भ्रष्टाचारको मानवशास्त्र

भ्रष्टाचारको मानवशास्त्र

भ्रष्टाचारमाथि लेख्ने हो भने नेपाली समाजले क्रमशः सदाचार गुमाउँदैछ र यो समाज भ्रष्टाचार उन्मुख हुँदै गएको देखिन्छ। नेपाली समाज हिजोको मौलिक मूल्य–मान्यताबाट क्रमशः च्युत हुँदै जाँदो छ। र, समाज बजारकेन्द्रित भ्रष्ट मूल्यलाई मान्यता दिने दिशातर्फ विकसित हुँदैछ। यस विषय बुझ्न सुरुमा सामाजिक मूल्य, सामाजिक मान्यता, सामाजिक संस्था के हो भन्नेबारे बुझ्नु जरुरी छ।

शब्दका रूपमा ‘मूल्य’ एउटै शब्द भए पनि यसको अर्थ शास्त्रअनुसार फरक हुन्छन्। अर्थशास्त्रमा ‘मूल्य’ भनेको कुनै वस्तु प्राप्त गर्न कुनै व्यक्तिले कति त्याग गर्न वा कति रुपैयाँ खर्च गर्न तयार छ भन्नेले जनाउँछ। भाषाशास्त्रमा ‘मूल्य’ शब्दले ‘अर्थपूर्ण भिन्नता’ वा ‘महŒव’ भन्ने बुझाउँछ। मानवशास्त्रमा ‘मूल्य’ भन्नाले ‘मानव जीवनका लागि वा मानवीय सामाजिक जीवनका लागि सबैभन्दा असल, ठीक वा मुख्य अभीष्ट के हो’ भन्ने बुझिन्छ।

जीवनमा के कुरा पूरा गरियो भने जीवन सफल र सुखी भएको मानिन्छ ? अर्थात् जीवनमा के कुरालाई चाहिँ सबैभन्दा मूल्यवान् मानिन्छ होला ? यसलाई मूल्यको मानवशास्त्रीय अर्थ–सन्दर्भमा बुझ्नुपर्छ। आज नेपालको शासन, प्रशासन प्रणाली वा समाजमा अचम्मलाग्दो मात्रामा भ्रष्टाचार भए–गरेको बारे पढ्न, सुन्न पाइन्छ। मानवशास्त्रीय ढंगमा भ्रष्टाचारको अर्थ बुझ्नका लागि ‘मूल्य’, ‘मान्यता’, ‘संस्था’को मानवशास्त्रीय अर्थ बुझ्नुपर्छ। यसले नेपाली समाजले हिजो–आज कसरी भ्रष्टाचारलाई स्वीकार गर्दै आएको छ भन्ने बुझ्न सजिलो हुनेछ। अर्थात् नेपाली समाजमा कसरी भ्रष्टाचार संस्थागत हुँदै गएको छ भन्ने विषय बुझिन्छ।

जीवनमा कुन विषयलाई मूल्यवान् मानिन्छ ? कुनै व्यक्ति समाजमा जन्मे–हुर्केपछि धेरै पढोस्, राम्रो नोकरी गरोस्, परिवार बसाओस्, घर, कार व्यवस्थित होस्, सम्पत्ति आर्जन गरोस्, सन्तानलाई राम्रो शिक्षादीक्षा दिन सकोस्– व्यक्तिगत जीवनमा मूल्यवान् भनिएका–ठानिएका विषय यिनै हुन सक्छन्। यी सामाजिक रूपमा स्थापित मूल्यहरू हुन्। यसरी तरक्की गर्ने व्यक्तिलाई समाजले स्याबासी दिन्छ, आदर गर्छ। सामाजिक मूल्य भनेको यही त हो। तर, जीवनलाई मूल्यवान् बनाउने वा जीवनमा मूल्यवान् ठानिएका विषयलाई प्राप्त गर्ने कसरी ? समाजले संस्थागत गरेका मूल्यहरू व्यक्तिगत जीवनमा प्राप्त गर्ने उपायहरू के हुन् ?

मूल्यवान् मानिएका विषय प्राप्त गर्न जुनसुकै बाटो अपनाउन सकिन्छ भन्ने हुँदैन समाजमा। समाजले स्थापित गरेका उपाय र बाटोहरू पहिल्याएर नै जीवनमा मूल्यवान् मानिएका कुराहरू प्राप्त गरिने हो। सोही स्थापित उपाय अर्थात् व्यक्तिहरू यसरी अघि बढुन्, यसरी व्यवहार गरुन्, यसरी तरक्की गरुन् भनेर समाजले व्यक्तिहरूबाट जुन अपेक्षा राख्छ, त्यसैलाई ‘मान्यता’ भनिन्छ। त्यसो हुँदा व्यक्तिहरूले जुन तहको शैक्षिक, आर्थिक, राजनीतिक वा कुनै पनि खाले प्रगति गर्छन् त्यस्ता प्रगति गर्ने बाटोलाई समाजले ‘मान्यता’ तय गरिदिएको हुन्छ।

 मान्यता प्राप्त बाटो हिँडेर, समाजले स्थापित गरेको मूल्यवान् कुरा प्राप्त गर्न सक्ने चाहिँ सदाचारी व्यक्ति हो। समाजमा मान्यता प्राप्तभन्दा फरक उपाय रचेर जो धनी हुन्छ, जसले चोरचार गरेरै वा प्रमाणपत्र किनेरै शैक्षिक प्रगति गर्छ, त्यो व्यक्ति भ्रष्टाचारी हो।

कडा अध्ययन, सोही मुताबिकको चिन्तन र निरन्तरको लेखनले मानिसको शैक्षिक प्रगति हुन्छ। यस्तै परि श्रमको कमाइबाट आर्थिक रूपले सम्पन्न हुँदै जानुपर्छ भन्ने पनि सामाजिक मान्यता छँदैछ। राजनीतिमा पनि त्यही हो। एकै वाक्यमा भन्ने हो भने समाजमा मान्यता प्राप्त बाटो हिँडेर समाजले स्थापित गरेको मूल्यवान् कुरा प्राप्त गर्न सक्ने चाहिँ सदाचारी व्यक्ति हो। यसै अनुसार हेर्दा पनि समाजमा मान्यता प्राप्त उपायभन्दा फरक उपाय रचेर जो धनी हुन्छ, जसले त्यस्तै चोरचार गरेर वा प्रमाणपत्र किनेर शैक्षिक प्रगति गर्छ, त्यो व्यक्ति भ्रष्टाचारी हो।

तर भ्रष्टाचार नेपाली समाजमा स्वीकृत हुँदै आएको भान हुन्छ हिजो–आज। उदाहरणका लागि, कुनै व्यक्तिले अकुत सम्पत्ति कमायो। मानिलिउँ भ्रष्टाचार गरेरै सम्पत्ति कमायो, जोड्यो– त्यस्ता व्यक्तिलाई त्यही व्यक्तिको समाजले समेत पनि अस्वीकार गर्ने, बहिष्कार गर्ने आँट गरेको देखिँदैन। बरु अनेक उपाय रचेर समाजमा थप प्रतिष्ठित व्यक्तिको रूपमा कतिपय भ्रष्टहरूसमेत स्थापित भएका देखिन्छन्।

यसरी समाजले नै जानाजान भ्रष्टहरूलाई झनै प्रतिष्ठित मान्नु भनेको समाजमा भ्रष्टाचार संस्थागत हुँदै जानु हो। अर्थात् जसरी भए पनि, जस्तोसुकै वा आपराधिक बाटो अपनाएर भए पनि धनी हुनुपर्छ भन्ने कुरा नै ‘मान्यता’को रूपमा विकसित हुनु भनेको समाजमा भ्रष्टाचार संस्थागत हुँदै जानु हो भन्ने मानिन्छ। अझ भन्ने हो भने मौका पाउँदा पनि भ्रष्ट हुन नसक्ने, आर्थिक जोहो गर्न नसक्नेलाई आफ्नै समाजका छरछिमेकले समेत ‘यसले मौका पाउँदा त केही जोड्न सक्दैन, यसले केही गरिखाँदैन’ भनेर उसको खिल्ली उडाइन्छ। यो पनि समाजमा भ्रष्टाचार स्वीकार्य हुँदै छ भन्ने एउटा दरिलो उदाहरण हो।

समाजमा भ्रष्टाचार रोक्नका लागि कानुन, जेल, नेल मात्र पर्याप्त हुँदैन। हामी बाँचेकै समाज र हाम्रो आफ्नै सामाजिक संस्थाले यस विषयमा पहल गर्नुपर्छ। अहिलेको नेपाली समाजमा हरेकैजसो जात, थरअनुसारका वंशावली निर्माण गरिने, आफ्नै सामाजिक संगठन बनाउने चलनै बसिसकेको छ। थर अनुसारका ‘समाज’हरू प्नि गठन गरिएका छन्। त्यस्ता संस्थाले पनि ती थर वा जातबाट चिनिएका कोही भ्रष्टाचारी भए, त्यस्तालाई सामाजिक रूपमा बहिष्कार गर्ने चलन सुरु भएझैं लाग्दैन।

हिजोको कालमा कोही भ्रष्ट भए कुल, समाजबाट निकालिन्थ्यो होला। त्यसैले त हाम्रो समाजमा ‘कुलंगार’ भन्ने शब्द प्रचलित छ। कुनै भ्रष्टाचारीलाई उसैको समाजले ‘कुलंगार’ घोषित गरेर कुलपूजा, देवालीजस्ता विशेष कार्यमा सामेल नै गराएनन् भने आफ्नै समाजबाट बहिष्कृत हुने त्रासले पनि भ्रष्टाचार केही हदसम्म नियन्त्रण हुन्थ्यो।

मानिसको सबैभन्दा ठूलो सम्पत्ति भनेको समाज नै हो। समाजबाट बहिष्कृत जीवन मानवको लागि सह्य हुन सक्दैन। त्यसैले नेपाली समाजमा पनि भ्रष्टाचारी प्रमाणितहरूको आफ्नै सामाजिक संस्था, कुल, कुटुम्ब दुवै पक्षले बहिष्कार गर्ने कार्यको सुरुआत गरियो भने संस्थागत हुँदै गएको भ्रष्टाचारले सामाजिक मान्यता गुमाउँदै जानेछ।

(डा. चेमजोङ त्रिवी मानवशास्त्र केन्द्रिय विभागका प्रमुख हुन्)      


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.