वर्षाले दस करोडौंको काँचो इँटा नष्ट

वर्षाले दस करोडौंको काँचो इँटा नष्ट

भक्तपुर : बिहीबार, शुक्रबार र शनिबार तीन दिन परेको पानीले भक्तपुरका इँटा उद्योग व्यवसायीहरुको करिब दस करोड रुपैयाँ बराबरको काँचो इँटा नष्ट गरेको छ।

भक्तपुर इँटा उद्योग व्यवसायी संघका अनुसार पानीले एउटा इँटा उद्योगका मजदुरहरुले तयार गरेको करिब १५ लाख रुपैयाँ बराबरको काँचो इँटा नष्ट भएको हो। संघका अध्यक्ष नातिभाइ ह्योम्बाले वर्षाले जिल्लाका इँटा उद्योगका करिब १० करोड रुपैयाँ रुपैयाँ बराबरको काँचो इँटा नष्ट भएको जानकारी दिए। वर्षाले इँटा उद्योगको करिब ४० प्रतिशत काँचो इँटा नष्ट भएको उनको भनाइ थियो।

पानीले खलामा भएका इँटा माटोमै परिणत भएका छन्। त्यस्तै इँटाका चाङ लडेका छन्। खलाभरि पानी जम्दा वर्षा रोकिए पनि मजदुरले काम सुरु गर्न सकेका छैनन्। अधिक वर्षाले मजदुरहरु बस्दै आएका झ्याउलीमा समेत क्षति पुर्‍याएका छन्।

अध्यक्ष ह्योम्बाले तीनदिनको वर्षाले एक हप्ता काम रोक्नुपर्ने देखिएको सुनाए। ‘वर्षाको कारण मजदुरले खलाको इँटासमेत उठाउन भ्याएनन्’, उनले भने, ‘जसले गर्दा खलाभरि पानी जमेको छ। खला सुक्न नै एकहप्ता लाग्ने भयो।’

इँटा उद्योग व्यवसायीहरुका अनुसार काँचो इँटाको अभावले भट्टीको आगो नै निभाउनुपर्ने समस्या आइलागेको छ। वर्षाले धेरैजसो इँटाको चाङ लडाएका छन्। ठडिएका चाङका पनि तल र माथिका चारचार लाइन इँटा काम नै नलाग्ने भएको इँटा उद्योग व्यवसायी केशव चवाल बताउँछन्। उनका अनुसार वर्षाले भिजेका इँटा सुक्नै समय लाग्ने भएको छ। जसले गर्दा भट्टीको आगो निभाउनुपर्ने बाध्यता आउने उनको भनाइ थियो।

वर्षाले दस करोडको इँटा नष्ट भएपछि व्यवसायीहरुले पाको इँटाको भाउ बढाउने तयारी गरेका छन्। वर्षाले एकातिर मजदुरहरुले एक हप्ता कामविहीन हुने भएका छन् भने अर्कोतिर व्यवसायीहरुले घाटा व्यहोर्नुपर्ने भएका छन्। काम नभएपछि मजदुरहरुले पनि इँटाको रकम नपाउने भएका छन्।

त्यसैले मजदुर र इँटा उद्योग व्यवसायी दुवैले व्यहोर्नुपर्ने क्षतिको मूल्यांकन गरी पाको इँटाको करिब दस प्रतिशत भाउ बढाउने तयारी गरिएको संघले बताएको छ।
‘क्षतिको विवरण संकलन गर्दैछौं’, अध्यक्ष होम्बाले भने, ‘क्षतिको मूल्यांकन गरी करिब दस प्रतिशत भाउ बढाउन व्यवसायीहरुलाई भनेका छौं।’ वर्षाअघि एक नम्बर इँटाको इँटको गुणस्तरअनुसार १५ हजारदेखि १८ हजार रुपैयाँसम्म मूल्य थियो।

जिल्लामा ६३ वटा इँटा उद्योग रहेका छन्। जसमध्ये ६१ वटा इँटा उद्योग संघमा आवद्ध रहेका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.