हार नमान्ने गोर्खाली गर्ल्स
काठमाडौं, जोरपाटीस्थित लर्ड बुद्ध सेकेन्डरी स्कुलमा पढ्ने धरान, हेटौंडा र दोलखाका पाँच युवती मिलेर एउटा ब्यान्ड खोले। ब्यान्डको नाम राखे, ‘गोर्खाली गल्र्स’। यो सात वर्षअघिको कुरा हो। त्यो बेला भोकलमा गीता तामाङ, लिड गिटारमा सुषमा घलान, बेस र भोकलमा सिसम राई, रिदम गिटारिस्टमा सबिता थिङ र ड्रममा साङ्डोमा शेर्पा थिए।
अरूले छाडे पनि ब्यान्डका संस्थापक साङ्डोमा शेर्पा र सुषमा घलान ‘गोर्खाली गल्र्स’मा अझै आबद्ध छन्। भोकलिस्ट रेनु स्याङ्बो र गिटारिस्ट इशिका विक केही महिनाअघि ब्यान्डसँग जोडिएका हुन्।
‘स्कुलमा विभिन्न कार्यक्रम भइरहन्थे’, साङ्डोमाले सम्झिइन्, ‘कोही केटीअगाडि सर्दैनथे। दाइहरू मात्र गिटार, ड्रम बोकेर हिँड्थे। केटीहरू गीत गाउन त लजाउँथे। बजाउन त परै जाओस्।’ यही कुराले आफूहरूलाई गोर्खाली ब्यान्ड खोल्न प्रेरित गरेको उनले बताइन्। ‘जानी नजानी हामीहरूले ड्रम ठोक्न, गिटार बजाउन थाल्यौं’, उनले भनिन्।
विसं २०६८ मा जोरपाटीको एउटा स्कुलमा ल्होसारको भव्य कार्यक्रम भयो। त्यसमा गोर्खाली गल्र्स पनि सहभागी भए। ‘हामीले ‘हाम्रो नेपाल’ बोलको गीत गायौं’, सुषमाले सम्झिइन्, ‘कार्यक्रममा चारपाँच हजार मानिस थिए। म्युजिकबारे केही थाहा थिएन। हावा तालमा जस्तो पायो, त्यस्तै बजायौं/गायौं।’
‘पहिलोपटक भएकाले एकदमै नर्भस भयौं’, साङ्डोमाले थपिन्, ‘राम्रो गाउन सकेनाँं।’ त्यतिखेर उनीहरू कक्षा ९ मा पढ्थे। ‘प्रस्तुति दिएको केही महिनासम्म स्कुलमा मुख देखाउनै गाह्रो पर्यो’, सुषमाले भनिन्, ‘हामीलाई देख्नेबित्तिकै साथीहरूले ‘फ्लप सङ आए’ भनेर जिस्क्याउँथे। उनीहरूको डरले सधैं हिँड्ने बाटो छाडेर अर्कै बाटो हिँड्थ्यौं।’
यसपछि ब्यान्डका पाँचैजना संगीत सिक्न थाले। ‘म्युजिक सिक्न थालेपछि चाहिँ कन्सर्टका लागि निम्ता पनि आउन थाल्यो’, सुषमाले भनिन्। ‘विभिन्न कार्यक्रममा गाउन÷बजाउन थाले पनि यति बेलासम्म हामीले आफ्नो ब्यान्डको नाम राखेका थिएनौं’, साङ्डोमाले भनिन्, ‘एकपटक एउटा कन्सर्टमा प्रस्तुति दिने बेला एक दाइले ‘तिमीहरूको ब्यान्डका नाम के हो ? ’ भनेर सोध्नुभयो। नाम केही राखेका थिएनौं। के भन्ने, भन्ने भयो।’
‘मेरो मुखबाट फ्याट्ट ‘गोर्खाली गल्र्स’ निस्कियो’, सुषमाले भनिन्, ‘गोर्खाली भन्नेबित्तिकै नेपाली भनेर चिनिने भएकाले एक्कासि यो नाम निस्कियो। ‘हतारमै भए पनि राम्रै नाम जुराइस्’ भनेर साथीहरू पनि खुसी भए।’
बिस्तारै ब्यान्ड सांगीतिक कार्यक्रममा सक्रिय हुन थाल्यो। फाट्टफुट्ट कार्यक्रममा सहभागी भइरहे। संगीतमा भविष्य नदेखेपछि भोकलिस्ट गीता, रिदम गिटारिस्ट सबिता विदेशतिर लागे। बेसिस्ट सिसमले पनि ब्यान्ड छाडिन्।
बाँकी भए, ड्रमर साङ्डोमा र लिड गिटारिस्ट सुषमा। साङ्डोमा भन्छिन्, ‘उनीहरूको परिवारले पनि सपोर्ट गरेन। त्यसैले उनीहरू ब्यान्ड छोडेर बिदेसिन बाध्य भए।’ ब्यान्डमा दुईजना मात्र हुँदा पनि आफूहरूले कहिल्यै हार नखाएको सुषमाले बताइन्। ‘ब्यान्ड बन्द गर्ने कल्पनासमेत गर्न सक्दैनौं’, उनले भनिन्, ‘हामी दुईजना मात्र भए पनि ब्यान्डलाई जसरी भए पनि बचाउनुपर्छ भन्ने थियो।’
ब्यान्डका नयाँ सदस्य
पछि गोर्खाली गल्र्स भएर ब्यान्डमा आइन्, भक्तपुरकी यजु आचार्य। उनी बाँसुरी बजाउँछिन्। ‘अहिले यजु संगीत पढ्न भारत गएकी छन्’, सुषमाले भनिन्, ‘हाम्रो कन्सर्ट हुँदा उनी मिलेसम्म हामीलाई साथ दिन आउँछिन्।’ सात महिनाअघि ब्यान्डसँग जोडिइन्, रेनु। उनको ब्यान्ड ‘जट्स’ पनि केही समयअगाडि टुक्रिएको थियो। ‘हाम्रो ब्यान्डमा पनि केटीहरू मात्रै थियौं’, रेनुले भनिन्, ‘तर, पछि एक–एक गरेर सबैले छोड्न थाले, म मात्रै बाँकी भएँ।’ संगीतमा अगाडि बढ्ने आफ्नो सपना तुहिन नदिन उनी गोर्खाली गल्र्ससँग जोडिइन्।
गिटार बजाउने सोख भएकी इशिका भने चार महिनाअघि ब्यान्डमा आएकी हुन्। एउटा म्युजिक स्कुलमा भेट भएपछि सुषमाले उनलाई ब्यान्डमा आबद्ध गराएकी हुन्। सानैदेखि संगीतमा रुचि भएकी इशिका चर्चमा पनि गिटार बजाउँछिन्। उनी भर्खरै १८ वर्ष लागिन्। रेनु, सुषमा र साङ्डोमा २२ वर्षका हुन्। इशिका ब्यान्डकी कान्छी सदस्य हुन्। उनलाई पहिलोपटक देख्दा जो पनि झुक्किने ब्यान्डका सदस्य बताउँछन्।
ब्यान्डमा आबद्ध सबैका दिदीबहिनी, दाइभाइ विदेशमा छन्। तर, आफूलाई भने कहिल्यै पनि विदेश जाने भूत नचढेको उनीहरू बताउँछन्। ‘विदेश त प्रस्तुति दिन जाने हो, भाँडा माझ्न होइन’, उनीहरू भन्छन्।
‘ब्वाइज कट कपाल भएकाले कसैले भाइ त कसैले दाइ भन्छन् यसलाई’, साङ्डोमाले भनिन्, ‘केटीको ब्यान्डमा केटा कहाँबाट आयो पनि भन्छन्।’ उपत्यकाभित्र मात्रै होइन, बाहिर पनि उनीहरूले कार्यक्रमका लागि जान्छन्। ‘काठमाडौंबाहिर जाँदा एअरपोर्टमा मलाई सधैं फसाद पर्छ’, इशिकाले भनिन्, ‘लाइन चेकिङमा उभिँदा किन केटीको लाइनमा बसेको, जानुस् केटाको लाइनमा बस्नुस् भन्छन्।’
संगीतमा गाह्रोसाह्रो
‘हरेक ब्यान्डका आफ्ना दुःखसुख हुन्छन् नै’, साङ्डोमाले भनिन्, ‘तर, केटी भएकाले हामीले केही थप चुनौती सामना गर्नुपर्यो।’ कस्ता चुनौती ? ‘सुरुसुरुमा रातको कन्सर्टमा केटाहरूले हामीलाई ‘रात गयो, बात गयो’ भन्दै बुलिङ गर्थे’, उनले सम्झिइन्, ‘हामीले कन्सर्टको भिडियो युट्युबमा राख्दा अश्लील कमेन्ट बढी आउँथे। जब कि, केटाहरूको ब्यान्डका भिडियोमा त्यस्तो देखिन्न।’
यी र यस्ता कुरा आफूले पनि भोगेको रेनुले बताइन्। ‘ब्यान्ड बनाउँदा ‘फलानाकी छोरी ट्यापिनी भई’ भन्दै विदेशमा भएकी आमालाई कुरा पुग्यो’, उनले सुनाइन्, ‘अरू ब्यान्डका केटाहरूसँग कार्यक्रममा जाँदा ‘केटाहरूसँग एक्लै हिँड्छे, लाज नभएकी भन्थे।’ तर, आमाको साथ र सहयोगले यहाँसम्म आइपुगेको उनले बताइन्।
उनीहरू सबैका दिदीबहिनी, दाइभाइ विदेशमा छन्। तर, आफूलाई भने कहिल्यै पनि विदेश जाने भूत नचढेको उनीहरू बताउँछन्। ‘विदेश त प्रस्तुति दिन जाने हो, भाँडा माझ्न होइन’, सुषमाले भनिन्।
ब्यान्ड नै सबथोक
गोर्खाली गल्र्स रक गायिका अभया सुब्बाका प्रशंसक हुन्। रक गीत गाउन मन पराउने उनीहरू दैनिक दुई घण्टा अभ्यास गर्छन्। ‘प्रेक्टिस रुमका लागि महिनामा आठ हजार रुपैयाँ तिर्छौं’, साङ्डोमाले भनिन्, ‘इभेन्ट नहुँदा आफ्नो पकेट मनीबाट कोठा भाडा तिर्छौं।’
ब्यान्डका लागि खर्चेको समयलाई उनीहरू आफ्नो लगानी ठान्छन्। ‘यतिका वर्ष त ब्यान्डमा बितायौं, अब छोड्ने कुरै भएन’, सुषमाले भनिन्, ‘जेजस्तो आइपरे पनि ब्यान्डमा लागिरहने हो।’ उनीहरू ब्यान्डलाई आफ्नो परिवार मान्छन्। ‘यो त हाम्रो परिवार हो’, साङ्डोमाले भनिन्, ‘जहाँ हामीले एकले अर्कालाई दुःखसुखमा साथ दिन्छौं।’ ब्यान्डले जस्तोसुकै अवस्थामा पनि टुट्न नदिने रेनुले बताइन्।
‘म भोकलिस्ट भएकाले सोलो गर्दा पनि हुन्थ्यो’, उनले भनिन्, ‘तर, ब्यान्डमा काम गर्नुका मज्जा बेग्लै छ। सोलो गर्दा एक्लैलाई प्रेसर हुन्छ। ब्यान्डमा त्यो प्रेसर पनि बाँडिन्छ।’ इशिका ब्यान्डले आफूलाई जीवनमा नयाँ तरिकाले अगाडि बढ्न सिकाएको बताउँछिन्। ‘ब्यान्डमा मेरो पहिलो अनुभव हो’, उनले भनिन्, ‘मैले यसलाई म्युजिक स्कुलका रूपमा लिएकी छु।’
आ-आफ्नै आइडल
रेनु भारतकी युवा बेसिस्ट मोहिनी डेबाट प्रभावित छिन्। सुषमा अन्तर्राष्ट्रिय गिटारिस्ट ओरियान्थी र लाउरा कक्सलाई फलो गर्छिन्। साङ्डोमा र इशिकाले भने कसैलाई आफ्नो आइडल मानेका छैनन्। ‘हामी आफ्नो आइडल आफैं हौं’, साङ्डोमाले भनिन्।
संगीतमा छिट्टै परिणाम खोज्नुभन्दा पनि निरन्तर लागिरहनु सफलताको सूत्र भएको ब्यान्डका सदस्यको साझा बुझाइ छ। ‘म्युजिकमा लागेको मान्छेले आजको भोलि रिजल्ट खोज्नु हुँदैन’, सुषमाले भनिन्, ‘रातारात स्टार बन्न खोज्नु हुन्न।’
‘जो ढिला हिँड्छ, त्यो नै पछिसम्म हिँड्छ’, साङ्डोमाले थपिन्, ‘रातारात स्टार बन्न चाहनेहरू जसरी आए, त्यसरी नै हराउँछन्। हामीलाई हराउनु छैन।’