योनोज र मन्दिरा पहिलो

भक्तपुर : ललितपुर महानगरपालिकाका योनोज महर्जन र काठमाडौं महानगरपालिकाकी मन्दिरा थापामगर भक्तपुरमा आइतबारदेखि सुरु भएको अन्तरनगर कराते प्रतियोगिताको एकल कातातर्फ पहिलो भएका छन्।
भक्तपुर नगरपालिकाद्वारा आयोजित प्रतियोगिताअन्तर्गत पुरुष एकल कातामा काठमाडौंको चन्द्रागिरी नपाका स्वर्णिम मानन्धरलाई हराउँदै योनोज पहिलो भएका हुन्। उक्त स्पर्धामा आयोजक भक्तपुर नपाका सिरिस श्रेष्ठ दाङको तुलसीपुर नपाका विकेश नेपाली संयुक्त तेस्रो भए।
त्यस्तै महिला एकल कातामा काठमाडौंकै चन्द्रागिरी नपाकै सञ्जुर देसारलाई हराउँदै काठमाडौं महानगरकी मन्दिरा थापामगर पहिलो भएकी हुन्। उक्त स्वर्पामा मध्यपुर थिमी नपाकी श्रेया रञ्जितकार र पनौती नपाकी सृजना ब्लोन संयुक्त तेस्रो भए।
प्रतियोगिताको कुमितेतर्फको ६० केजी पुरुषमा काठमाडौंको नागार्जुन नपाका सुरेश तामाङले काठमाडौं महानगरका अर्जुन बागचन्दलाई हराउँदै पहिलो हुँदै स्वर्ण पदक जिते। उक्त स्पर्धामा भक्तपुर नपाका विशाल सुवाल र चन्द्रागिरी नपाका मनोज सुनुवार संयुक्त तेस्रो भए।
महिला ६० केजीतर्फ काठमाडौंकै तारकेश्वर नपाकी शान्ता श्रेष्ठले काभ्रेको पाँचखाल नपाकी निरुपा तामाङलाई पछार्दै स्वर्ण पदक जितिन्। उक्त स्पर्धामा चन्द्रागिरी नपाका महिमा राई र रजिना विष्टले कास्य पदक जितिन् ।
आइतबार नै भएको कुमितेतर्फको २० केजी महिलामा नागार्जुन नपाकी सन्ध्या महतोले आयोजक भक्तपुर नपाकी पूर्णिमा पौडेललाई पछार्दै पहिलो बनिन्। धनकुटा नपाकी सुप्रिना चौधरी र भक्तपुरको चाँगुनारायण नपाकी करिमा लामा संयुक्त तेस्रो भइन्।
२० केजी पुरुषमा पनि नागार्जुन नपाकै सोमेश खड्काले स्वर्ण पदक जिते। उनले काठमाडौंकै चन्द्रागिरी नपाका राकेश मानन्धरलाई पछारेका थिए। उक्त स्पर्धामा आयोजक भक्तपुर नपाका देवराज पाण्डे र सुजल कोण्डा संयुक्त रुपमा तेस्रो भए।
त्यस्तै २५ केजी तौल समूहको महिलातर्फ पनि नागार्जुन नपाकी सोनाम शेर्पाले स्वर्ण पदक जितिन्। उनले काभ्रेको पाँचखाल नपाकी वर्षा केसीलाई हराएकी हुन्।
उक्त स्पर्धामा गोकर्णेश्वर नपाकी गोमा तामाङ र भक्तपुर नपाकी अंकिता भण्डारीले कास्य पदकमा चित्त बुझाए।
२५ केजी तौल समूहको पुरुषतर्फ भने नागार्जुनका सेवेन श्रेष्ठले भक्तपुर नपाका विमलकुमार थापालाई हराउँदै पहिलो भई स्वर्ण पदक जिते। उक्त स्पर्धामा भक्तपुर नपाका विकास लामा र काभ्रेको बनेपा नपाका कुशल लामाले कास्य पदक जिते।
सहिद दिवसको अवसरमा आयोजित उक्त प्रतियोगिताको आइतबार नै एक कार्यक्रमबीच नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले उद्घाटन गरेका थिए।
उक्त अवसरमा अध्यक्ष बिजुक्छेले खेलकुद क्षेत्रमा हुने भ्रष्टाचार, अनियमितता र नातावाद, कृपावादविरुद्ध खेलाडीहरुलाई सानै बेलादेखि संघर्ष गर्न सिकाउनुपर्ने सुझाव दिए।
प्रतियोगितामा देशभरका २३ वटा नगरपालिकाका करिब चार सय पचास खेलाडीहरुको सहभागिता रहेको भक्तपुर नपाकी उपप्रमुख रजनी जोशीले जानकारी दिइन्।
प्रतियोगितामा पुरुष तथा महिलाका एकल कातासँगै २० केजी, २५ केजी, ३० केजी, ३५ केजी, ४० केजी, ४५ केजी, ५० केजी, ५५ केजी र ६० केजी गरी दसदस वटा स्वर्ण पदकको लागि स्पर्धा हुने उनले बताइन्।
हरेक स्पर्धामा प्रथम हुनेले नगद पाँच हजार, दोस्रो हुनेले तीन हजार र तेस्रो हुनेले एक हजार पाँचसय रुपैयाँ नगद पुरस्कार पाउने आयोजक भक्तपुर नपा युवा तथा खेलकुद समितिका संयोजक श्यामकृष्ण खत्रीले जानकारी दिए। उनका अनुसार प्रतियोगिता फागुन ७ गतेसम्म चल्नेछ।
प्रतिक्रिया दिनुहोस !
