आयोजक सैनिक र जेम्सको विजयी सुरुवात

भक्तपुर : आयोजक सैनिक महाविद्यालय र जेम्स स्कुलले भक्तपुरमा मंगलबारदेखि सुरु भएको विद्यालयस्तरीय १२ औं प्रधानसेनापति कप टी ट्वेन्टी क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेका छन्।
भक्तपुरको सल्लाघारीस्थित सैनिक आवासीय महाविद्यालयको क्रिकेट मैदानमा सुरु भएको प्रतियोगितामा आयोजक सैनिकको ए टीमले भक्तपुरको जनप्रेमी स्कुललाई ९ विकेटले हराएको हो।
टस जितेर पहिले ब्याटिङ रोजेको जनप्रेमीले २० ओभरमा अलआउट हुँदै जम्मा ५५ रनमात्रै जोडेको थियो। उसको लागि संगम सेढाईंले ११, राजीवजंग कार्की र अलिश तामाङले समान ७ रनको योगदान गरे।
बलिङतर्फ सैनिकका क्रिश कार्कीले जम्मा नौ रनको क्षतिमा सर्वाधिक ६ विकेट लिए। उक्त खेलका म्यान अफ द म्याच घोषित कार्कीले चार ओभर बलिङ गरेका थिए।
त्यस्तै सुधीर बस्नेतले ६ रन दिएर दुई विकेट झारे। जवाफी व्याटिङमा ओर्लेको सैनिकले ६ ओभर २ बलमै जम्मा एक विकेटको क्षतिमा लक्ष्य भेट्टाएको थियो। सैनिकको लागि निश्चल तामाङले अविजित ३४ रन जोड। २३ बलको सामना गरेका उनले सात चौका प्रहार गरेका थिए।
त्यस्तै जवाफजंग मल्लले दुई चौकाको मद्दतमा १० रन जोड। बलिङतर्फ जनप्रेमीका संगम सेढाईंले मात्रै एक विकेट लिए।
त्यस्तै दोस्रो खेलमा जेम्स स्कुलले आयोजक सैनिकको बी टीमलाई ९ विकेटले हराएको छ। टस जितेर व्याटिङमा ओर्लेको सैनिक २० ओभरमा ६ विकेट गुमाएर ६६ रनमा समेटिएको थियो। उसको लागि पुजन फुयालले तीन चौकाको मद्दतले २४, सुजन तामाङले तीन चौका हान्दै १२ र विकेश श्रेष्ठले ११ रनको योगदान गरे।
बलिङतर्फ जेम्सका आइस भट्टराई, सुजल ओली र अर्पण अधिकारीले एकएक विकेट लिए।
जवाफी व्याटिङमा ओर्लेको जेम्सले ९ ओभर २ बलमै एकमात्र विकेटको क्षतिमा ७० रनको योगफल तयार गर्दै जीत निकाल्यो। उसको लागि आइस भट्टराईले अविजित रहँदै सर्वाधिक ४५ रन जोडे। उक्त खेलका म्यान अफ द म्याच घोषित भट्टराईले ३४ बलमा आठ चौका प्रहार गरेका थिए। त्यस्तै आश्रय कँडेलले अविजित रहँदै ९ र विराट आचार्यले ६ रनको योगदान गरे।
बलिङतर्फ सैनिकका ध्रुव विष्टले मात्रै एक विकेट लिएका थिए। प्रतियोगितामा काठमाडौं उपत्यका र काभ्रेका १७ वटा विद्यालयहरुको सहभागिता रहेको सैनिक महाविद्यालयका खेलकुद इन्चार्ज रञ्जित राणाले जानकारी दिए।
उनका अनुसार १७ विद्यालयलाई चार वटा समूहमा बाँडिएको छ। लिगको आधारमा हुने समूहका उत्कृष्ट दुई टीम सीधै क्वार्टरफाइनलमा प्रवेश गर्ने उनले बताए।
प्रतियोगिताको दोस्रो संस्करणदेखि आयोजक सैनिक अपराजित रहँदै आएको छ। आयोजक सैनिक स्कुलका अनुसार यस वर्ष नगद पुरस्कार बढाइने भएको छ। गत वर्ष विजेताले २५ हजार रुपैयाँ नगद पुरस्कार पाएको थियो।
प्रतिक्रिया दिनुहोस !
