मोस्ट वान्टेड पशुपती पक्राउ
राजविराज : ‘मोस्ट वान्टेड’ सूचीमा रहेका सिजन नेतृत्वको प्रगतिशील तराई मुक्ति मोर्चाका मुख्य योजनाकार पशुपती चौधरीलाई प्रहरीले बिहीबार सार्वजनिक गरेको छ।
विभिन्न अपराधिक घटनामा संलग्न रहेको आरोपमा मंगलबार प्रहरीले उनलाई कोशी ब्यारेजबाट पक्राउ परेको हो। सप्तरीको खडक नगरपालिका ९ लालपट्टीका ४१ वर्षीय पशुपतीलाई प्रहरीले पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको हो।
नेपाली सेनाका पूर्वजवान उनी त्रिभुवन आर्मी क्लबबाट भलिबल खेल्थे। गोली हान्ने, एम्बुस थाप्ने, धम्कयाउँदै चन्दा माग्ने, लुटपाट गर्ने अपराधिक गतिविधिमा चौधरीको संलग्नता रहेको एसपी राजेन्द्र बिष्टले जानकारी दिए।
सप्तरीको रुपनीमा प्रहरी इनकाउण्टरमा सुरुङ्गा नगरपालिका ६ कडरवोनाका ३० वर्षीय दिपेन्द्र चौधरीको मृत्यु भएको भोलिपल्टै प्रहरीले पशुपतिलाई सार्वजनिक गरेको हो। पशुपति संलग्न अधिकांश घटनामा प्रहरी कारबाहीमा मारिएका मोर्चाका दिपेन्द्र पनि संलग्न रहेको एसपी विष्टले दाबी गरे।
पशुपतिले दश वर्षसम्म नेपाली सेनामा काम गरेका हुन्। नेपाली सेनाबाट राजीनामा दिएर विदेशिएका पशुपती वैदेशिक रोजगारीका लागि कतार र इराक बसेका थिए। पाँच वर्षअघि विदेशबाट फर्किएर विवाह गरेका उनी घरपरिवारसँगै बस्दै आएका छन्।
घरपरिवारसँगै बस्दै आएका पशुपति विभिन्न क्लबबाट भलिबल खेल्नेबाहेक अपराधिक गतिविधिमा संलग्न नरहेको श्रीमती काजलको दाबी छ।
पुर्णिमा मनाउन कोशी ब्यारेज हुँदै सुनसरीको इनरुवा नगरपालिका १ बस्ने भाइ ३९ वर्षीय राजकुमार चौधरीसँग स ५ प ८०० नम्बरको मोटरसाइकलमा श्रीमतीसँगै घर फर्किरहेका बेला सादा पोशाकका प्रहरीले उनलाई पक्राउ गरेका हुन्।