घमण्डी कछुवा
नानी बाबुहरू हो, तिमीहरूले खरायो र कछुवाको दौडको कथा पक्कै पनि सुनेका, पढेका हौला। यो कथामा एउटा घमण्डी खरायो हुन्छ। म त जाबो कछुवालाई दौडमा जितिहाल्छु नि भनेर दौड प्रतियोगितामा निदाउँछ। उता कछुवाचाहिँ लगातारको ढिलो हिँडाइले पनि दौड जित्न सफल हुन्छ।
खरायो र कछुवाको मोटमोटी कथा त्यति हो। तर, म आज दौड जित्ने त्यही कछुवाको पछिको थप कथा तिमीहरूलाई सुनाउँछु है त।
धेरै वर्ष अघिको कुरा हो। एउटा कछुवा कुनै ठूलो पोखरीमा बस्ने गथ्र्यो। जहिलेदेखि त्यो कछुवा खरायोसँगको दौड जित्न सफल भएको थियो, त्यस बेलादेखि ऊ निकै घमण्डी स्वभावको भएको थियो। एकपटक खरायोसँगको दौड ख्यालख्यालमै के जितेको थियो, जुनसुकै प्रतियोगिताको प्रसंग उठेमा पछि नहट्ने उसको बानी भएको थियो।
एक दिन त्यो कछुवा आफू बस्ने पोखरी किनारमा गएर जोड जोडले चिच्याउन थाल्यो, ‘कोही छ, मसँग दौडमा जित्न सक्ने ? लौ आओ।’
कछुवाको चिच्याहट सुनेर पोखरीका केही माछा पानी भित्रबाट माथि तैरिए। ठूल्ठूला माछाले त कछुवाले हाँक दिएको कुनै वास्तै गरेनन्। एउटा सानो माछाले भने सोधिहाल्यो, ‘ए कछुवा दाइ, पानीमा दौडिने कि जमिनमा ? ’
कछुवाले खरायोसँगको दौड जमिनमा जितेको थियो। त्यसैले जमिनमा दौडिने भन्यो। कछुवाको कुरा सुनेर सानो माछो मरीमरी हाँस्न थाल्यो। सानो माछोले हाँसो रोक्दै भन्यो, ‘तिमी कछुवा दाइ पनि मुर्खै रहेछौ। हामी माछाहरू पानीबाहेक जमिनमा कसरी दौडिन सक्छौं र ? त्यहाँ त तिमी त्यसै जितिहाल्छौ नि।’
आफूलाई सानो माछोले मूर्ख भनेपछि कछुवालाई सहिनसक्नु रिस उठ्यो। त्यसैले रिसले चुर हुँदै उसले सानो माछालाई हाँक दियो, ‘ल फुच्चे, त्यसो भए पानीमै दौडिने ल।’
अब कछुवा र सानो माछोको दौड सुरु भयो। माछासँग कछुवा जित्न सक्ने कुरै थिएन। तर, सानो माछालाई आफू हारेरै खेलेको मज्जा लिन मन लाग्यो। त्यसैले ऊ विस्तारै पौडियो। उता कछुवा आफ्नो शक्तिले भ्याएसम्म पौडिरहेको थियो। यसरी यसपल्ट समेत दौड कछुवाले नै जित्यो।
‘देखिस् फुच्चे माछो। मसँग खुब फूर्ति लाउँथिस् नि। आखिर तँसँग त म जितैरै छाडेँ’, कछुवाले गजक्क परेर भन्यो।
सानो माछोलाई भने कछुवाको घमण्ड देखेर भित्रभित्रै हाँसो उठिरहेको थियो। तै पनि उसले आफ्नो हार स्वीकार गर्दै भन्यो, ‘लौ कछुवा दाइ, यसपालि त म अलि बिरामी थिएँ र हारेँ। कुनै दिन फेरि दौडौंला है।’
कछुवाले घमण्डका साथ छाती फुलाउँदै भन्यो, ‘तँ हारेको फुच्चे माछोसँग त अब म के दौडिन्छु र ? बरु तेरो बाबासँग भने दौडिन तयार छु।’
दुई दुईजना प्राणीसँग दौडमा जितेको कछुवा आफ्नो बासस्थानको पोखरी छाडेर हिँड्यो। उसलाई त अरू प्रतियोगीसँग पनि जित्नु थियो। त्यसैले अरू प्रतियोगी खोज्न हिँड्यो। हिँड्दा हिँड्दै ऊ नारायणी नदी किनारमा पुग्यो। नदी किनारमा पुगेर उसले फेरि हाँक दिन थाल्यो, ‘कोही छ यो कछुवासँग दौडमा जित्न सक्ने ? ’
नदी किनार छेउमा एउटा गोही थकाइ मार्न आइपुगेको थियो। कछुवाको हाँक सुनेर गोहीले बेमनले भन्यो, ‘पहिला पानीमा त आऊ मित्र।’
कछुवा छ्वाप्लांग नदीमा कुद्यो। कछुवाको जीउडाल देखेर गोहीलाई हुन सम्मको हाँसो उठ्यो। गोही फुटेको दमाहाजस्तो स्वरमा हाँस्यो। कछुवाले भन्यो, ‘सबै दाँत देखाएर के हाँसेको ही ही ही ही। सक्छौ भने मसँग दौड न। मैले खरायो र माछासँग त दौडमा जितिसकेको छु भने तिमी त के हौ र ? ’
गोहीले भन्यो, ‘साँच्चिकै दौडिने त ? ’
कछुवाले भन्यो, ‘दौडिने नि। त्यही दौडिने प्रतियोगी खोज्दै त आको।’
‘त्यसो भए ढिला नगरौं’, गोहीले भन्यो।
गोहीले प्रस्ताव राख्यो, ‘लौ मित्र, पानी बगेको दिशामा त जोकोही पनि दौडिन सक्छ। लौ अब पानी बग्ने विपरीत दिशा उँभोतिर दौडौं। कसले जित्न सक्छ।’
कछुवाले गोहीको त्यो प्रस्ताव पनि तुरुन्तै मान्यो। गोही र कछुवाको दौड सुरु भयो। गोहीलाई जित्न भित्रैदेखि बल निकालेर कछुवा दौडियो। एकछिन त ऊ अघिअघि नै थियो। तर, नारायणी नदीको पानीको बहाव यति तीव्र थियो कि उसको केही जोड चलेन। उसले एकपटक जोडले बल निकाल्यो र नारायणी नदीभित्रै उत्तानो परेर प्राण त्याग गर्यो।
यसरी आफूसँग दौडमा जित्ने कोही छैन भन्ने घमण्डी कछुवाको ख्यालख्यालमै ज्यान गयो।