुर जग्गाको काम लिएर आइपुगेका थिए। भन्छन्, ‘यो मालपोत, यातायात, अदालत जस्तो ठाउँमा त कहिले जानु नपरोस्। कामै बन्दैन। दिमाग खराब हुन्छ।’
मालपोतको बडापत्र राखिएको अघिल्तीर कुर्सीमा बसेका छन् उनी। १२ बजेको छ। बडापत्रलाई नियाल्दै उनी भन्छन्, ‘बडापत्रमा यस्तोयस्तो काम हुन्छ भनेर लेखिएको छ। तर कर्मचारीले कामै गरि दिदैनन्। हाम्रो जमानामा यस्तो हुँदैन थियो।’ बडापत्रकै एकछेउमा भ्रष्टचारबिरुद्धको स्टिगर टाँसिएको छ। भ्रष्टचार गर्न नहुने बताइएपनि कर्मचारीहरु पैसा बिना ‘डेक’ नचल्ने बताउँछन् उनी। भन्छन्, ‘जतिसुकै प्रक्रिया पुर्याएपनि काम छिटो हुँदै हुँदैन। उनीहरुलाई कि पैसा चाहिन्छ, कि उनीहरुको आफन्त हुनुपर्छ।’
दिपकबहादुर कुनै समय अड्डामा काम गरेको बताउँछन्। आजभोलि अड्डामा काम गर्नेहरुले फट्याँई गर्ने गरेको उनको ठम्याइ छ। भन्छन्, ‘हाम्रा पालामा सेवाग्राहीले कतै हिँड्दा चिने भने गाडिभाडा तिरिदिन्थे। सुपाडि दिन्थे। हिजोआजका कर्मचारी त लाजै नभइ सेवाग्राहीसँग पैसा माग्छन्। आम्मामा....। कस्तो जमाना आयो।’
दिपक बहादुरमात्र हैन, ६ वर्षदेखि हालसाविक गराउन आएका भक्तपुर नेकोशेराका एक सेवाग्राही समेत भेटिए। दर्जनौं पटक धाउँदा पनि काम नबनेको पछि उनी निरास थिए। उनले भने, ‘२०६९ सालदेखि हालसाविक गराउनु यहाँ धाइरहेको छु। अझै काम बनेको छैन।’ ६ वर्षसम्म धाउँदा सरकारी कार्यालयप्रति उनको एउटै निष्कर्ष छ– सरकारी अड्डाहरु भ्रष्ट भए। भन्छन्, ‘मालपोतका कर्मचारीहरु काम भन्दा पहिला दाम खोज्छन्।’ अड्डा सुध्रिए देश सुध्रिने उनको ठहर छ। भन्छन्, ‘अड्डा नसुधारेसम्म देश सुध्रिँदैन।’
सेवाग्राही पनि कम्ता छैनन्
मालपोत कार्यालय। ‘ल्याप्चे’को प्रयोग अत्यधिक हुने ठाउँ। कार्यालयले ल्याप्चे लगाएपछि मसी पुछ्ने ठाउँको व्यवस्था गरिदिएको छ। ठाउँठाउँमा पुछ्ने बोर्ड झुण्ड्याइएको छ। बोर्डको माथि ‘मसि पुछ्ने ठाउँ’ भनेर सुचना टाँसिएको छ। तर, सेवाग्राहीले मसि पुछ्न बोर्डको प्रयोग गर्दैनन्। जथाभावी बुढी औँला दल्दा कार्यालयको भित्ता हेरिनसक्नु बनेको छ। जथाभावी मसीको टाटैटाटा। कालो मसिले भित्तालाई कुरुप बनाएको छ। कार्यालयभरीकै अवस्था उस्तै छ।
सेवाग्राहीको हर्कत देखाउने अर्को उदाहरण कार्यालयको गेट छेउमै भेटिन्छन्। गेटपार गरेर कार्यालयभित्र छिर्ने बित्तिकै प्लाष्टिकको बोतललाई काटेर सामान राख्ने ठाउँ बनाइएको छ। बोतलमा लेखिएको छ, ‘तपाइले भेट्नु भएको नागरिकता, लालपुर्जा, चाबी आदी सामाग्रीहरु यसभित्र राखिदिनुहोला।’ तर भित्र देखिन्छ गुट्खाको खोल, रिचार्ज गरिसकेको कार्ड र च्यातिएका कागजका टुक्राहरु।
कार्यालयको कुनामा जथाभावी गुड्खा खाएर थुकिएका छन्। गुट्खा खाँदै कागज बोकेर यताउता दौडिरहेका सेवाग्राहीहरु कुना पारेर थुक्थे। भित्रामा गुट्खाको टाटो जथाभावी देखिन्थ्यो।
कार्यालय प्रमुख कोइरालाले भक्तपुर मातपोत कार्यालयको धुमिलिएको छवी संग्याउन काम गर्ने प्रयास गर्ने बताए। ‘कार्यालय सुधार्न सबैको साथ र सहयोग आवश्यक छ,’ उनले भने, ‘अड्डाप्रति आम सर्वसाधारणको गलत धारणा सुधारेर सुशासनको अनुभूत गराउने छु।’
प्रतिक्रिया दिनुहोस !
