भियतनाममा ट्रम्प र किमजस्तो बन्न चाहनेलाई पैसा नलाग्ने !
हनोइ : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तरकोरियाली नेता किम जोङ उनबीच भियतनाममा दोस्रो भेटवार्ता हुने भएपछि वार्तास्थल हनोइमा भने अचम्मको माहोल छाएको छ ।
यहाँका व्यवसायीहरु पर्यटक भित्रिने आशामा खुसी छन् भने सहरका युवाहरुमा किमजस्तो देखिने होडवाजी नै चलेको छ । केही दिनअघिदेखि नै खासगरी यहाँका मंगोलियन अनुहारका युवाहरु किमको जस्तै कपाल बनाउन थालेका छन् ।
हनोइकै कपाल काट्ने एकजना व्यवसायी (हेयरड्रेसर)ले ख्यालख्यालमै ९ वर्षीय बालकको कपाल किमको जस्तै बनाएर हेरे । जसको अनुहार ठ्याक्कै किमको जस्तै देखियो । त्यसपछि उनले सार्वजनिक रुपमै ‘यदी कसैले किम वा ट्रम्पको जस्तो हेयरस्टाइल बनाउन चाहन्छ भने उसलाई पैसा लाग्दैन !’ भन्दै उनले कपाल काटेको फ्रि नै गरिदिए ।
यसपछि भने किम वा ट्रम्पको जस्तो कपाल बनाउने युवाहरुको भीड नै लागेको छ । ‘खासमा मैले यो रमाइलोको लागि मात्रै बनाएको थिएँ, पछि मान्छेहरुले जस्तो प्रतिक्रिया दिए त्यसबाट म दंग भएँ,’ हनोइ सेलोनका संचालक ले तुवाङ दुवोङले भने ।
दुवोङले ट्रम्प र किमको वार्तालाई शान्तिको लागि पहलको रुपमा पनि ब्याख्या गरेका छन् । उनी भन्छन्, ‘म युद्धलाई घृणा गर्छु र शान्ति मन पराउँछु । मेरै परिवारमा धेरै सदस्यले भियतनाम युद्धमा ज्यान गुमाए । नौ वर्षीय ग्राहक तू गिया हुएको कपाल किमको जस्तै बनाएर उनले यस्तो कपालको शैली बनाउन सुरु गरेका हुन् । जसको अनुहार नै किमसँग मिल्दोजुल्दो देखिन्छ । यस्तै अर्का ६६ वर्षीय ग्राहक ले फुक हइको कपाल भने उनले ट्रम्पको जस्तै बनाएर काटिदएका छन् ।
दुवोङले ट्रम्प वा किमको जस्तो कपाल काट्न चाहने ग्राहकसँग पैसा नलिने घोषणा गरेपछि त यहाँ युवाहरुको भीड नै लागेको छ । अमेरिकी आक्रमणको पीडा भोगेको भियतनाममा अमेरिकी राष्ट्रपति र उत्तर कोरियाली नेताको यही फेब्रुअी २८ मा दोस्रो वार्ता हुने तयारी छ । यसलाई संसारभर महत्वका साथ हेरिएको छ ।