२ हजार ७९ लिटर मदिरा जफत
काठमाडौं : भन्सार विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भारी परिमाणमा ब्रान्डेड मदिरा जफत गरेको छ। विभागले विदेशबाट आउने यात्रुले अवैधरूपमा ल्याउने मदिरा जफत गरेको हो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका अनुसार एक सातामा दुई हजार ७९ लिटर मदिरा जफत भएको छ।
भन्सार ऐन, २०६४ को दफा ९ को उपदफा ‐३) को व्यवस्थाअनुसार सरकारले गत साउनमा सूचना प्रकाशित गरी विदेशबाट आउने यात्रुले एक लिटरसम्मको बोतल ल्याउन पाउने जानकारी गराएको थियो। विदेशबाट फर्किएका अधिकांशले ड्युटी फ्रीका मदिरा ल्याउने गर्छन्। स्वदेशमा ड्युटी फ्री सप बन्द भएकाले अधिकांशले विदेशका विमानस्थलबाट भन्सार तिर्नुनपर्ने मदिरा खरिद गर्छन्।
अन्तःशुल्कको परिमाणमा कमी आउन थालेपछि अर्थ मन्त्रालयले भन्सार विभागलाई विमानस्थलमा कडाइ गर्न निर्देशन दिएको थियो। सोहीआधार विभागले अवैध मदिरा जफत गरेको हो।
गत दसैंतिहारमा भन्सार कार्यालयले कडाइ गरेको थियो। चाडपर्व सकिएलगत्तै एक÷दुईजनालाई छुट दिन थालेपछि मदिरा आउने क्रम बढेको कार्यालय प्रमुख गजेन्द्र ठाकुरले जानकारी दिए। ‘त्यही यात्रु दोहोरिँदैन भन्ने सोचले आइन्दा नल्याउने शर्तमा केही यात्रुलाई दुई बोतलसम्म छोड्ने काम भयो’, उनले भने, ‘तर यसले झन् बढी परिमाणमा मदिरा भित्रिन थालेपछि जनवरी १ देखि त्यस्ता मदिरा जफत गरेका हौं।’ यात्रुले तोकिएभन्दा बढी सामान ल्याउने चलन बढ्दै गएपछि त्यसमा कडाइ गरिएको उनले बताए।
विदेशबाट आउने यात्रुले अवैधरूपमा ल्याउने मदिरा जफत गरिएकोे हो।
सरकारले जेठ १५ गते चालु आर्थिक वर्ष २०७५/०७६ को बजेट प्रस्तुत गर्यो। बजेटबाट मदिरामा लाग्दै आएको राजस्वको दरमा ठूलै परिवर्तन भयो। भन्सार विभागले गत सातादेखि विमानस्थलमा यात्रुले ल्याउने सामानमा कडाइ गरेसँगै सबैभन्दा धेरै मदिरा जफत गरिरहेको छ। भन्सार छुटभन्दा बढी परिमाणमा ल्याएर जफत गरिएका मदिरालगायत अन्य सामानलाई समितिले मूल्यांकन गरेपछि लिलाम बिक्री गरिने त्रिभुवन विमानस्थल भन्सार कार्यालयले जनाएको छ।
सरकारले समय समयमा नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकिएका मालवस्तुमा पूर्ण वा आंशिकरूपमा भन्सार महसुल छुट दिन सक्ने व्यवस्था छ। त्यहीअनुसार निजी गुण्टा, झिटी, भारीसम्बन्धी सूचना जारी गरेको झण्डै अढाइ वर्षपछि गत सातादेखि त्रिभुवन विमानस्थल भन्सार कार्यालयले त्यसमा गरिएका व्यवस्थालाई कडाइका साथ लागू गरेको जनाएको छ।
कडाइ गरिएको एक सातामा सबैभन्दा बढी विभिन्न ब्रान्डका मदिरा जफत भएको छ। जफत गरिएकामध्ये ब्ल्याक लेबल, रेड लेबल, चिभास एडिगल, माल्टी इम्पियल, जेपी चेनेट, ज्याक ड्यानियल्स्, कुरेन्ट, भ्याट ६९, ओल्ड मंक जस्ता ब्रान्ड रहेको भन्सार कार्यालयले जानकारी दिएको छ।
आइकाउको कानुनअनुसार दुई बोतलसम्म ल्याउन पाउने व्यवस्था छ। नेपालमा भने यात्रुले एक लिटरसम्मको एक बोतल मदिरा भने राजस्व नतिरेर ल्याउन पाउँछन्। विदेशी यात्रुको हकमा १२ बोत्तलसम्म बियर ल्याउन पाउने व्यवस्था रहेको ठाकुरले जानकारी दिए। त्योभन्दा बढी परिमाणको मदिरा जफत गर्ने गरिएको छ।
यसले आन्तरिक उत्पादनलाई टेवा पुर्याउन मद्दत पुग्ने ठाकुरले बताए। उनले भने, ‘विदेशी विमानस्थलका पसलले आकर्षक अफरमा मदिरा बिक्री गर्ने भएकाले नेपाली यात्रु आकर्षित भएका छन्। यसको लोभले आफू नखाने भए पनि रक्सी ल्याएर यता बिक्री गरेका छन्। यसरी सबैले बढी परिमाणमा रक्सी ल्याउने हो भने आन्तरिक उत्पादनलाई प्रभावपर्ने हुन्छ।’
कम्प्युटर, ल्यापटप, ट्याबलेट, घडी, क्यामेरा, फोन र पेन ड्राइभ १/१ थान राजस्व नतिरेरै ल्याउन सकिन्छ भने केही सामान निश्चित परिमाणसम्म मूल्यको ४० प्रतिशत भन्सार तिरेर ल्याउन पाउने व्यवस्था छ।