यात्रु शुल्कको सवा चार अर्ब धावनमार्ग निर्माणमा
काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले यात्रुबाट लिएको अतिरिक्त शुल्कलाई धावनमार्ग जिर्णोद्वारमा खर्च गर्दै छ। विमानस्थल कार्यालयले पाँच वर्षदेखि अन्तर्राष्ट्रिय हवाई उडानमा प्रतियात्रु लिँदै आएको विमानस्थल विकास शुल्क (एडीएफ)को एक हजार रुपैयाँ धावनमार्ग जिर्णोद्वारमा खर्च गर्न लागेको हो। विमानस्थल कार्यालयले उठाएको उक्त रकमबाट सवा चार अर्ब रुपैयाँ विमानस्थलको तीन किलोमिटर धावनमार्ग जिर्णोद्वारमा खर्चिनेछ।
विमानस्थल विकासका नाममा उठाएको उक्त रकम सम्बन्धित काममै खर्चिन लागिएको नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमको भनाइ छ। गौतमका अनुसार चैत १८ गतेबाट विमानस्थलको पूरै धावनमार्ग र ट्याक्सीवे जिर्णोद्वार हुँदै छ। यसका लागि ९० दिनको समय दिएर निर्माणको काम अगाडि बढाउने जिम्मा दिइसकिएको छ।
हाल निर्माण कम्पनी ‘चाइना नेसनल एरोटेक्नोलोजी इन्टरनेसनल इन्जिनियरिङ कर्पोरेसन’ले निर्माण सामग्री जम्मा गर्ने काम गरिरहेको छ। निर्माण कम्पनीले करिब ७० प्रतिशत निर्माण सामग्री तयार पारेपछि धावनमार्गको काम सुरु गर्ने गौतमले जानकारी दिए।
गत शुक्रबार निर्माण कम्पनीले गरेको तयारी र धावनमार्ग मर्मतको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले स्थलगत निरीक्षणसमेत गरेका थिए।
पहिलोपटक धावनमार्गको पूरै जिर्णोद्वार
विमानस्थलको धावनमार्ग पहिलोपटक पूरै जिर्णोद्वार हुने भएको छ। यो विमानस्थल सञ्चालनमा आएदेखि पटकपटक धावनमार्गको माथिल्लो भाग कालोपत्रे गर्ने र सामान्य मर्मत गरेको भए पनि पहिलोपटक पूरै जिर्णोद्वार गर्न लागिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्तरोन्नति आयोजनाका निर्देशक बाबुराम पौडेलले बताए। उनका अनुसार पहिलोपटक धावनमार्गको कालोपत्र उप्काएर नयाँ बनाउन लागिएको हो।
यसका लागि चैत १८ गतेदेखि तीन महिनासम्म रातको १० बजेदेखि बिहान ८ बजेसम्म विमानस्थल बन्द हुनेछ। धावनमार्ग मर्मतका लागि निर्माण व्यवसायीले निर्माण सामग्री जम्मा गर्ने, विमानस्थलको धानमार्गबाट तीनकुनेतर्फको स्थानमा निर्माण सामग्री राख्ने, कन्ट्र्याक्टरको कार्यालय बनाउनेलगायत काम गरिरहेको छ।
उडान व्यवस्थापन मुख्य चुनौती
‘यसअघि छोटो समयमै धावनमार्ग कालोपत्रे र मर्मत गरिने भए पनि यसपटक विमानस्थललाई लगातार दैनिक नौ घण्टा बन्द गरेर रनवे रिह्याबिलिटेसन हुँदै छ’, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका महाप्रबन्धक राजकुमार क्षेत्रीले भने। उनका अनुसार यस समय मुख्य चुनौती भनेकै उडान व्यवस्थापन मिलाउने हो।
विमानस्थल कार्यालयले राती १० बजेदेखि बिहान ८ बजेभित्र हुने उडानलाई दिउँसो र बेलुकाको समय मिलाउने भएको छ। हाल रातीको समयमा उडान गर्ने सबै अन्तर्राष्ट्रिय वायुसेवालाई आफ्नो अनुकूल बिहान ८ बजेदेखि राती १० बजेभित्र गरिसक्न जानकारी दिइसकिएको छ। सोहीअनुसार वायुसेवाले आफ्नो उडान तालिका परिवर्तन गरिरहेको जानकारी क्षेत्रीले दिए।
धावनमार्गको जिर्णोद्वार दैनिक ८० मिटरसम्म हुने भएको छ। कम्तीमा ३० सेन्टिमिटर बाक्लो कालोपत्रे हुनेछ। विमानस्थल कार्यालयका अनुसार यसपटक धावनमार्ग मर्मतपछि १५ वर्षसम्म ढुक्क हुनेछ। विमानस्थल विकासका लागि लिइएको करिब साढे सात अर्ब रुपैयाँ शुल्कबाट प्राधिकरणले हालसम्म पौने चार अर्ब मात्रै खर्च गरेको छ। आयको तुलनामा खर्च कम भएको भन्दै प्राधिकरणले उक्त शुल्कलाई विमानस्थलको जग्गा अधिग्रहणमा मात्रै दुई अर्ब ३२ करोड ३४ लाख रुपैयाँ खर्चिएको छ।
यात्रु सुविधाको रकम जग्गा अधिग्रहणमा
यात्रु सुविधाका लागि लिइएको रकमको ७१ प्रतिशत प्राधिकरणले जग्गा एकीकरणमा मात्रै खर्च गरेको र बाँकी विमानस्थल विकासमा खर्च गरेको उल्लेख छ। विमानस्थल विकास शुल्कको उद्देश्यअनुसार प्राधिकरणले खर्च नगरेको र तोकिएको सर्त पूरा गर्न नसकेको भन्दै विकास शुल्कको नाममा रकम उठाउने प्रक्रियालाई नवीकरण नगर्ने पक्षमा मन्त्रालयका पदाधिकारी छन्। त्यसैले पर्यटन मन्त्रालयले यस विषयमा प्रक्रिया अगाडि बढाएको छैन। यसका लागि पर्यटन मन्त्रालयबाट आएको प्रस्तावमा अर्थ मन्त्रालयबाट राय लिनुपर्ने हुन्छ।
प्राधिकरणले विमानस्थल विकास शुल्कमा निरन्तरता दिने विषयमा गत पुस ५ गते बसेको ३४५औं बैठकबाट स्वीकृत गराएको थियोे। प्राधिकरणले लिँदै आएको यस्तो शुल्कलाई त्रिभुवन विमानस्थलकै सुधार, धावनमार्ग मर्मत, विमानस्थलको क्षमता वृद्धिजस्ता काममा लगाएको दाबी गरेको छ।
एडीएफ नवीकरणमा किचलो
यसअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुधार गर्न एसियाली विकास बैंक (एडीबी) बाट लिएको ऋणसहित प्राधिकरणको ऋणको साँवा र ब्याज भुक्तानी गर्न शुल्क लिन सुरु भएको छ। प्राधिकरणका अनुसार यस्तो शुल्क त्रिभुवन विमानस्थलमा यात्रुको सेवासुविधा वृद्धि र भौतिक पूर्वाधार विकासमा मात्र उपयोग गर्नुपर्ने प्रावधान छ । त्रिभुवन विमानस्थलबाहिर यो रकम खर्च गर्न पाइँदैन ।
विमानस्थलभित्रको साजसज्जा, सरसफाइ र भौतिक पूर्वाधारमा मात्र यसबाट संकलन गरेको रकम खर्चिन पाउने अधिकार प्राधिकरणलाई दिइएको छ। तर, विमानस्थल कार्यालयले भने धावनमार्ग जिर्णोद्वारमा यही कोषको रकम खर्च गर्न पाइने प्रयोजनमा उठाएको बताएको छ। प्राधिकरणका महानिर्देशक गौतमले विमानस्थलकै क्षमता विकास र विमानस्थल विकासमा जग्गा पनि पर्ने भएकाले सोही प्रयोजनमा उक्त रकम खर्च पाइने दाबी गरे।
सरकारले प्राधिकरणलाई आफूखुसी खर्च गर्ने अधिकार दिएको छैन। यसका लागि प्राधिकरणले छुट्टै बैंक खाता खोल्नुपर्छ। उक्त रकमलाई प्राधिकरणले नियमित आम्दानीका रूपमा जोडेर मुनाफा देखाउन पनि पाउँदैन। सरकारले प्राधिकरणलाई विमानस्थल विकास शुल्क उठाउने अधिकार दिँदा विमानस्थलभित्र यात्रुको सेवासुविधामा रकम खर्च गर्न नसके पैसा फिर्ता लैजाने सर्त राखिएको छ। तर, विमानस्थल कार्यालयले यात्रुको सेवासुविधाभन्दा अन्यत्रै रकम खर्चेकाले पुनः शुल्क उठाउने अधिकार नवीकरण नहुने मन्त्रालय स्रोतको दाबी छ।