काठ चोरीनिकासी गर्नेलाई स्थानीयले नै पक्राउ गरी प्रशासनलाई बुझाए
नुवाकोट : नुवाकोटको सामुदायिक जंगलको काठ अवैध रुपमा चोरी गरी बिक्रीका लागि लिएर जाँदै गरेको अवस्थामा चारजना पक्राउ परेका छन् ।
तारकेश्वर गाउँपालिका–४, बुधसिंहस्थित नेवारपानी ढोडपाखा सामुदायिक वनबाट चोरी गर्ने चारजनालाई ढोडपाखा सामुदायिक वन उपभोक्ता समुहले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा गाडी चालक नुवाकोट शिवपुरी गाउँपालिका–३ का २३ वर्षीय राजेश तामाङ, सोही स्थानका २० वर्षीय टीका लामा, २२ वर्षीय राजकुमार लामा तथा सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–४ का १९ वर्षीय सुजन तामाङ छन् ।
एक लाख रुपैयाँ बराबरको काठ गाडीमा लोड गरी बिक्रीका लागि लिएर जाँदै गरेको अवस्थामा गाडी सहित उनीहरुलाई स्थानीयले नै पक्राउ गरी वन कार्यालयमा बुझाए ।
चारैजना विरुद्ध कारवाहीको लागि अदालतमा मुद्दा दायर गरिएको छ ।
चोरीमा संलग्न चारजनाबाट ६२ गोलिया खोटेसल्लाको काठ र उनीहरुले प्रयोग गरेको बा ४ ख ६३५१ नम्बरको आइचर मिनिट्रक पनि नियन्त्रणमा छ । पक्राउ परेका चारैजनालाई वन ऐनअनुसार नुवाकोट जिल्ला अदालतबाट कारवाहीका लागि अनुसन्धान प्रक्रिया अघि बढाउन म्याद थप गरेको वन कार्यालयले जनाएको छ ।