जंगल कसरी जोगाउने ?
राजनीतिक संरक्षणमा हुने वनतस्करी नरोक्दासम्म वनजंगल मासिने क्रम रोकिने छैन
आधुनिकतातर्फ प्रवेश गरेको भनेर जतिसुकै भने पनि हाम्रो देश अहिले पनि कृषिप्रधान नै हो। अहिले पनि बहुसंख्यक जनता कृषि पेसा गरिबसेका छन्। वनले कृषिलाई ठूलो सहयोग गरेको हुन्छ। वनभित्रका पातपतिंगर सडेर मल बन्छ।
सन् १९६० पूर्व नेपालमा पचास प्रतिशत वन क्षेत्र थियो। त्यतिबेला जंगल विनाशको क्रम आजजस्तो बढेको थिएन। राज्यस्रोतको दोहन गरे पनि राणाहरू जंगल संरक्षणमा केही हदसम्म सकारात्मक थिए। उनीहरू विजय सालजस्तो रूख काटे दण्ड दिन्थे। रूख काट्दा रगतजस्तो चोप आउने भएकाले काट्न नहुने उनीहरूको मान्यता थियो। त्यस्तै राजधानी भरी ठूलाठूला रूख थिए। बाटो, सडक र घर बनाउने नाममा ती सबै मासिए।
जंगल विनाश गर्ने यो क्रम पञ्चायतकालबाट सुरु भएको हो। बस्ती विकास र जग्गा वितरणको नाममा पञ्चायतमा जंगल मास्न सुरु गरियो। त्यस्तै झोडा वितरणको नाममा वन मासिँदै गयो। वास्तवमा कहिलेकाहीं ठूलो क्षति नहुने गरी बसोवास गराउन सकिन्छ, तर २०३६ सालको जनमत संग्रहताका ठूलो परिमाणमा वन नाश गरियो। ०४७ सालमा गिरिजाप्रसाद कोइरालाको सरकार बनेपछि पनि यो क्रम रोकिएन। उल्टो नहर नोक्सान गरेको नाममा समेत जंगल नाश गरियो।
वन भन्नाले रूख, झाडी मात्र होइन, असंख्य प्राणीको आ श्रयस्थल पनि हो। त्यहाँ कैयन् प्राणीले आफ्नो वासस्थान बनाएका हुन्छन्। वनजंगल, पहाड अनि ती वनभित्रका थलचर, जलचरलगायतका पक्षी मुलुकका गहना हुन्, जसलाई सुरक्षित गरी हामीले भावी पुस्तालाई सुम्पिन सक्नुपर्छ। त्यसमाथि नेपाल त पर्यटन व्यवसायको सम्भावना भएको देश हो। हाम्रो पर्यटनको आकर्षण भनेकै यस्तै वनजंगल, त्यहाँका जीवजन्तु र चराचुरुंगी हुन्। अहिले पनि अधिकांश पर्यटक जंगल सफारी र पहाडी तथा उच्च हिमाली क्षेत्रमा पैदलयात्राको सोखले नेपाल आउने गर्छन्। यस्तो महत्वपूर्ण सम्पत्ति जोगाउन हामीले कुनै कसर बाँकी राख्नु हुँदैन।
ध्यान नदिएको पाटो
हाम्रो देश हेर्दा जति सुन्दर छ, विकट पनि उत्तिकै छ। हामीकहाँ तीन किसिमका पहाड छन्– चुरे पहाड, महाभारत पहाड र हिमालय। नेपालको पहाड काँचो पहाड हो। यसको आयु कम छ र चट्टानभन्दा बढी माटोढुंगा मिसिएको देखिन्छ। सानो हलचल हुँदा होस् वा सडक निर्माण गर्दा पनि पहिरो जाने गर्छ।
अहिले सरकार र स्थानीय वासिन्दाको सहभागितामा पहाडमा बाटो खन्ने काम प्रशस्त भएको छ। यसले ठूलो क्षति पु¥याएको छ। एकातिर यसले प्राकृतिक बनोट नै खल्बल्याएको छ भने अर्कोतिर जग्गा प्लटिङ बढ्न पुगेको छ। जग्गा प्लटिङ नेपालको अर्को रोग हो। नहुने ठाउँमा प्लटिङ दरभाउ बढाइ बिक्री गर्ने कार्यमा ठूलाबडाकै संलग्नता देखिन्छ। पहाडको जंगल मासिनु र पहिरो जानु भनेको नदीनाला बढेर तराईको मलिलो माटो बगाई बालुवा–ढुंगाले छोपिनु हो। यसतर्फ हामीले विचार पु¥याएका छैनौं। पहाडको जंगल विनाश हुँदै जाँदा तराईमा ठूला बाढी आउने र जनधनको नोक्सान हुने खतरा पनि बढ्दो छ।
हाम्रो वनजंगल घट्दै गएको छ। जंगल मासे तराईको भूमि बग्ने सम्भावना छ। यी सबै कारणले जंगल नजोगाई हुँदैन। जंगल जोगाउन सबैभन्दा पहिला राजनीतिक संरक्षणमा हुने वनविनाश र वन तस्करी रोक्नैपर्छ।
अन्तर्राष्ट्रिय नारा
महिला न्यायाधीशको सम्मेलनका क्रममा सन् २०१४ मा म तान्जानिया पुगेकी थिएँ। सम्मेलन आरुषा भन्ने सहरमा भएको थियो। त्यहाँ गर्मी होला भन्ठानेको त जतिखेर पनि पानी परेर जाडो हुँदो रहेछ। छेउ छाउन पहाड थिएन तर ठाउँठाउँमा ठूलाठूला पार्क रहेछन्। त्यहाँ ठूलाठूला रूख जोगाएर राखिएका रहेछन्। त्यहाँ सबै जग्गा सरकारको हुँदो रहेछ। कसैले घर बनाउन खोजे ९९ वर्षका निम्ति लिजमा दिइँदो रहेछ। तसर्थ सरकारी सार्वजनिक जग्गा धेरै थिए, जहाँ रूखैरूख थिए। कतिसम्म भने फुटपाथ बनाउँदा पनि बीचमा रूख परे पनि काटिएको थिएन। भारतको राजधानी दिल्लीमा पनि सडक घुमाएर भए पनि रूख जोगाएको देखिन्छ। त्यहाँ २०÷२५ वर्ष पहिला त्यस्तो थिएन। अहिले त रूखैरूखले ढाकिएर जंगलजस्तै बनेको छ।
अहिले विश्व तापमान वृद्धि उच्च दरमा छ। कार्बन उत्र्सजनकै कारण यस्तो भएको सबैलाई थाहै छ। कार्बन उत्सर्जन न्यूनीकरण गर्ने अनेक सन्धि–सम्झौतामा नेपाल पनि पक्ष राष्ट्र भएको छ। तर व्यवहारमा भने जसले पनि मौका पाउनासाथ रूख काटेको देखिन्छ।
किन मासिन्छ वनजंगल ?
नेपालमा सन् १९९० देखि २००० सम्ममा १९ हजार सात सय हेक्टर जंगल मासिएको छ। सन् १९९० देखि सन् २००५ सम्ममा ७.९ प्रतिशत जंगल नाश भएको तथ्यांक छ। आखिर किन मासिन्छ जंगल ?
जनसंख्या बढ्दै जाँदा बसोवास पनि बढ्यो जसले गर्दा जंगल मासिने क्रम बढ्यो। जीविकोपार्जनका निम्ति पनि जंगल मासिने गरिन्छ। त्यस्ता अनेक कारण छन् जंगल मासिनुको पछाडि। तर यस्ता ससाना गतिविधिका कारण मात्र जंगल मासिएको होइन। जंगल मासिनुको पछाडि मुख्य कारण तस्करी नै हो। वन पैदावारको तस्करी गरी गरिने व्यापार व्यवसायले यो मासिँदै गएको छ।
निजगढ चारकोसे जंगल मासी अन्तर्राष्ट्रिय विमानस्थल
नेपालमा जुनसुकै आयोजना बन्दा पनि पहाड फोड्ने र जंगल मास्ने योजना बनाइन्छन्। जुन सरकारलाई पनि विज्ञले त्यही सल्लाह दिँदा रहेछन्। अहिले निजगढ विमानस्थल बनाउन त्यहाँको पुरानो जंगल क्षेत्र मास्ने प्रस्ताव ल्याइएको छ। आठ हजार ४६ हेक्टर क्षेत्रफल भएको सालको वन मासी अन्तर्राष्ट्रिय विमानस्थल बनाउने परियोजना छ। जंगल काटेर नयाँ जंगल रोप्ने योजना पनि प्रस्ताव गरिएको छ। यस्तो योजनाबाट स्थानीय जनतालाई केही लाभ हुँदैन। यो लाभ त्यस्ता ठेक्दारलाई हुन्छ, जसले वन काट्छ र फेरि रोप्ने नाममा पैसा पाउँछ।
जंगल काटेर जंगल लगाउनुभन्दा नमास्नु नै उचित हुन्छ। पुरानो जंगल नै दीर्घायुको हुन्छ। झापामा एकपटक भरिभराउ जंगल थियो। त्यो सुकुमवासीका नाममा काटियो। पछि केही भागमा रूख रोपियो, तर जंगल बन्न सकेन। विस्तारै त्यो ठाउँ पनि मासिँदै गयो।
जंगल मास्दा के हुन्छ भन्ने मैले प्रत्यक्ष अनुभव गरेकी छु। चारकोसे झाडीबाट विस्थापित वन्यजन्तु, चराचुरुंगी विस्थापित भए। निलगाई, चितुवा मानिसका घरघरमा आइपुग्थे। ती सबै अहिले अस्तित्वमै छैनन्। बेलाबेलामा हात्तीले बिराम गरेको समाचार आउँछ। त्यसको मुख्य कारण उसको वासस्थानमा भएको अतिक्रमण हो।
मानिसमा बुद्धि र विवेक हुन्छ। आपूm बसिरहेको ठाउँमा संकट आए बसाइँ सर्छ, तर जीवजन्तु आफ्नो वासस्थानमा बस्छ, अन्यत्र जाँदैन। बरु प्राण त्याग्छ। यो संसारमा मानवबाहेक अन्य प्राणी पनि छन्, तिनको बसोवासमा हमला गर्दा बडो सुरक्षित रूपबाट गर्नुपर्दछ। हाम्रो वनजंगल घट्दै गएको छ। हामीकहाँ समथल जग्गाको कमी छ। हामीले जंगल मासे तराईको भूमि बग्ने सम्भावना छ।
यी सबै कारणले जंगल नजोगाई हुँदैन। जंगल जोगाउन सबैभन्दा पहिला राजनीतिक संरक्षणमा हुने वनविनाश र वन तस्करी रोक्नैपर्छ।