प्लानिङ ब्वाइज र माउन्ट भ्याली उपाधि नजिक

भक्तपुर : भक्तपुरमा जारी दोस्रो सुटर्स कप फुटबल प्रतियोगिताको उपाधिको लागि काठमाडौंको पेप्सीकोलास्थित प्लानिङ ब्वाइज युनाइटेड र भक्तपुरको माउन्ट भ्याली भिड्ने भएका छन् ।
सुटर्स फुटसलद्वारा आयोजित प्रतियोगिताअन्तर्गत शुक्रबार भएका सेमिफाइनलमा जीत हात पार्दै प्लानिङ ब्वाइज र माउन्ट भ्याली उपाधि नजिक पुगेका हुन् ।
माउन्ट भ्याली प्रथम सुटर्स कपको विजेता टीम हो। प्लानिङ ब्वाइज भने पहिलो सहभागितामै सेमिफाइनल पुग्न सफल भएको छ ।
भक्तपुरको माहेश्वरी खेल मैदानमा भएको सेमिफाइनलमा प्लानिङ ब्वाइजले भक्तपुरको शिव शिखर भक्तपुर जिल्ला फुटबल क्लव एसोसियसनलाई ट्राई ब्रेकरमा ४- १ गोलले पन्छाएको हो।
७० मिनेटको निर्धारित खेल दुवै टीम गोलरहित बराबरी रहे। जसले गर्दा सीधै पेनाल्टी प्रहार गराइएको थियो। जसमा प्लानिङ ब्वाइजका चार खेलाडी बललाई जाली चुमाउन सफल भए तर एसोसियसनका एकजनामात्रै खेलाडीको प्रहार सफल भएको थियो ।
एसोसियसनका तर्फबाट एन्फाको ए डिभिजन खेल्ने चार विदेशी खेलाडीलाई मैदानमा उतारेको थियो तर शुक्रबार सेमिफाइनल खेलमा उनीहरुले कुनै जादू देखाउन सकेनन् ।
शुक्रबार नै भएको अर्को सेमिफाइनल खेलमा पनि माउन्ट भ्यालीले आयोजक टीम सुटर्सलाई ट्राई ब्रेकरमै ४-१ गोलले हराएको थियो। ७० मिनेटको निर्धारित खेलमा दुवै टीमबाट एकएक गोल गरेका थिए।
खेलको नवौं मिनेटमै गोल गर्दै बुसारीले माउन्ट भ्यालीलाई अग्रता दिलाएका थिए। माउन्ट भ्यालीले पनि एन्फाको ए डिभिजन खेल्ने तीन विदेशी खेलाडीलाई मैदानमा उतारेको थियो ।
त्यस्तै दोस्रो हाफको २० औं मिनेटमा अरुण तामाङले गोल गर्दै टीम सुटर्सलाई बराबरीमा ल्याए। बाँकी समयमा दुवै टीमबाट गोल हुन नसकेपछि पेनाल्टी प्रहार गराइएको थियो ।
पेनाल्टी प्रहारमा माउन्ट भ्यालीका चार खेलाडीले बललाई जाली चुमाए भने आयोजक सुटर्सका एकमात्रै खेलाडीको प्रहार सफल भएको थियो। प्रतियोगिताअन्तर्गत शनिबार फाइनल तथा पुरस्कार वितरण हुने आयोजक सुटर्स फुटसलका अध्यक्ष रमेश सुवालले जानकारी दिए।
प्रतियोगिताको विजेताले उपाधिसँगै एकलाख रुपैयाँ नगद पुरस्कार हात पार्नेछ। उपविजेताले भने पचास हजार रुपैयाँमै चित्त बुझाउनुपर्नेछ। प्रतियोगितामा काठमाडौं उपत्यका र काभ्रेका गरी २४ टीमको सहभागिता रहेको थियो।
प्रतिक्रिया दिनुहोस !
