डा. तुलसी गिरी नायक कि खलनायक ?

डा. तुलसी गिरी नायक कि खलनायक ?

गिरीको राजनीतिक क्षमता सार्वजनिक जीवनमा स्वच्छता उनका विरोधीले पनि स्विकारेका हुन्


नाम होस्, बदनाम होस् तर गुमनाम हुनु नपरोस्। हिन्दीको यो उखान भोगेका डा. तुलसी गिरीको ९२ वर्षको उमेरमा निधन भयो। उनको निधनपछि नेपाली छापामा उनीबारेका केही टिप्पणी आए। धेरै नेपालीका दृष्टिमा डा. गिरी खलनायक हुन्। १ पुस ०१७ को काण्ड गराउन राजा महेन्द्रलाई उक्साउने प्रमुख व्यक्तिमध्ये उनको नाम अग्रपंक्तिमा आउँछ। सीमित व्यक्तिहरूको दृष्टिमा भने उनी नायक हुन्। दुवै प्रकारका बुद्धिजीवीले स्वीकार गरेको तथ्य उनी असाधारण तर्क शक्ति भएका राजनीतिक नेता थिए। डा. गिरी तर्कशक्तिको आधारमा बीसौं शताब्दीका दुई नेपाली राजनेता बीपी कोइराला र राजा महेन्द्रमाथि हावी भए।

आखिर डा. गिरी को हुन् ? धनुषाको एक सामन्ती जमिनदार परिवारमा जन्मेका गिरी ०७ सालको क्रान्तिका समयमा दरभंगा मेडिकल कलेजका छात्र थिए। नेपाली कांग्रेसका रामहरि जोशीका अनुसार ०७ सालको क्रान्तिप्रति उनी सकारात्मक थिएनन्। क्रान्ति मैदानमा घाइते भएका मुक्ति सेनाका जवान र सर्वसाधारणप्रति उनले कुनै सहानुभूति प्रकट गरेनन्। जोशीका अनुसार त्यही कार्यरत भारतीय चिकित्सकको सहयोगमा घाइतेको उपचार गर्नुपर्‍यो। तिनै डा. गिरीलाई बीपीले ०१५ सालमा कांग्रेस महामन्त्री बनाएकोमा जोशी बीपीप्रति सधैं आलोचक बनिरहे।

एमबीबीएस पूरा गरेर उनी सरकारी जागिर खान गएनन्। वीरगन्ज वा जनकपुरमध्ये एक ठाउँमा बसेर प्राइभेट क्लिनिक सञ्चालन गर्ने मनस्थितिमा रहेका गिरिको ०१२ सालमा वीरगन्जमा भएको कांग्रेस महाधिवेशनमा बीपीसँग भेट भयो। वीरगन्ज महाधिवेशन कांग्रेस इतिहासमा मात्र होइन, नेपालको राजनीतिलाई नयाँ दिशा दिने एक परिघटना थियो। त्यही अधिवेशनमा समाजवादी पार्टीहरूको नेतृत्व गर्ने सोसलिस्ट इन्टरनेसनलले कांग्रेसलाई भ्रातृ संस्थाका रूपमा मान्यता दियो। त्यस्तै एसियन सोसलिस्ट पार्टीका नेता वर्तमान म्यानमारकी नेतृ आङ साङ सुकीका पिता उबाँस्बेले पनि आफू सम्मिलित हुन नपाएकोमा दुःख व्यक्त गर्दै शुभकामना पठाएका थिए।

वीरगन्ज अधिवेशनमा कांग्रेसका चार शीर्षस्थमध्येका सुवर्ण शमशेर र गणेशमान सिंह सभापतिको मैदानमा उत्रेका थिए। गणेशमानलाई हराउँदै सुवर्णशमशेर सभापति भए। सुवर्ण शमशेर सभापतिमा विजयी भएपछि कांग्रेसलाई समाजवादी पार्टी घोषणा गरे। त्यसपछि धेरै सामन्तीले कांग्रेस परित्याग गरे। अधिवेशनपछि सुवर्णशमशेरद्वारा महामन्त्री बनाइएका हृषिकेश शाहलाई राजा महेन्द्रले संयुक्त राष्ट्रसंघको स्थायी प्रतिनिधि र अमेरिकाको राजदूत नियुक्त गरे। शाहले कांग्रेस कार्यसमितिको बैठकमा एक दिन पनि भाग लिएनन्।

त्यतिबेला बीपी टंगालमा वसन्त शमशेरका घरमा बस्थे। डा. गिरीले पनि टंगाल दरबारकै आसपासमा डेरा लिए। त्यहीं उनको किशोरी राणासँग चीनजान भयो र उनीहरू विवाह बन्धनमा बाँधिए।

वीरगन्ज अधिवेशनपछि कांग्रेसले आमनिर्वाचनको माग गर्दै सत्याग्रह गरेपछि ०१५ मा निर्वाचन गर्न राजा महेन्द्र बाध्य भए। जनताको मतमा विश्वास नगर्ने डा. गिरी पछि महासभा (माथिल्लो सदन) मा मनोनीत भएर बीपीको नेतृत्वमा बनेको प्रथम जननिर्वाचित सरकारमा परराष्ट्रमन्त्री भए। तर आफंै संलग्न सरकारका विरुद्धको षड्यन्त्रमा लागे।

चीनको औपचारिक भ्रमणबाट फर्कंदा हङकङमा भारतीय पत्रकारसँग कुरा गर्दै भारत र चीन चाहन्छन् भने उनीहरूका बीचमा मध्यस्थता गर्न नेपाल तयार छ भन्ने वक्तव्य दिए। त्यतिबेला भारत र चीनको सम्बन्ध बिग्रिसकेको थियो। गिरीको यो वक्तव्यले भारत नेपाल सरकारसँग क्रूद्ध भयो। दुई छिमेकीका बीचमा मध्यस्थता गर्ने कुनै सोच नै नेपाल सरकारले बनाएको थिएन। प्रधानमन्त्री बीपी अप्ठ्यारोमा परेपछि गिरीलाई परराष्ट्रबाट हटाएर ग्राम विकासमन्त्री बनाइयो। परराष्ट्र मन्त्रालयको कार्यभार बीपी आफंैले सम्हाले।

छोटो समयमै सरकारले भारत, चीन, अमेरिका र सोभियत संघसँग आत्मीय सम्बन्ध बनाउनुका साथै पञ्चवर्षीय योजना बनाएर लागू गर्न थाल्यो। भूमिसुधार योजना लागू गरेर सरकार अघि बढ्न थालेपछि सरकारको लोकप्रियताबाट आत्तिएका राजा महेन्द्र सरकारविरुद्ध अनेक तानाबाना बुन्न थाले। सरकारविरुद्ध जनमत सिर्जना गर्न देश दर्शनमा निस्किए। पोखराबाट सुरु भएको भ्रमणमा प्रधानमन्त्री बीपी पनि सरिक हुनुभयो सवारीमन्त्री डा. गिरी थिए। दाङबाट बीपी काठमाडौं फर्किए।

नेपालगन्जमा आयोजित नागरिक जवाफमा जनप्रतिनिधिले यो नभुलून्– मेरो पनि जनताप्रति कर्तव्य छ। मैले त्यस्तो कदम चाल्नु नपरोस् भन्ने आशयको लिखित भाषण गर्दा राजाको भाषणको कागज खोस्ने नाटक सवारीमन्त्री डा. गिरीले गरे। सार्वजनिक मञ्चमा मन्त्रीले गरेको यो व्यवहारबाट उपस्थित भद्र भलाद्मी स्तब्ध भए। गिरीको यो हर्कत सरकारका विरुद्धमा ठूलो मसला भयो।

नेपालगन्जको त्यो घटना महेन्द्र र गिरीले गरेको एक भद्दा नाटक थियो भन्ने पुस १ गतेको काण्डले प्रमाणित गर्‍यो। पुस १ गते प्रधानमन्त्री बीपीलगायत अरू सबै मन्त्री गिरफ्तार भए तर डा. गिरी भएनन्। त्यसपछि बनेको राजा महेन्द्रको मन्त्रिपरिषद्मा उनी वरिष्ठ उपप्रधानमन्त्री बने।

सायद डा. तुलसी गिरीलाई लाग्यो होला, जसरी ०१७ साल पुस १ गते महेन्द्रले प्रजातन्त्रको हत्या गरेर निरंकुश पञ्चायत व्यवस्था सुरु गरेर ३० वर्ष शासन गरेका थिए त्यसैगरी ज्ञानेन्द्रको शासन पनि त्यही हिसाबले चल्नेछ।

केही वर्ष महेन्द्रसँग काम गरेका गिरीले मन्त्रिपरिषद्को उपाध्यक्षबाट राजीनामा दिएर भारतीय पत्रिकासँग राजासँग मतभेद भएर राजीनामा गरेको खुलासा गरे। मतभेद केमा थियो डा. गिरीले खुलासा गरेनन् न त राजदरबारले कुनै प्रतिक्रिया जनायो। कांग्रेसले सुरु गरेको सशस्त्र क्रान्ति २०१८ सालमा फिर्ता भएपछि राजा महेन्द्रका निम्ति डा. गिरी र कांग्रेसलाई धोका दिएर सैन्य ‘कू’ गर्न उक्साउने अर्का महामन्त्री विश्वबन्धु थापाको उपयोगिता महेन्द्रको निम्ति सकिइसकेको थियो। उनीहरू दुवैजनाभन्दा कनिष्ठ सूर्यबहादुर थापालाई मन्त्रिपरिषद्को अध्यक्ष बनाइयो। राजा महेन्द्र जीवित छउन्जेल सत्तामा उनीहरूको पुनरागमन भएन।

बीसको दशकमा सम्पूर्ण दक्षिण एसियाको राजनीतिमा उथलपुथल सुरु भयो। सोभियत संघद्वारा अफगानिस्तान कब्जा, पाकिस्तान टुक्रिएर नयाँ राष्ट्रको रूपमा बंगलादेशको उदयपछि भारतीय प्रधानमन्त्री इन्दिरा गान्धीले सिक्किमलाई भारतमा विलय गरिन्। त्यसको असरबाट राजा महेन्द्र चिन्तित थिए।

उनको चिन्ताको अर्को प्रमुख कारण थियो बीपीद्वारा सशस्त्र क्रान्तिको घोषणा। स्वयं महेन्द्रको स्वास्थ्य ठीक थिएन। २०२४ सालमा सिकार खेल्न कैलालीको टीकापुरमा गएको बेला उनलाई हृदयाघात भएको थियो। बाह्य रूपमा जतिसुकै राजाको जयजयकार गरे पनि पञ्चहरू गुट र उपगुटमा विभाजित थिए।

आन्तरिक र बाह्य घटनाबाट चिन्तित राजा केही दिन आराम गर्न नारायणगढको दियालो बंगलामा गएका राजाले डा. गिरीलगायतका केही पञ्चहरूसँग समग्र दक्षिण एसियाको राजनीति र मुलुकको आन्तरिक परिस्थितिका सम्बन्धमा अब कसरी अघि बढ्ने भनेर छलफल गरेका थिए। छलफलमा डा. गिरी पनि थिए। भनिन्छ, डा. गिरीलाई महेन्द्रले भनेका थिए, ‘विश्वेश्वर पूर्ण प्रजातन्त्र दिनुपर्छ भन्छन्, तँ केही पनि सुधार गर्नु हुन्न भन्छस्। मैले मध्यमार्गबाट अघि बढ्न खोजेको छु।’ त्यतिबेला नारायणगढमा रहेका कांग्रेस नेता        श्रीभद्र शर्माका अनुसार संविधान संशोधन गर्न संविधानको किताब किन्न दरबारका मान्छे बजारमा पठाएका थिए। तिनले एक कपी संविधान किनेर लगेका पनि थिए। त्यही राति हृदयाघात भई महेन्द्रको निधन भयो।

महेन्द्रको निधनपछि नेपालको राजनीति संकट झन् गहिरिएर गयो। राजनीतिको कुनै अनुभव नभएका र सीधा वीरेन्द्र राजा भए। बेलायतमा पढेका वीरेन्द्रले निरंकुश पञ्चायत व्यवस्थालाई निरन्तरता दिन्छन्÷दिँदैनन् भन्ने पञ्चहरूमा अन्योल थियो। प्रजातन्त्रवादी पर्ख र हेरको मनस्थितिमा थिए। यसै बीचमा भारतमा आफ्ना विरोधीलाई तह लगाउन प्रधानमन्त्री इन्दिरा गान्धीले संकटकाल घोषणा गरिन्।

पञ्चायतमा प्रवेश गरेर पनि आफ्नो राजनीति अभीष्ट पूरा गर्न नपाएका पूर्वकम्युनिस्टहरूले आफ्नो रणनीति कार्यान्वयन गर्न मौकाका रूपमा राजा वीरेन्द्रको शासनलाई लिए। इन्दिरा गान्धीको संकटकाल घोषणालाई सम्पूर्ण दक्षिण एसियामा उदार संसदीय व्यवस्था असफल भएको व्याख्या गरेर वीरेन्द्रलाई संविधानमा संशोधन गर्न दबाब दिए।

महेन्द्रको निधन हुँुदा कीर्तिनिधि विष्ट प्रधानमन्त्री थिए। उनलाई हटाएर राजनीतिमा कुनै अडान नभएका जुट व्यापारी नगेन्द्रप्रसाद रिजाल प्रधानमन्त्री भए। उनको मन्त्रिपरिषद्को साँचो एकजना पूर्वकम्युनिस्टको हातमा थियो। पञ्चायतमा घुसेका कम्युनिस्टहरूको रणनीतिमा उनी चल्दथे। उनले भनेपछि प्रधानमन्त्री पनि नाइनास्ती गर्दैनथे। वीरेन्द्रको दरबारमा पनि घोर प्रजातन्त्रविरोधीको बेलवाला थियो। तिनकै जोडबलमा संविधानको दोस्रो संशोधन भयो र महेन्द्रको निर्दलीय पञ्चायत व्यवस्थामा पञ्चायत नीति तथा जाँचबुझ केन्द्र नाम दिएर अघोषित रूपमा पञ्चायतमा पोलिटब्युरोको व्यवस्था भयो। पञ्चहरूले पनि केन्द्रको पूर्वस्वीकृति लिएर मात्र चुनाव लड्न पाउने व्यवस्था गरियो।

संविधान संशोधनको घोषणासँगै डा. गिरी प्रधानमन्त्री भए। जाँचबुझ केन्द्रमा भने पूर्वकम्युनिस्टहरू कमलराज रेग्मी, डीपी अधिकारी, यज्ञप्रसाद आचार्य र नूतन देव खनाललगायतका पूर्व कम्युनिस्ट मनोनीत भए।

दक्षिण एसियामा सुरु भएको उथलपुथलका बीचमा बीपी र गणेशमान राष्ट्रियतामाथि खतरा आइपर्‍यो भनी ०३३ साल पुस १६ गते स्वदेश फर्किए। त्यतिबेला बीपीविरुद्ध आठवटा मुद्दा विभिन्न अदालतमा दर्ता भएका थिए। केहीमा मृत्युदण्ड पनि हुन सक्थ्यो। अन्तर्राष्ट्रिय राजनीति तीव्र गतिमा अघि बढ्दा इन्दिरा गान्धीले संकटकाल फिर्ता लिएर गराएको चुनावमा उनको दल कांग्रेस आई नराम्रोसँग पराजित भयो, स्वयं गान्धीले चुनाव हारिन्। त्यही संकटकालको वीजारोपणबाट उनको हत्या भयो। विश्वव्यापी मानव अधिकारको नारा दिएका डेमोक्रेट उम्मेदवार जिमी कार्टर अमेरिकाको राष्ट्रपति भए।

आन्तरिक र बाह्य राजनीतिमा देखा परेको यही उथलपुथलमा ०३४ सालमा डा. गिरीलाई दरबारमा बोलाई स्वयं राजाले राजीनामा मागे। गिरीका लागि यो अप्रत्यासित थियो। भोलिपल्ट भैरहवाको मैदा मिलको उनले उद्घाटन गर्ने भनेर निमन्त्रणा कार्ड बाँडिएको थियो। राजालाई बिन्ती गरे— मैदा मिलको उद्घाटन गरेर राजीनामा दिन्छु। तर राजा क्रूद्ध भएर अहिल्यै राजीनामा देऊ अन्यथा खोसिदन्छु भन्दै धम्की दिएपछि प्रधानमन्त्रीबाट राजीनामा दिएर दरबार बाहिरिए डा. गिरी।

भनिन्छ, माकुराले आफ्नै माउलाई खान्छ, पञ्चहरू पञ्चायत व्यवस्थाको बाउ राजा र आमा डा. तुलसी गिरी हुन भन्दथे। माकुराको बच्चाले आफ्नै आमालाई खाए झैं २०३५ मा पञ्चायत सरकारले पूर्वप्रधानमन्त्री डा. गिरी अर्थमन्त्री, डा. भेषबहादुर थापा, वाणिज्यमन्त्री डा. हर्क गुरुङ, राष्ट्रबैंकका गभर्नर कुलशेखर शर्मा, अर्थसचिव नरकान्त अधिकारीविरुद्ध नेपालबाट गलैंचा निकासी गर्दा परल मूल्यभन्दा कम देखाएर न्यून बीजकीकरण गरी ठूलो मात्रामा विदेशी मुद्रा बाह्य मुलुकमा राखेर राष्ट्रलाई हानिनोक्सानी पुर्‍याएको आरोपमा अख्तियार दुरुयोग निवारण आयोग खडा गरेर माथिका पदाधिकारीबाहेक धेरैजना व्यापारीमाथि मुद्दा दायर गर्‍यो।

मुद्दा हेर्न सर्वोच्चका न्यायाधीश वासुदेव शर्मालाई तोक्यो। आयोगले अभियोजन दर्ता गर्ने र मुद्दा पनि उसैले हेर्ने व्यवस्था गरिएको थियो। यसले पञ्चायत व्यवस्थामा भन्दा पनि प्रशासनमा ठूलो हंगमा ल्यायो। तर बोल्न कोही सक्दैनथे। सीधा राजाबाट यो खडा भएको थियो। यो मुद्दा चल्दाचल्दै ०३६ सालमा विद्यार्थी आन्दोलन सुरु भयो। मुद्दा केही ओझेल परे पनि खारेज भने भएन।

भनिन्छ, हरेक बुद्धिमान मानिसको दिमागको एउटा कुनामा मूर्खता पनि रहेको हुन्छ। डा. गिरीको राजनीतिक क्षमता सार्वजनिक जीवनमा स्वच्छता उनका विरोधीले पनि स्विकारेका हुन्। जुन व्यवस्थाले उनको राजनीतिक र सार्वजनिक जीवन मेटाउने षड्यन्त्र गर्‍यो। ०३६ सालको जनमतसंग्रहमा पञ्चायतको प्रतिरक्षाको कवच गिरीले उठाए मण्डलेहरूले ‘दात्रीरस’ खडा गरेर डा. गिरीलाई महानायक बनाएर प्रस्तुत गरे। मण्डलेहरूले आयोजना गरेको आमसभामा डा. गिरीले बहुदलपक्षीय नेताहरू बीपीसम्मको चरित्र हत्या गर्ने गरी बोले। जनमतसंग्रहमा पञ्चायतले जितेपछि त्यसको        श्रेय उनले सधैं आफूभन्दा जुनियर मान्ने सूर्यबहादुर थापाले पाए। त्यसपछि बिरक्तिएका गिरीले स्वदेश र स्वधर्म नै परित्याग गरे। सुरुमा        श्रीलंका र त्यसपछि भारतको ब्याङलोरमा बसेका गिरी पत्नी सहारासँगै क्रिस्चियन धर्मावलम्बी बने।

०६१ माघ १९ गते राजाले सत्ता कू गरेपछि राजालाई सहयोग गर्न नेपाल आएर ज्ञानेन्द्रको अध्यक्षतामा गठित मन्त्रिपरिषद्मा प्रथम उपाध्यक्ष बने। सायद उनलाई लाग्यो होला, जसरी ०१७ साल पुस १ गते महेन्द्रले प्रजातन्त्रको हत्या गरेर निरंकुश पञ्चायत सुरु गरेका थिए र ३० वर्ष पञ्चायत व्यवस्था चल्यो। ज्ञानेन्द्रको शासन पनि धेरै वर्ष चल्नेछ।

पुस १ गते सैन्य ‘कु’ गर्नुपहिले राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थिति आफ्नो पक्षमा बनाएका थिए महेन्द्रले त्यसैले पञ्चायत ३० वर्षसम्म चल्यो। त्यसको ठीक विपरीत अन्तर्राष्ट्रिय र आन्तरिक परिस्थिति आफ्नोप्रतिकूल रहेको बेला ज्ञानेन्द्रले सत्ता हातमा लिए। त्यसपछि गिरी फेरि बिदेसिए। गणतन्त्र स्थापनापछि डा. गिरी स्थायीरूपमा नेपालमै बसे। उनको निधन पनि नेपालमै भयो।

अभिनेता मनीषा कोइरालाको बिहेभोजमा डा. गिरी पनि आमन्त्रित रहेछन्। सोल्टी होटेलको विशाल हलमा अन्य व्यक्तिसँगै डा. गिरीलाई पनि देखें। नजिक गएर डा. साहेब नमस्कार भने नमस्कार फर्काउँदै सौहार्द रूपमा भने– होमनाथजी, राजीतिमा असहमत हुँदैमा सामाजिक रूपमा भेटघाट पनि गर्न नहुने हो र ? उनको यो प्रश्नमा कहाँ बस्नु हुन्छ डा. साहेब ?        भने तपाईंकै नेताको घरछेउमा तपाईंको नम्बर दिनुहोस्, फोन गरेर भेट्न आउँछु।

उनले आफ्नो टेलिफोन नम्बर दिए। हामीबीचमा कुरा भइरहेको थियो प्रचण्ड आइपुगे। प्रचण्डलाई देख्नासाथ गिरीले मेरो वाइफ तपाईंको फ्यान भइन् तपाईंसँग भेटेपछि। डा. गिरीको यो शब्द सुनेपछि यस्तालाई के भेट्न जानु भनेर फोन पनि गरिनँ, भेट्न पनि गइनँ। त्यसपछि निधनअघिसम्म गिरीसँग भेट भएन।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.