आकुल–व्याकुल ओली र विकृत मुनीहरू
लोकतन्त्र र गणतन्त्रलाई बदनाम गराउने र परिवर्तनलाई धरापमा पार्ने कार्य वर्तमान राष्ट्रपति, प्रधानमन्त्री र नेकपाका नेताहरू आफैं गर्दैछन्
प्रधानमन्त्री केपी शर्मा ओलीले केही दिनपहिले संसद्मा सम्बोधन गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीप्रतिको तीव्र जनआक्रोश र प्रतिक्रियालाई गणतन्त्रविरोधी षड्यन्त्रका रूपमा व्याख्या गर्नुभएको छ। कुनै बेला राजामहाराजाले गरेका गल्ती र अपराधको विरोध हुँदा ‘राजाको विरोध गर्नु भनेको देशको विरोध गर्नु हो, राजा नरहे देश रहँदैन’ भनेर राजावादीहरू प्रतिवाद गर्थे। प्रधानमन्त्री ओलीले त्यही सिको गर्दै राष्ट्रपति भण्डारीको कसैले आलोचना गर्न नहुने सन्देश दिनुभएको छ। आलंकारिक राष्ट्रपतिबाट नागरिकले नैतिकता, सादगी र राष्ट्रप्रतिको समर्पणजस्ता गर्विलो आचरणको अपेक्षा गरेका हुन्छन्। तर राष्ट्रपति भण्डारीको राष्ट्रप्रतिको समर्पण कहिले करोडौंको गाडीमा पोखियो त कहिले अर्बौंैको हेलिकप्टरमा। सरकार र राष्ट्रपतिको दृष्टि सिमानामा हिउँसँग पौंठेजोरी खेलिरहेका सुरक्षाकर्मीको पीडा र वेदनामा परेन, तर प्रहरी प्रशिक्षण प्रतिष्ठानपरिसरमा टक्क अडियो र हडप्ने प्रक्रिया सुरु भयो।
संवत् १९९० मा महाभूकम्प आउँदा काठमाडौं खाल्डोमा बस्ती थोरै र खुला क्षेत्र धेरै थियो। भूकम्पपीडितहरूले तिनै खुला क्षेत्रमा आ श्रय लिएका थिए। अहिले काठमाडौंमा घना बस्ती धेरै र खुला क्षेत्र थोरै छ। यसै पनि काठमाडौं भूकम्पको दृष्टिले उच्च जोखिम क्षेत्र हो। १९९० वा २०७२ सालमा जस्तो भूकम्प आयो भने आ श्रयका लागि प्रशस्त खुला क्षेत्र चाहिन्छ। महाराजगन्जस्थित प्रहरी प्रशिक्षण प्रतिष्ठानले चर्चेको भूगाग परिआउँदा नागरिकहरूको आ श्रयका लागि उपयुक्त मात्र होइन, प्राकृतिक विपत्तिका बेला उद्धार र राहतका लागि सुरक्षाकर्मी परिचालन गर्ने उपयुक्त ठाउँ पनि हो।
संयन्त्र/संस्थाहरूको कुरा गर्दा उपराष्ट्रपति कार्यालयका लागि विद्यमान बहादुर भवन छँदाछँदै नागरिकले दिएको चन्दाबाट बनाइएको समाज कल्याण परिषद्को परिसर/भवन हडप्ने अर्को सरकारी निर्णय पनि निन्दनीय छ। ठमेलजस्तो घना बस्ती भएको छेउमै लैनचौरमा अवस्थित उक्त परिसर कथंकदाचित भविष्यमा कुनै प्राकृतिक विपत्ति पर्यो भने त्यहाँका वासिन्दाको ओत लाग्ने ठाउँ हो। मानवीय संवेदनालाई समेत लत्याउँदै कहिले राष्ट्रपति त कहिले उपराष्ट्रपतिको विलासिताका लागि सरकार एकपछि अर्को निर्णय गर्दै आलोचित हुँदै गएको छ।
त्यस्ता आलोचनालाई मनन गर्दै नागरिकविरोधी निर्णय सच्चाउन पहल गर्नुपर्नेमा प्रधानमन्त्री ओलीले संसद्बाटै नागरिकलाई गाली गर्न पुग्नुभयो। यसैगरी संघीय संसद्मा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सांसदहरूको गलत आचरणको नागरिक विरोधलाई लोकतन्त्रविरुद्धको षड्यन्त्र भन्न भ्याउनुभयो। त्यसो त २०४८ सालपछि पुरुष सांसदले आफ्नो उपचारका नाममा सुत्केरीले खाने महँगो औषधीको बिल पेस गर्दा, सांसदहरूलाई देशविदेशका होटेलमा बन्दी बनाउँदा र अश्लील चलचित्र देखाउँदा, खुलेआम सांसद खरिद–बिक्री गर्दा कसैकसैले यस्तै तर्क गरेका थिए, जुन अहिले प्रधानमन्त्री ओलीले गर्नुभएको छ। नागरिक सरकारका मुखिया ओली किन यसरी नागरिकविरुद्ध खनिनुभएको हो ? दुईतिहाइभन्दा बढी बहुमतको संसदीय इतिहासकै सर्वाधिक शक्तिशाली प्रधानमन्त्री ओली सांसदहरूले सोध्ने प्रश्नसँग किन आत्तिनुभएको हो ? पर्यटनमन्त्री रवीन्द्र अधिकारीले हाकाकाकी वाइडबडी जहाज खरिद प्रकरणमा संसद्को समितिलाई ढाँटे। संसद्को गरिमा रक्षार्थ त्यस्ता ढँटुवा मन्त्रीलाई तत्काल बर्खास्त गर्नुपथ्र्यो, तर त्यो ह्याउ प्रधानमन्त्री ओलीमा देखिएन। त्यसैले लहरो तान्दा पहरो गर्जिन्छ भन्ने चर्चा सर्वत्र चल्न थालेको छ।
वाइडबडी जहाज खरिद प्रकरणमा पहिले किटान भएभन्दा कम तौल क्षमताको जहाज खरिद गर्नु, मूल्य समायोजनका नाममा अत्यधिक भुक्तानी गर्नुजस्ता गम्भीर विचलन टड्कारो छँदैछ, त्यसमाथि पनि कौडीको औकात नभएका बिचौलिया कम्पनी र पात्र खडा गरेर अर्बौँ भुक्तानी गर्नु कहालिलाग्दो छ। यो प्रकरणमा मूल दोषीहरूलाई कारबाही गर्नुपर्ने दायित्वबाट विमुख भए आउँदो निर्वाचनमा यही प्रमुख मुद्दा बन्नेछ, जसले ओली मात्र होइन, नेकपालाई नै बढार्ने सम्भावना प्रशस्त छ। यस्तो अवस्थामा नेकपाका हजारौं कार्यकर्ताले दुईचारजना नेताहरूका लागि आफ्नो राजनीतिक भविष्य नै दाउमा लगाउने हुन् वा सत्यको पक्षमा उभिने हुन्, हेर्न बाँकी छ।
अरूको स्वतन्त्रतामाथि प्रहार गर्दा आफ्नो आचरण र नियतबारे प्रश्न उठ्छ भन्ने हेक्का न त ओलीले राखेको देखियो न माधव नेपालले।
संघीय संसद्को शिक्षा तथा स्वास्थ्य समितिले नागरिक अभियन्ता सत्याग्रही डा. गोविन्द केसीसँग भएको पटक–पटकको सहमतिविपरीत चिकित्सा शिक्षा विधेयक पारित गरेको छ। डा. केसी पुस २५ देखि पुनः अनशनमा बस्नुभएको छ। नागरिकको विश्वास र भरोसा नै सरकारको तागत हो। राजनेताहरू आफूले गरेका सहमतिहरू तोड्दैनन्, विश्वासमा परेकाहरूलाई घात गर्दैनन्। प्रधानमन्त्री ओली बेलाबेलामा सत्याग्रहीविरुद्ध उग्र विषवमन गर्नुहुन्छ। दुईतिहाइको प्रधानमन्त्री नागरिक अभियन्ताहरूसँग यति धेरै आकुलव्याकुल हुनुपर्ने कारण के हो ? मनको बाघले खाएको हो वा माफिया र तस्करहरूको चंगुलमा सरकार निस्कनै नसक्ने गरी फसिसकेको हो ? २०४८ पछि लाखौंका भ्रष्टाचार प्रकरणहरू देखिए, २०६३ पछि करोडौंका प्रकरण सुनिए। अहिले अर्बांैमा पुगेको छ।
विगतमा पनि दण्डहीनता थियो, अहिले संस्थागत भएको छ। विगतमा पनि राजनीतिको अपराधीकरण भएको थियो। अहिले अपराधको राजनीतीकरण भएको छ। विगतमा देश कहिले संकीर्णतावादी आवेगबाट पीडित भयो त कहिले जडसूत्रवादवादी उन्मादबाट। वर्तमानमा संकीर्णतावाद र जडसूत्रवादका विकृत स्वरूपलाई समन्वय गर्दै कतै ‘जडकीर्णतावाद’ को अभ्युदय भएको त होइन ?
घटनाक्रमले प्रधानमन्त्री ओली मात्र होइन, नेकपाका अर्का भारी भरकम नेता, माधव नेपालसमेत नागरिक निन्दाको पात्र बन्नुभएको छ। संसारमा दर्जनौं धर्म अस्तित्वमा छन्। तीमध्ये कतिपय धर्मको हाँगा समातेर विकृत पातहरूसमेत झुन्डिरहेको देखिन्छ। त्यस्तै एउटा विकृत पात हो युनिफिकेसन चर्च जसको स्थापना सन् १९५४ मा दक्षिण कोरियाका धनाढ्य व्यापारी सुन म्युङ मुनले गरेका थिए। जिसस प्रकट भएर अपूरो काम पूरा गर्न आफूलाई अराएको हावादारी दाबा गर्ने मुनले लेखेको ‘डिभाइन प्रिन्सिपल’ भन्ने पुस्तक नै युनिफिकेसन चर्चको विचार हो भने निजका चेला चपेटा र अनुयायीहरूलाई बोलचालको भाषामा ‘मुनी’ भन्ने गरिन्छ।
युनिफिकेसन चर्चको विकृत एवं सन्दिग्ध चरित्रका कारण क्रिस्चियन बौद्धिकहरूले कठोर आलोचना गर्दै आएका छन्। जर्मनीलगायत युरोपका १४ भन्दा बढी देशहरूले हावादारी मुन दम्पत्तिलाई ती देशहरूमा प्रवेश निषेध गरेका थिए। जापानले युनिफिकेसन चर्चका प्रवर्तक मुनलाई अपराधी भन्दै भिसा दिएन। अमेरिकाले सन् १९८४ मा कर ठगीप्रकरणमा मुनलाई १८ महिना काराबास र १५ हजार डलर सजाय गरेको थियो। मुन सन् २०१२ मा बिते।
युनिफिकेसन चर्चले राजनीतिक क्षेत्रमा पनि हात हालेको विदितै छ। दक्षिण कोरियामा राजनीतिक दल नै खोलेको छ, नेपालमा पनि शाखा विस्तार गरेको छ। प्रभावशाली नेताहरूलाई गतिलो चन्दा उपलब्ध गराएको आशंका छ। समग्रमा भन्नुपर्दा माउ युनिफिकेसन चर्च हो भने त्यसको दायरा विस्तार गर्न चल्लाका रूपमा कैयन् गैरसरकारी संस्थाहरू पनि सो चर्चले खोलेको छ। युनिभर्सल पिस फेडरेसन त्यस्तै एउटा चल्ला हो। मुनकी दोस्रो पत्नी हक जा हानले पनि आफू जिससकी छोरी भएको हावादारी प्रचार गर्दै आएकी छन्। अहिले जहाँजहाँ हान जान्छिन्, त्यहीं प्रचारलाई बढावा दिन्छिन्। त्यही युनिफिकेसन चर्चको दान–दातव्य र चल्ला युनिभर्सल पिस फेडरेसनको मूल आयोजनामा काठमाडौंमा केही सातापहिले एउटा सम्मेलन भयो, जसमा षड्यन्त्रपूर्वक ढंगले नेपाल सरकार र संसद्लाई पनि आयोजक बनाइयो। त्यही विकृत मञ्चले प्रदान गरेको एक लाख डलरको पुरस्कारमा प्रधानमन्त्री ओलीको स्वाभिमान लम्पसार पर्यो। सुशासनभन्दा पनि विकृत पन्थसँग नेपाल सरकार र संसद्लाई जोडेका कारण सो पुरस्कार प्रदान गरिएको विषय अब रहस्य रहेन।
राष्ट्रिय स्वाभिमानविपरीतका यस्ता कृत्यमा सरकार/संसद्को संलग्नताप्रति जब आलोचना बढ्न थाल्यो, माधव नेपालको दुर्वासास्वरूप एउटा टेलिभिजन कार्यक्रममा देखियो। उक्त विकृत पन्थको प्रवक्ताजस्तै २५ पटक त्यसका विभिन्न कार्यक्रममा माधव नेपालको सहभागिताको खबर छरपस्ट भएपछि आलोचनाबाट आकुल–व्याकुल माधव नेपाल ‘नेपालीको मानसिकता’ नै यस्तै छ भन्दै सिंगो नेपाली मानसिकतामाथि प्रहार गर्न पुग्नुभयो। तिनै नेपाली जनता जसले कुनै बेला माधव नेपाललाई दुई ठाउँबाट संसदीय निर्वाचनमा जिताएका थिए। तिनै माधव नेपाल जो दुई ठाउँबाट संविधानसभा सदस्य पदमा हार्दा पनि प्रधानमन्त्री भएपछि जनताले स्वीकारेकै थिए।
आफूले अवलम्बन गरेको धर्मको गौरव गाथा गाउँदा अरू धर्मलाई गाली वा घृणा गर्न पाइँदैन। साम्यवादी कार्यकर्ताका रूपमा नेकपाका कतिपय नेताहरूले विगतमा धर्मको निन्दा गरेका छन् र मूर्ति तोडफोड गरेका छन्। तिनै साम्यवादीहरूले अहिले विकृतपन्थको गुणगान गाउन थालेपछि कतिपय झस्किएका छन् त कतिपयले खेल्ने ठाउँ पाएका छन्। नागरिकका मनमा संशय छ किनकि विगतमा जसले प्राचीन ऋषिमुनीहरूलाई खारेज गरेका थिए, तिनले अहिले अर्वाचीन विकृत पन्थलाई स्थापित गर्न खोजेका छन्। विगतमा जसले पौराणिक ग्रन्थहरूको निन्दा गरेका थिए, तिनले अहिले दैवी सिद्धान्त नामक ‘मुन ग्रन्थ’ हातमा समाएका छन्। विगतमा जसले देवीहरूको प्रार्थना गर्न हिच्किचाए अहिले ‘मुनपत्नी’ लाई ‘अधिष्ठात्री’ मान्दै उनको ‘कान्ति’ को वन्दना गर्न पुगेका छन्।
विगतमा जसले पञ्चामृतलाई घृणा गरेका थिए, अहिले होली वाइनलाई अमृत ठान्न पुगेका छन्। विगतमा जसले ईश्वरको निन्दा गरेका थिए, अहिले आएर युनिफिकेसन चर्चलाई धर्म र त्यसका प्रवर्तकलाई नै ईश्वरको अवतारका रूपमा पुज्न पुगेका छन्। विगतमा जसले अरूको धार्मिक आस्थामाथि प्रश्न गरेका थिए, तिनले आज ‘मुनपन्थ’ लाई उत्तर बनाउन खोजिरहेका छन्। प्रतीकात्मक रूपमा भन्नुपर्दा हिजो कम्युनिस्ट नेताहरूले डाले घाँस मास्दा कतिपयले प्रश्न गरेका थिएनन् तर जब डाले घाँस मासेर तीतेपाती भित्र्याउन/लगाउन खोजे सर्वत्र निन्दा हुन थालेको छ। राजनेता आलोचकप्रति कृतज्ञ हुन्छन्। त्यस्तो आलोचनाले गल्ती सुधार्न र सत्यको लय समात्न सहयोग गर्छ। तर ओली र माधव नेपालले गल्ती स्वीकार्नु, क्षमायाचना गर्नुभन्दा प्रतिरक्षा गर्नु उचित ठाने यस क्रममा विकृत पन्थको नयाँ मुनीजस्ता देखिन पुगे।
अरूको स्वतन्त्रतामाथि प्रहार गर्दा आफ्नो आचरण र नियतबारे प्रश्न उठ्छ भन्ने हेक्का न त ओलीले राखेको देखियो न माधव नेपालले। एकपछि अर्को गल्ती गर्दै गएपछि /भएपछि गणतन्त्र र लोकतन्त्रसँग जोडेर विषयान्तर गर्ने प्रयास भएको छ। यस अर्थमा लोकतन्त्र र गणतन्त्रलाई बदनाम गराउने र परिवर्तनलाई धरापमा पार्ने कार्य वर्तमान राष्ट्रपति, प्रधानमन्त्री र नेकपाका नेताहरू आफैं गर्दैछन्।