भरियाबाट अब्बल व्यवसायीसम्म
पूर्वकै कर्णाली मानिने सोलुखुम्बुको जुभिङ गाविस– ८ (हाल खुम्बु पासाङ ल्हामु गाउँपालिका) पाङगोमआसपास विद्यालय थिएन। आङछिरिङ शेर्पामा सदरमुकाममा पढ्न जाने क्षमता थिएन। तर त्यसताका खुम्बु क्षेत्रमा विदेशीको चहलपहल बाक्लिसकेको थियो। २०२१ असोज २९ गते जन्मिएका शेर्पाको बाल्यकाल गाउँमै बित्यो। २०३० सालतिर बिहानबेलुकीको छाक टार्नकै लागि विदेशीको भारी बोक्न लुक्ला र नाम्चे पुग्नैपर्ने उनको बाध्यता थियो। उनीजस्तै सबै शेर्पा युवाको विकल्प भारी बोक्नु नै थियो। केही शेर्पा युवाले भरिया, किचन ब्वाई, सरदारसम्मको जिम्मेवारी पाउन थालेका थिए।
भरिया बन्नुअघि आङछिरिङको दैनिकी पनि घाँसपात, गोठालो र मेलापात नै थियो। भरियाकै भूमिकामा उनी २०३५ ताका काठमाडौं प्रवेश गरे। यसअघि नै उनकी दिदी आङदामी शेर्पाले ‘शेर्पा सोसाइटी ट्रेकिङ एजेन्सी’ सञ्चालन गरिसकेकी थिइन्। यही कम्पनीमा बसेर उनले किचन ब्वाई, सरदार समेतको भूमिकामा ट्रेकिङ पेसामा आवद्ध भए। आङछिरिङको स्वभाव अरूभन्दा फरक नै थियो। त्यो समय सरदार जिम्मेवारी पाउनु पनि निकै ठूलो उपलब्धि थियो। उनी यसैमा मात्र सीमित भएनन्। दाजु लाक्पा सोनाम र भाउजु पासाङ ल्हामु शेर्पासँग समन्वय गरी उनले नयाँ व्यवसायमा हात हाल्न थाले। दाजुसँग सहकार्य गरी वि सं. २०४० सालमा थामसेर्कु ट्रेकिङ कम्पनी स्थापना गरे।
आङछिरिङलाई हिमाल आरोहण गर्ने इच्छा नभएको भने होइन। तर यसअघि नै जेठा दाजु फुराग्याल्जेन र माइली भाउजु पासाङल्हामुको हिमाल आरोहणकै क्रममा मृत्यु भएपछि उनले आरोहण नगर्ने निर्णयमा पुगेर व्यवसायलाई अगाडि बढाए। शेर्पा नै भएकाले उनलाई हिमाल आरोहण गर्नु ठूलो विषय थिएन। तर उनले सुुरु गरेको व्यवसाय सफल रूपमा अगाडि बढ्यो। भरियाको भूमिकामा काठमाडौं प्रवेश गरेका थिए आङछिरिङ। सामान्य साक्षर उनलाई राज्यको नीति र राजनीतिक व्यवस्था बुझ्न निकै समय लाग्यो। कर्मचारी संयन्त्र, राजनीतिक व्यवस्थासँग उनले भोग्नुपरेको संघर्ष नै सफल व्यवसायी बन्ने मुख्य आधार बन्यो।
परिकल्पनाकारसँगै व्यवसायमा जोखिम मोल्ने
आङछिरिङ एउटै व्यवसायमा मात्र सीमित भएनन्। १० वर्षपछिको सम्भावनालाई हेरेर व्यवसाय सुुरु गर्थे उनी। देखिएको र चलिरहेका व्यवसाय भन्दा पनि नयाँ—नयाँ सम्भावना खोजेर अघि बढ्न खप्पिस व्यक्तिका रूपमा चिनिन्थे। जोखिम मोल्न सक्ने भएकैले आङछिरिङ सफल व्यवसायी बनेको नजिकका मित्र फुर्वा शेर्पाको अनुभव छ। भविष्यद्रष्टाको परिचयले नै आङछिरिङलाई सफल व्यवसायी बनाएको नजिककी बहिनी ल्हाक्फुटी शेर्पा बताउँछिन्। सीमित काममा मात्र नअल्मलिने, माथिल्लो भूमिका मात्र रोज्ने, राजनीति र नीतिमा परिर्वतन खोजिरहने, हरेक क्षण सीमित घेरा तोडेर काम गर्न रुचाउने स्वभाव उनमा रहेको ल्हाक्फुटीको भनाइ छ।
सतप्रतिशत व्यवसाय र लगानी उनले स्वदेशमै गरेका छन्। लगानीलाई अंकमा आकलन गर्न कठिन छ। हजारौं परिवारलाई जागिर दिएर गुजारा चलाउन सघाएका छन्। हिमालसँग परिचित भएकैले पर्यटन क्षेत्रमा सफल व्यवसायीको रूपमा चिनिए। पछि हिमाललाई छिचोलेर आकाशतिर लम्किए।
उनको अर्को सफलता हवाई क्षेत्र हो। २१ वर्षदेखि यति एयरलाइन्सलाई निरन्तर सञ्चालन गरी देशकै उत्कृष्ट हवाई कम्पनीको रूपमा विकसित गरे। वि.सं. २०५४ सालमा तारा एयरलाइन्सबाट दुर्गम क्षेत्रमा सेवा विस्तार गर्दै आएका थिए। डेडदर्जन बढी विमान खरिद गरी सञ्चालनमा ल्याउने नेपालकै ठूलो विमान कम्पनी बनेको छ यति एयरलाइन्स। चार एटिआर विमान खरिदको अन्तिम तयारी उनको थियो।
दुई वर्षअघिदेखि उनकै व्यवस्थापनमा यति वल्र्ड कम्पनीबाट अन्तर्राष्ट्रिय उडान पनि सुरु भयो। हिमालय एयरलाइन्सका नामबाट तीनवटा ३२० जहाजले चार गन्तव्यमा अन्तर्राष्ट्रिय उडान गरिरहेका छन्। उनले सञ्चालनमा ल्याएको एयर डाइनेस्टी हेलिकप्टर पनि दसकदेखि सफल कम्पनीको रूपमा चिनिएको छ। उत्कृष्ट राजस्व बुझाएबापत नेपाल सरकारबाट तीन वर्षसम्म निरन्तर पजेरो गाडी उपहार पाउने व्यक्ति पनि हुन् आङछिरिङ।
दोस्रो पुस्तालाई व्यवसाय जिम्मा
आङछिरिङको व्यावसायिक जीवन पुस्तक नै बनिसकेको छ। परिवारसँगको सहकार्यसँगै थाम्सेर्कु कम्पनीबाट सुरु भएर यति माउन्टेन रिसोर्ट, कसरा रिसोर्ट, गोकर्ण फरेस्ट रिसोर्ट, निर्माणाधीन पाँचतारे होेटेल मेची क्राउन, केर एन्ड ड्वेनी नेपाल, कोरा टुर, यति एड्भेन्चर, यति होलिडेजसहितको कम्पनीमा उनको अर्बांैको लगानी छ। हवाई क्षेत्रमा उनको कम्पनी सबैभन्दा ठूलो हो। नाफामुखी व्यवसाय मात्र नभएर दूरदराजका क्षेत्रमा हवाई सुविधा पुर्याउने उनकै कम्पनी हो। उनमा जनताले सेवा पाउनुपर्छ, नाफा मात्र सबैथोक होइन भन्ने भावना थियो। नाफा दोस्रो प्राथमिकता बन्यो व्यवहारमा पनि।
शून्यबाट उठेर देशकै अर्थतन्त्रमा अब्बल भूमिका निभाएका आङछिरिङको निधनबाट देशले नै उत्कृष्ट व्यवसायी गुमाउनुपरेको छ।
सहयोगी भाइ भीमराज राईका अनुसार पैसा लगानी गरेर मात्र व्यवसाय सफल हुँदैन भन्नेमा विश्वास गर्थे आङछिरिङ। ‘व्यवसायी बनेपछि सफल हुनुपर्छ भन्ने उनको मान्यता थियो,’ राईले भने। तल्लोस्तरबाट आएर ठूलो व्यवसायी बनेकाले गरिब र असहायको उद्धारप्रति आङछिरिङ संवेदनशील बन्थे। सयौं बालबालिकालाई शिक्षाको व्यवस्था, गरिबलाई बास, गाउँगाउँमा विद्यालय तथा स्वास्थ्यचौकी निर्माण गरे पनि उनले त्यसलाई चर्चामा ल्याउन चाहेनन्। उनलाई व्यवसायमा सफल बनाउन पत्नी चन्दा राई र दुई छोरा क्याप्टेन पासाङ र नुर्वु शेर्पाको भूमिका कम छैन। केही वर्षदेखि शेर्पाले आफ्नो व्यवसाय व्यवस्थापनको जिम्मा पत्नी चन्दा र दुई छोरा पासाङ र नुर्वलाई लगाइसकेका थिए। व्यवसाय अझै सफल बनाउन बुवाको स्वभावलाई निरन्तरता दिइने पासाङको भनाइ छ।
राजनीतिमा अदृष्य निर्णायक पात्रो
पेसासँगै राजनीतिमा पनि अग्रणी भूमिका निर्वाह गर्ने शेर्पाले त्यस्तो भूमिकाबारे कहिल्यै सार्वजनिक गर्न चाहेनन्। ब्युरोक्रेसी र राजनीतिमा उनको भूमिका निर्णायक र अब्बल हुन्थ्यो। उनी सञ्चारमाध्यममा कहिल्यै देखिन चाहेनन्। समयअनुसार सामाजिक सञ्जालमा समेत नजोडिएका आङछिरिङ त्यसैले त फरक पात्रोको रूपमा चिनिन्छन्। कर्मचारीतन्त्रमा देखिएको कमजोरी सुधार गर्नदेखि समयअनुसार आवश्यक नयाँ नीति परिमार्जन गर्न उनको भूमिका हुन्थ्यो।
तेह्रथुममा नयाँ विमानस्थल निर्माणमा आफ्नो भूमिका के हुन सक्ला भन्ने उद्देश्यले उनी पर्यटनमन्त्री रवीन्द्र अधिकारीसँग त्यहाँ पुगेका थिए। समयसँगै पाथीभरा मन्दिर क्षेत्रमा पुग्ने केवलकार निर्माणको सम्भावनालाई नियाल्ने पनि उनको उद्देश्य थियो। तर दुर्घटनाले यो सपना साकार पार्न दिएन।
आङछिरिङको परिवारमा यो पाँचौं दुर्घटना
आङछिरिङको परिवारमा सबैको भाग्य र कर्म जति बलियो देखियो मेहनत पनि उत्तिकै। त्यसैले त जुनसुकै क्षेत्रमा पनि सफलता मिलेको छ। तर दुर्घटनै दुर्घटनाको सिकार बन्न पुग्यो यो परिवार। शेर्पाको परिवारमा भएको यो पाँचौं दुर्घटना हो। करिब २०३० सालतिर आङछिरिङका जेठा दाजु फुराग्याल्जेन शेर्पाको धौलागिरी हिमाल आरोहणका क्रममा मृत्यु भयो। उनकी सहोदार माइली भाउजु पासाङ ल्हामु शेर्पाको २०५० वैशाख १० गते सगरमाथा आरोहण गरी फर्कने क्रममा हिमपहिरोमा पुरिएर मृत्यु भयो। २०५५ सालमा आङछिरिङका कान्छा भाई टेन्डी शेर्पा रेस्क्यू गर्न जाँदा सोलुखुम्बुको बासामा एमआई १७ हेलिकप्टर दुर्घटनामा परी मृत्यु भयो। आङछिरिङका माइला दाजु लाक्पा सोनाम र उनकी पत्नी पनि लुक्लामा हेलिकप्टर दुर्घटनामा परेर पनि भाग्यले बच्न सफल भएका थिए।
यो परिवारमा दुर्घटनामाथि दुर्घटना थपिएको छ। यो परिवारलाई विपत्ले किन छाड्दैन ? शुभचिन्तक प्रश्न गर्छन्। शून्यबाट उठेर अहिले देशकै अर्थतन्त्रमा अब्बल भूमिका निभाउन सक्ने शेर्पा परिवारमा दुर्घटनामाथि दुर्घटना थपिँदा देशले नै उत्कृष्ट व्यवसायी गुमाउनुपरेको उनीहरू बताउँछन्। दुर्घटनाबाटै एकै परिवारमा चारजनाको मृत्यु हुनुले दैवले असल र सक्षम परिवारमाथि नै प्रहार गरेको भान हुन्छ।