स्वतन्त्र भइन् ‘पिँजडाकी चरी’
काठमाडौं : सर्वनाम नाटक घरमा माघ १८ देखि मञ्चित ‘पिँजडाकी चरी’ नाटक शनिबार सकिएको छ।
नाटक कमलरीको विषयमा आधारित थियो। भूमिका थारुले लेखेको कविता ‘म एक कमलरी,’को थिमलाई थियटर डेला अर्डिनेर फ्रान्सका युवा रंगकर्मी तथा नाटक निर्देशक म्याक्सिम सिसडले नाटकमा रुपान्तरण गरी ‘पिँजडाकी चरी’ बनाएका थिए। यो कवितालाई नाटक बनाउन उनलाई करिब एक वर्ष लागेको थियो।
निर्देशक म्याक्सिम एक साता नाटक मञ्चन गराइ फ्रान्स फर्किसकेका छन्। त्यसैले, नाटकका कलाकारहरु खास गरी अन्तिम शो पछि निर्देशकको अभाव महशुश गर्दै थिए। म्याक्सिम फ्रान्समा थुप्रै राजनीतिक मुद्दालाई लिएर नाटकहरु मञ्चन गरिसकेका छन्। नेपाली नाटकका कलाकार र उनीबीच भाषाले भने केही अप्थ्यारो बनायो। उनले नेपाली भाषा नबुझे पनि नेपाली कलाकारहरुसँग काम गर्दा खुशी लागेको बताए।
‘पिँजडाकी चरी’ नाटक हेर्न आएका सर्वनामका संरक्षक नाट्यकर्मी अशेष मल्लले भने, ‘रंगमञ्चको कुनै भाषा हुँदैन, कुनै देश हुँदैन, म्याक्सिमको यो प्रस्तुति विश्वका रंगकर्मीहरुलाई एउटा सुत्रमा बाँध्ने क्रमको निरन्तरता हो।’
०००
मञ्चको बीच भागमा पर्दा टाँगेर दुइटा गाउँ छुट्टिने चित्र कोरिएको कपडा झुण्ड्याइएको छ। एउटा गाउँ मोहनको हो, जो हजुरबासँग बस्छ। अर्को गाउँ सुख्लीको हो, जो हजुरआमासँग बस्छिन्। मोहन र सुख्लीबीच प्रेम छ। तिनको स्वामित्वमा रहेको जग्गा पहाडको जमिन्दार दयारामले मंत्रीलाई खुशी पारेर आफ्नो नाममा लालपूर्जा बनाउँछ। त्यसपछि मोहन बागी बन्छ, उसले हतियार उठाउँछ।
खाने जोहो गर्न नसक्दा हजुरआमाले नातिनी कुसुमलाई दयारामको घरमा कमलरी पठाउँछिन्। सुख्ली दिदीलाई छुटाएर ल्याउँछु भन्दै उ पनि दयारामको घरमा कमलरी बन्न जान्छे। बागी मोहनले जमिन्दार दयारामलाई मार्छन्। सुख्ली स्वतन्त्र हुन्छे। नाटकको कथासार यत्ति हो।
०००
यो नाटकको प्रस्तुति नै बेग्लै थियो। जस्तो कि जमिन्दार दयारामले जमिन हड्पेपछि चार जनाको टोली पीडा सुनाउन मंत्री क्वार्टर लाग्छ। ठूलो स्वरले कराएपनि मंत्री बाहिर आउँदैनन्। नाटक टोली अलमलमा पर्छ। ‘नाटकमा हामी जम्मा चारजना कलाकार छौं। सबै यही भएपछि मंत्री कसरी बाहिर आउँछ ?’ एक कलाकारलाई मंत्री बन्ने पालो त तिम्रो पो हो भनेपछि उ दौडिदै मञ्चपछाडि गएर मंत्रीको भेषमा टुपुल्किन्छ। नाटकमा यस्तो घटनाले हास्यपरिवेश ल्याउँछ।
नाटकमा सुत्राधार र सुख्ली बनेकी भूमिका थारु, दयाराम र मोहन बनेका मनोज महर्जन, हजुरबा र मंत्री बनेका पाश्लाक्पा शेर्पा, हजुरआमा बनेकी सुनिता बाडे सबैको अभिनयमा निखार थियो। कलाकार भूमिका थारु भन्छिन्, ‘वास्ताविक मुहारमा अभिनय गर्दा मुहारको भावभंगीले जति सहज हुन्छ। माक्स लगाएर त्यो नहुँदो रहेछ। यो त नाटकभित्रकै अर्को नाटक रहेछ।’
विश्व परिवेशलाई लक्षित गरेर बनाइएको कथाबस्तुका कारण नाटकका गरीब पात्रलाई नेपालका कुनै जातिको रुपमा नभइ ‘तारा’ जातिको रुपमा इंगित गरिएको थियो। यो भनेको थारु जातिलाई नै भनिएको हो भन्ने दर्शकले स्वतः थाहा पाउँछन्। कारण सुख्लीले माघीमा स्वतन्त्र भएँ अब चल्दैन तिमीहरुको ज्यादति भन्दै हुँकार गर्छे, ‘आज दिन फेरिएको छ, मेरा पखेटाहरु फरफराउन थालेका छन्। म आजाद भएकी छु बिल्कुल आजाद।’