गाँजा खुला गर्दा के बिग्रिन्छ ?
काठमाडौं : कुनै समय नेपालमा गाँजाको बजार दक्षिण एसियाकै उत्कृष्ट मानिथ्यो। नेपालको अर्थतन्त्रमा विशेष महत्व राख्ने गाँजा खेतीमा समय क्रमसँगै प्रतिबन्ध लाग्यो। तर, पछिल्लो समय यसलाई पुनः खुला गर्नुपर्ने आवाज उठिरहेका छन्। यिनै आवाजका कारण गाँजा बहसले पुन: अर्को पटक स्थान पाएको छ।
गाँजामाथिको प्रतिबन्ध हटाउनुपर्ने पहिलो आवाज सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रतिनिधिसभा सदस्य विरोध खतिवडाले उठाएका हुन्। यदाकदा गाँजालाई खुला गर्नुपर्ने आवाज आइरहे पनि लामो समयदेखि यसले राजनीतिमा प्रवेश पाएको थिएन। तर, बुधबार बसेको प्रतिनिधिसभा बैठकमा खतिवडाले गाँजालाई खुला गर्नुपर्ने धारणा राखेपछि यसमाथि बहस सुरु भएको छ।
‘हाम्रा पूर्खाले गाँजालाई तरकारी र औषधिको रुपमा प्रयोग गर्थे। यही कारण हामीले प्रयोग गर्नुपर्छ भनेर मैले आवाज उठाइरहेको छैन, हामी महादेवका भक्त भएका कारण पनि यो आवाज उठाउन खोजेको होइन’, प्रतिनिधिसभामा खतिवडाले भने, ‘अमेरिकाका १२ राज्य तथा क्यानडा, थाइल्यान्डलगायत राष्ट्रमा गाँजा खेतीले मान्यता पाएको छ, औषधि उत्पादनका लागि वैधानिक ढंगले गाँजा उत्पादन उनीहरूले आयआर्जन गरिरहेका छन्, त्यसको ठिक विपरित नेपालका केही जिल्लामा अवैध गाँजा उत्पादन भइरहेको छ।’
नेपालमा अवैध भनिएको गाँजालाई सिंहदरबार लगायतका वैधखानाले चर्को मूल्य तिरेर विदेशबाट आयात गर्नुपरेको खतिवडाको भनाइ छ। उनका अनुसार विदेशबाट गाँजा किन्नु भन्दा नेपालमै वैधानिक रुपमा उत्पादन गरेर औषधिको रुपमा प्रयोग गर्नुपर्छ।
‘विकशित मुलुकले वैधानिक ढंगबाट गाँजालाई प्रयोग र वेचविखन गरिरहेका छन्, हामी त्यसमा प्रवेश गर्न किन चहादैनौं’, सांसद खतिवडाले भने, ‘अन्य मुलुकले जुन विधिबाट गाँजालाई औषधिको रुपमा मान्यता पाएका छन् त्यही विधिबाट नेपालमा पनि मान्यता दिइयोस्।’
विश्व बजारमा नेपाली गाँजा
विश्व बजारमा नेपाली गाँजाको निर्यात कहिलेदेखि सुरु भयो भन्न मुस्किन पर्छ। किनकि हिमालयमा आएर महादेवले प्रयोग गर्ने गाँजाका कयौं किम्बदन्ती छन्। जब विश्वमा आर्थिक क्रान्ति सुरु भयो, त्यससँगै नेपालले पनि गाँजालाई आम्दानीको स्रोत बनाएको देखिन्छ।
२००८ सालमा खाद्य तथा कृषि मन्त्रालयले प्रत्येक जिल्लामा १० विगाह जमिनमा गाँजा रोप्न आह्वान गरेको विज्ञप्ति
१९ औं शताब्दीमा नेपालमा आफ्नो व्यापार विश्वस्तरमा पुर्याएको र त्यसमा राम्रो उपलिब्धि पनि पाएको विभिन्न तत्कालीन समयमा लेखिएका विभिन्न दस्तावेजमा भेटिन्छन्। २००८ सालबाट सरकारले गाँजा कम रोप्न आह्वान गरेको भेटिन्छ। खाद्य तथा कृषि मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै प्रत्येक जिल्लामा १० विगाह भन्दा बढी जमिनमा गाँजा खेती गर्न नदिन आह्वान गरेको थियो।
‘खाद्य तथा कृषि मन्त्रालयले नेपालको गाँजा खेतीमा नियन्त्रण गर्ने निश्चय गरेको छ, त्यसअनुसार नेपालका प्रत्येक जिल्लाका बडाहाकिमलाई आदेश पठाइसकेको छ कि कुनै पनि जिल्लामा १० विगाह भन्दा बढी जग्गामा गाँजाको खेती गर्न नदिइयोस्’, विज्ञप्तिमा भनिएको छ।
त्यस्तै अर्को दस्तावेज हो फ्रान्सिस ह्यामिल्टनद्वारा लिखित पुस्तक ‘एन अकाउन्ट अफ द किङ्गन्डम अफ नेपाल’। सन् १८१९ मा बेलायतबाट प्रकाशित यो पुस्तकमा नेपालको ऐतिहासिक रूप देखिन्छ। यतिमात्र होइन पुस्तकले त्यतिबेलाको नेपालको सामाजिक तथा आर्थिक स्वरुपको पनि व्याख्या गर्छा।
ह्यामिल्टनद्वारा लिखित पुस्तक ‘एन अकाउन्ट अफ द किङ्गन्डम अफ नेपाल’को कभर र एउटा पेज
ह्यामिल्टनले नेपालको गाँजा व्यापारको बारेमा पनि व्याख्या गरेका छन्। ‘नेपालमा गाँजा चरेश धेरै प्रयोग हुने लागुपदार्थ हुन्। गाँजा नेपालमै उत्पादन गरेर व्यापार गरिन्छ’, पुस्तकमा भनिएको छ, ‘ठूलो मात्रामा उत्पादन हुने गाँजा चरेशको बजार पनि यहाँ ठूलो छ।’
नेपालमा गाँजाको खपत बढ्नुको कारण हिप्पी थिए। सामान्यतया अराजक देखिने उनीहरू लामो कपाल र असामान्य अहिरनले चिनिन्थे। उनीहरू युरोप र अमेरिकाबाट नेपाल आउने गर्थे। हिप्पीहरू आफ्नो समाजको परम्परागत मूल्य स्वीकार गरेनन् र चित्रकला, संगीत लगायतका कलालाई जीवन बनाएर नेपाल लगायतमा देशमा आएर नशामा लठ्ठिन थाले। तीमध्ये धेरै लागूऔषधका अम्मली हुन्थे। नेपालको गाँजाले उनीहरूको तलतल मेट्थ्यो।
पछि, नेपालमा गाँजा प्रतिबन्ध लाग्नुमा हिप्पीको भूमिका पनि महत्वपूर्ण रह्यो। युरोपियन र अमेरिकी देशहरूले आफ्ना देशका युवाहरू लागुऔषधमा लठ्ठिएर घुमिरहेको देख्न सकेन। र, विश्वमै लागुऔषधविरुद्ध अभियान संचालन गरे। नेपाल विभिन्न अन्तर्राष्ट्रिय सन्धि सम्झौतामा बाधिएको कारण उनीहरूको अभियानलाई साथ दियो। फलस्वरुप नेपालमा गाँजा उत्पादनमाथि रोक लगाउन थालियो।
नेपाल राष्ट्रसंघको पनि सदस्य हो। यसैको ‘नार्कोटिक्स कन्ट्रोल बोर्ड’ले गाँजालाई लागुऔषधकै दर्जामा राखेको छ। ‘सिङ्गल कन्भेन्सन अन नार्कोटिक ड्रग्स १९६’मा पनि समावेश मुलुक भएकाले नेपाललाई गाँजालाई रोक लगाउनु नेपालको बाध्यता देखिन्छ।
अन्तर्राष्ट्रिय दबावकै कारण २०३३ सालमा लागुऔषध नियन्त्रण ऐन ल्याएर नेपाल सरकारले गाँजा प्रतिबन्ध लगायो। ऐन आएपछि औषधिको रुपमा पनि गाँजा प्रयोग गर्न नहुने भनियो। त्यसपछि नेपालमा गाँजाले विदेशी मुद्रा तान्न छोड्यो।
गाँजा कूटनीति
तामा, कपास र गाँजालाई नेपाली अर्थतन्त्रले कहिल्यै बिर्सन सक्दैन। किनकी २०औं शताब्दीमा तीन उत्पादनले नेपाललाई विश्व बजारमा परिचित गराएको थियो। तर, अहिले नेपालमा यी तीनवटै कुराको उत्पादन शून्य सरह छ।
विश्वभक्त दुलाल ‘आहुती’ नेपालको गाँजा उत्पादनमा रोक लगाउनुलाई एक आर्थिक षड्यन्त्रको रुपमा बुझ्छन्। ‘गाँजा बन्द भएको एकमहिना पछिबाट नेपालमा सित्तैमा चुरोट बाँड्न थालियो किनभने कम्पनीले चुरोटको लत लगाउन चाहन्थे, त्यसबाट पनि पैसा बाहिर जान थाल्यो’, दुई महिनाअघि डिस्कोर्स डबलीको अन्तर्क्रियामा बोल्दै उनले भने, ‘गाँजा र कागती घरेलु औषधि थिए, प्रत्येक घरमा कागती र गाँजाको बोट अनिवार्य हुन्थ्यो, गाँजाको अचारको रुपमा पनि प्रयोग गर्न मिल्थ्यो। औषधिको रुपमा पनि प्रयोग गर्न मिल्थ्यो। र, खाएर मात्नै मन लागे पनि शान्तिपूर्वक मात्ने चिज हो त्यो।
अन्तर्राष्ट्रिय स्वार्थ अनुरुप तत्कालिन शासकले गाँजालाई लागुऔषध भन्दै बन्द गरेको आहुतीको आहुतीको आरोप छ। ‘गाँजा शालिन प्रकारको मात हो त्यो। त्यसले उत्तेजित बनाउँदैन। तर, गाँजा बन्द गरियो किन बन्द गरियो भने ब्रिटिस इन्डिया नेपालमा चुरोट बेच्न चाहन्थ्यो’, उनले भनेका छन्।
नेपाल सरकारले गाँजाको निकासीमा पूर्ण प्रतिबन्ध लगायो। तर, अवैध रुपमा यसको व्यापार रोकिएन। त्यसपछि सरकारले गाँजा व्यापारमा लाइसेन्स वितरण गर्न थालेको देखिन्छ। २०२६ सालको राजपत्रमा प्रकाशित सूचनामा भारतमा अवैध रुपमा निकासी हुने गाँजाबाट राजस्व नउठेको भन्दै सरकारबाट लाइसेन्स लिएर गाँजा निकासी गर्न खाद्य तथा भूमि व्यवस्थापन मन्त्रालयले आह्वान गरेको छ।
त्यो बेला भारत सरकारको स्वीकृतिमै नेपालबाट व्यापारीले भारतमा गाँजाको निकासी गर्ने गरेको यो दस्तावेजले प्रस्ट पार्छ। ‘गाँजा एजेन्ट द्वारा भारत सरकारलाई स्वीकृत मूल्यमा बिक्री गर्न दिएमा भारतबाट चोरी बिक्रीमा उजूरी पनि नआउने र एजेन्टद्वारा निकासी गराउँदा सरकारको भन्सार रकम पनि राम्रो तवरले नोक्सान समेत नहुने हुनाले इलाका हेरी ती इलाकाका एजेन्सी दरखास्तहरू मध्येबाट हैसियत हेरी लाइसेन्स दिन उचित सम्झिएर गाँजा निकासी गर्ने एजेन्सी दिइएको छ’, राजपत्रमा भनिएको छ।
सरकारको तर्फबाट पूर्ण प्रतिबन्ध भएपनि अहिले गाँजाको चोरी निकासी भने रोकिएको छैन। काठमाडौं वरिपरीका विभिन्न जिल्लामा अवैध रुपमा गाँजा लगाइन्छ। र, भारततर्फ निकासी गरिन्छ। गाँजाको अवैध कारोबार गर्नेलाई प्रकाउ पर्ने क्रम पनि रोकिएको छैन।
गाँजा खोल्ने कि नखोल्ने
विश्वका विकशित मुलुकले गाँजालाई औषधिको रुपमा खुल्ला गर्न थालेका छन्। विश्वकै ठूलो अर्थतन्त्र भएका मुलुकले पनि गाँजा उत्पादन गरेर आम्दानी गरिरहेका अवस्था छ।
कुनै समय गाँजा निर्यातमा अग्रणी भूमिका खेलेको नेपालले अब गाँजा खुल्ने कि नखोल्ने भन्ने विषयमा बहस गर्न आवश्यक छ। अमेरिकाका २५ राज्यमा गाँजालाई औषधिको रुपमा प्रयोग गर्ने नियम छ। अमेरिकाकै १८ राज्यमा यसको उपभोग नै गर्न समेत पाइन्छ।
त्यस्तै उरूग्वे र इजरायल, बेल्जियम, कोलम्बिया, जमैका, स्पेन, पेरू, अर्जेण्टिनालगायत मुलुकमा गाँजाको उपभोग सीमित मात्रामा गर्न पाइन्छ। चिली सरकारले गाँजा खेती गर्न किसानलाई छुट दिएको छ भने क्यानडा, अष्ट्रेलियालगायत देशले औषधि उत्पादनका लागि गाँजा खेतीको अनुमति लिइसकेका छन्। छिमेकी राष्ट्र भारतमा पतञ्जलि आयुर्वेदले गाँजाबाट औषधि बनाउन थालिसकेको छ।