गुराँस जोगाउन पाँचबर्से योजना

गुराँस जोगाउन पाँचबर्से योजना

काठमाडौं : राष्ट्रिय फूल लालीगुराँस मासिने क्रम बढेपछि सरकारले संरक्षण गर्न पाँचबर्से कार्ययोजना बनाएको छ। देशका ४३ जिल्लाको हिमाली र पहाडी क्षेत्रमा पाइने गुराँस उपभोक्ताले जथाभावी उपभोग गर्दा मासिँदै गएपछि सरकारले संरक्षण कार्ययोजना तयार पारेको हो।

हिमाली क्षेत्र र उच्च पहाडी क्षेत्रमा गुराँस बाहेकका वन थोरै भएकाले काठदाउराको अन्य विकल्प अभावमा गुराँस कटान बढ्दै गएको छ। पछिल्लो समय गुराँसका दाउराको अत्यधिक प्रयोग, कोइला बनाउनु, खुला चरन, चोरी निकासी, वनमा जथाभावी सडक निर्माण र डढेलोले गुराँस वन मासिँदै गएको भन्दै वन तथा भूसंरक्षण विभागले ‘गुराँस संरक्षण कार्ययोजना २०७५–२०८०’ तयार गरेको छ। कार्ययोजनाले १० रणनीति र ५२ कार्यनीति तय गरेको छ।

‘विकासका भौतिक पूर्वाधार निर्माण, खेती तथा अन्य प्रयोजनका लागि वन अतिक्रमण बढ्दै गएकोमा पछिल्लो समय बढेको तापक्रम एवं सुख्खापनले गुराँस संरक्षणमा चुनौती थपिएको छ’, वन तथा भूसंरक्षण विभागका उपमहानिर्देशक डा. राजेन्द्र केसीले भने। कार्ययोजनाले गुराँसका प्रजातिको संरक्षण, दिगो व्यवस्थापन र गुराँसकेन्द्रित उद्यम तथा पर्यापर्यटनमा सघाउने उनले बताए। विभागका अनुसार नेपालमा ३१ प्रजातिका गुराँस पाइन्छन्। तीमध्ये लालीगुराँसलाई सरकारले राष्ट्रिय फूल घोषणा गरेको छ।

५ वर्षमा गुराँस वन क्षेत्रको पहिचान, चरन व्यवस्थापन र वृक्षरोपण गरिनेछ भने गुराँसका दाउरा धेरै प्रयोग हुने क्षेत्रमा वैकल्पिक ऊर्जा प्रवद्र्धन गर्ने, सुधारिएको चुल्हो वितरण गर्ने कार्ययोजनामा उल्लेख छ। वन अनुसन्धान विभागका अनुसार देशमा गुराँस मि ि              श्रत वन क्षेत्र ६ लाख ९१ हजार ५ सय ९६ हेक्टर रहेको छ। कार्ययोजना अनुसार गुुराँस वन जोगाउन ५ वर्षमा २० करोड रुपैयाँ बजेट आवश्यक पर्छ। वन तथा वातावरण मन्त्रालयले संघीय सरकार, प्रदेश र स्थानीय तहसँगको समन्वय, सहकार्यमा कार्ययोजना कार्यान्वयन गर्नेछ।

प्रदेश १ अन्तर्गत संखुवासभा, तेह्रथुम र ताप्लेजुङको संगमस्थलमा रहेको टीएमजे (तीनजुरे–मिल्के–जलजले) क्षेत्रको वनलाई देशमा गुराँसको राजधानी मानिन्छ। त्यहाँ समेत मासिने क्रम बढेकाले संरक्षणमा तत्काल पहल थाल्ने विभागले जनायो। विभागका अनुसार संरक्षित क्षेत्र र मध्यवर्ती क्षेत्रमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभाग र संरक्षित क्षेत्रभन्दा बाहिर वन तथा भू–संरक्षण विभाग, प्रदेश वनलगायतले कार्ययोजना कार्यान्वयन गर्ने छन्। गुराँसको लोपोन्मुख प्रजातिको संरक्षणका लागि वनस्पति विभागले र अध्ययन अनुसन्धानका लागि वन अनुसन्धान तथा तालिम केन्द्रले संयोजन गर्नेछ।

सोलुखुम्बू, इलाम, प्रदेश ३ को दामन–सिमभञ्ज्याङ र रसुवा क्षेत्र, गण्डकी प्रदेशको घोडेपानी, लमजुङ र म्याग्दी क्षेत्र, कर्णाली प्रदेशको रुकुम, मुगु, हुम्ला, डोल्पा, जुम्ला, दैलेखमा गुराँसका वन छन्। विभागका अनुसार सुदूरपश्चिम प्रदेशको बझाङ, बाजुरा, दार्चुला, डोटी, डडेल्धुरा र बैतडी क्षेत्रमा समेत गुराँसका जंगल छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.