घरको छतमा घडी राखेर घण्टाघर
नुवाकोट : वेत्रावतीका एक युवाले आफ्नै घरमा घण्टाघर निर्माण गरेका छन्। विदुर नगरपालिका १० वेत्रावतीका योगेश डंगोलले आफ्नो घरको छतमा सबैले देख्ने गरी ठूलो घडी राखेर घण्टाघर बनाएका हुन्।
पासाङ ल्हामु मार्गको काठमाडौं-त्रिशूली-धुन्चे सडकमार्गको बीचमा रहेको घरमा डंगोलले सबैले देख्नेगरी आकर्षक घण्टाघर निर्माण गरेका हुन्। घडीले हरेक घण्टा आसपासमा सुनिने गरी घण्टा हान्छ। बिजुलीबाट चल्ने यो घडी भारतबाट १० लाख रुपैयाँमा किनेको डंगोलले बताए।
हातहातमा मोबाइल लगायत डिजिटल प्रविधिको प्रयोगले घडीको प्रयोग घटिरहेका बेला घरको छतमा बनेको घण्टाघर देख्दा स्थानीयवासीहरूले पनि रमाइलो मानेका छन्।
९ वर्षदेखि अमेरिकाको न्युयोर्कमा बसोबास गर्दै आएका डंगोलले व्यक्तिगत लगानीमा घण्टाघर बनाएर समयको महत्व दर्साएको स्थानीयवासी बताउँछन्।