आँधीअघिको उषा

आँधीअघिको उषा

करिब चार वर्षअघि उषा शेरचनको फेसबुकमा एउटा म्यासेज आयो, जसमा उनको कृति ‘तेस्रो रङ’मा समावेश कथाहरूबारे लेखिएको थियो, ‘तेस्रो रङ पढ्दा यस्तो लाग्यो— मीठो शैलीको सुन्दर र दमदार उपन्यासले उषा दिदीलाई पर्खिरहेको छ। आख्यानले आमन्त्रण गरिरहेछ।’

कमेन्ट थियो, पत्रकार सुशील ज्वारचनको। उषाका लागि यो कमेन्ट उनीभित्रको आख्यान जगाउने एउटा हौसला बनिदियो। लगत्तै उनले उपन्यासको प्लट तयार गरिन्। त्यो प्लट थियो, ‘आँधी’ उपन्यासको, जुन चाँडै नै बजारमा आउँदै छ।

साहित्यमा चार दशकदेखि सक्रिय उनका नजन्मेका आस्थाहरू (२०४८) र सर्वकालीक पीडा (२०६३) कवितासंग्रह, अक्षरहरूका शिविरबाट (२०५६) मुक्तकसंग्रह, पाँचवटा गीति एल्बम, एउटा कथासंग्रह प्रकाशित छन्।

२०७० सालमा ‘तेस्रो रङ’ कथासंग्रह प्रकाशनपछि उनलाई फेरि आख्यान लेख्छु जस्तो लागेको थिएन। तर जुन दिन सुशील ज्वारचनको कमेन्ट पढिन्, अशान्त बनिन् उषा। उपन्यासको तलतलले अत्याउन थाल्यो। पात्रहरू यत्रतत्र छरिन थाले। समाजमा घटेका र प्रत्यक्ष देखिरहेका मार्मिक घटनाले आफैंलाई पछ्याइरहेझैं लाग्यो। र मनमनै उपन्यासको खाका तयार पारिन्। घटना र पात्रहरूलाई वरिपरि बोकेर हिँडिन्।

उपन्यास लेखिरहँदा उनले धेरैभन्दा धेरै मान्छे भेटेर समस्या सुन्न थालिन्। एकदिन यौनहिंसामा परेकी एक किशोरीको कथा सुनेपछि भने उनलाई बेचैन बनायो। उनलाई लाग्यो, यी किशोरी नै मेरो उपन्यासको मुख्य पात्र हुन्। र उपन्यासको थिम हो— यौनहिंसा। यसरी उनले हरेक दिन पत्रपत्रिकादेखि इन्टरनेटमा आउने यौनहिंसाका घटना र वस्तुपरक अध्ययन गर्न थालिन्। यसबारे विज्ञहरूसँग छलफल पनि गरिन्। बिस्तारै उपन्यासको पाण्डुलिपिले आकार लिँदै गयो। करिब दुई वर्षको कोठेबासपछि उनीभित्रको संवेग ‘आँधी’ उपन्यासका रूपमा तयार भयो, जसलाई बुकहिलले फागुनमा बजारमा ल्याउँदै छ।

‘आँधी हजारौं महिलाको कथा हो। समस्यामा परेर घरभित्रै थुनिएर बसेका अनेकौं दिदीबहिनीलाई बाहिर निस्कन सघाउने साहसको एउटा पाइला हो। सयौ आत्मविश्वासी महिलाको कथा हो,’ उनी भन्छिन्, ‘आँधीमा मैले सकारात्मक सन्देशसहित अँध्यारोमा रहेकाहरूलाई उज्यालो बाँड्ने सानो प्रयास गरेकी छु।’

हँसिलो अनुहार, मोटो ज्यान, कालो गगल्स, प्रायः सारीब्लाउज मिलाएर लगाएको कसिलो शरीर। उषा शेरचनको बाहिरी आवरण यही हो। ‘म बाहिर जस्तो देखिन्छु, भित्री रूपमा नै त्यस्तै छु। कसैप्रति रिसराग, द्वेष र आरिस कत्ति छैन। म कसैको मन दुखाउन चाहन्नँ’, उनी भन्छिन्।

आफूलाई कुशल गृहिणी र निर्देशकका रूसमा चिनाउन चाहने शेरचन सबैका लागि परिचित नाम हो। कवि, गीतकार त हुन् नै, सँगै आख्यानमा पनि आफ्नो उपस्थिति प्रभावशाली बनाउन लागिपरेकी छन्।

पोखराको थकाली परिवारमा जन्मेकी शेरचनका परिवार व्यापारमा संलग्न थिए। उनका बुबा गलैंचा बुन्नदेखि लिएर डिजाइन पनि गर्नमा अब्बल थिए। हजुरबुवा तबला बजाउने, चित्र बनाउने र धुन बजाउन पोख्त थिए। दाजुभाइ पनि चित्र बनाउन सौखिन थिए। परिवारका सबैको केही न केही सिर्जनशील गुण उनका छोराछोरीमा पनि सरेको छ। छोरीमा पनि स्केचिनको गुण छ। छोरा आस्तिक चर्चित फेसन डिजाइनर हुन्। तर साहित्यको क्षेत्रमा उषा मात्रै देखिइन्।

उनको पालामा छोरीबुहारीले खास्टो ओडेर हिँड्नुपर्ने कडा नियम थियो। छोरीलाई पढायो भने बिग्रिन्छन् भन्ने थियो। तर उनको हजुरबुवाको प्रेरणाले गर्दा उनी स्कुल जान पाइन्।

स्कुल नजिकै ब्रिटिस लाइब्रेरी थियो। केटीहरूलाई लाइब्रेरी पस्ने अनुमति थिएन। दाइले लाइब्रेरीबाट ल्याएका किताबहरू उनी लुकाएर एकै रातमा पढिसक्थिन्। उनका साथी इन्दिरा र शारदाले पनि किताब ल्याइरहन्थे। उनी युवावस्था सम्झिन्छिन्, ‘भेटे जति सबै किताब पढ्थें, कापीमा केके लेखिरहन्थें। लागुऔषधको लतजस्तै थियो किताबप्रतिको मेरोे लत।’

एलएलसीपछि आईए पढ्न रत्नराज्य कलेज काठमाडौंमा भर्ना भइन्। बीए पढ्न दुई वर्षपछि पुनः पोखरा फर्किइन्। पृथ्वीनारायण क्याम्पसमा पढ्दा उनले सरुभक्त, दुर्गा बराल, प्रकट पंगेनी शिव, तीर्थ        श्रेष्ठ, विक्रम गुरुङ, विनोद गौचनलगायत व्यक्तित्वहरूलाई भेट्ने मौका पाइन्। यसले उनको साहित्यिक दैलो उघारियो।

चिया पसलमा सिर्जनात्मक कार्यको योजना बन्थ्यो। समता काव्य सन्ध्या र पोखरेली युवा सांस्कृतिक परिवारलाई उनीहरूले ब्यूँताए। यसबाट कहिले नाटक, कहिले कवितावाचन त कहिले मुक्तक सुनाउने कार्यक्रम आयोजना गरे।

सुरुसुरुमा उनले शीर्षकबिनाका कविता लेख्थिन्। २०३५ सालमा उनले लेखेको ‘जिन्दगी’ शीर्षकको कविता गोरखापत्रमा प्रकाशित भयो। पहिलो रचना प्रकाशित हँदा उनलाई खुसीभन्दा पनि डर धेरै लाग्यो। घरमा थाहा पाएर गाली गर्ने हुन् कि भन्ने जोखिम जो थियो।

२०३६ सालमा पोखरेली युवा सांस्कृतिक परिवारले पहिलो कार्यक्रमस्वरूप टिकटमा कविता कार्यक्रम आयोजना गर्‍यो। परिवारमा उषा पनि पदाधिकारी थिइन्। काठमाडौंबाट हरिभक्त कटुवाल, गगन विरही, किशोर पहाडीलगायतको गुप्र टिकटमा कविताका लागि पोखरा पुगे। उद्योग वाणिज्य संघको अगाडि खुला चौर थियो। त्यही एउटा भव्य मञ्च बनाइएको थियो। कविता सुन्न प्रत्येकलाई दुई रुपैयाँ शुल्क तोकिएको थियो।       श्रोता खचाखच भरिए। कार्यक्रम भव्य भयो। उनीहरूको समूहले वाहवाही कमायो।

कार्यक्रममा हिँड्न उषाले घरबाट छुट पाएकी थिइनन्। तर केटा साथीहरूसँग हिमचिममा रोकतोक थियो। उनका सोल्टी डीबी शेरचन व्यापारमा सफल हुँदै थिए। परिवारबाट डीबीसँग बिहे गर्न दबाब दिइयो। दुवैले एकअर्कालाई बुझ्ने समय मागे। डीबी पनि साहित्य बुझ्ने र उषाका लेखनीबाट प्रभावित थिए। अन्ततः २०३८ सालमा विवाह बन्धनमा बाँधिए।

वैवाहिक सम्बन्धपछि केही समय उनको साहित्यिक रफ्तार रोकियो। घर व्यवहार र छोराछोरी सम्हाल्दै बित्यो। आक्कलझुक्कल कविता कोर्नेबाहेक धेरै समय साहित्यलाई दिन सकिनन्। लामो समय नलेखी बसेको देख्दा डीबीले नै उनलाई लेख्न र कार्यक्रममा जान हौंस्याए। उनी भन्छिन्, ‘डीबी जस्तो        श्रीमान् पाएर नै मैले अहिलेसम्म लेख्न सकेकी छु। लेखनको सबालमा कुनै गुनासो छैन        श्रीमान्प्रति।’

नेपाली तिम्रो छातीमा देश दुख्छ कि दुख्दैन

मुटुमा तिम्रो पुर्खाको रगत बग्छ कि बग्दैन

राष्ट्रप्रेमले ओतप्रोत उषाले यो गीत संगीतकार बुलु मुकारुङको आग्रहमा लेखेकी थिइन्। रेडियो नेपालले आयोजना गरेको राष्ट्रिय गीत महोत्सवमा यो गीत उत्कृष्ट भयो पनि। उनका १० वटा गीत समावेश ‘अभीप्सा’ (२०५८) पहिलो गीति एल्बम हो। प्रज्ञा प्रतिष्ठानको प्रेक्षालयमा यसको विमोचनको लाइभ प्रसारण नेपाल टेलिभिजनबाट गरिएको थियो।

उनको मेरो माटो मेरो गीत, सञ्चयन, आकाश छुने रहरलगायत गीति एल्बम पनि छ। उनी लेखनका अलावा अनेकौं साहित्यिक संघसंस्थामा पनि आबद्ध छिन्। उनको योगदानको कदर गर्दै व्यथित काव्य पुरस्कार, पारिजात राष्ट्रिय पुरस्कार, नातिकाजी संगीत पुरस्कारलगायत विभिन्न पुरस्कार पनि प्राप्त गरेकी छन्। आउँदै गरेको उपन्यास ‘आँधी’ले कतिको मन उडाउला, फागुने बतासले बताउला।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.