न्युडिटी नै इक्वालिटी

न्युडिटी नै इक्वालिटी

काठमाडौं : पाटनढोकाबाट देब्रे साइडको बाटो हिँडेर केही अगाडि पुगेपछि बाटैमा देखा पर्छ एमक्युब ग्यालरी। ग्यालरीभित्र आर्ट स्टुडियो रहेको मध्यम साइजको हल छ। हलभित्र छरपस्ट टाँसिएको छ विभिन्न भागभंगीका मानवीय आकृति। महिला र पुरुषका अनगिन्ती न्युड आकृति सजाइएको छ।

कुनै आर्टमा न्युड महिला बाटोमा हिँडिरहेको दृश्य छ त कुनैमा न्युड पुरुष ओछ्यानमा ढल्किरहेका छन्। कुनैमा मस्त जवान युवती न्युड स्वरूपमा उभिएकी छन्। लुगाविहीनका मानवीय आकृतिका चित्र अजव गजबका देखिन्छन्।

ग्यालरी छिर्नासाथ जो कोही अवाक हुन्छ, यी चित्र के हुन् ? कस्ले बनायो यस्ता न्युड दृश्य। केही असहज लाग्छ दर्शकलाई। मानव शरीरका विभिन्न हाउभाउ र जेस्चरका चित्रहरू। छेउमै मुस्कुराउँदै उभिएका छन् कपिलमणि दीक्षित। उनी नै हुन् यी अनगिन्ती आर्टका सर्जक। करिब २० वर्षदेखि न्युड आर्टमा भविष्य कोरिरहेका छन् दीक्षित। करिब दुईदेखि पाँच मिनेटभित्रै बनाइएका यी आर्ट यहाँ पाँच सयको हाराहारीमा टाँसिएका छन्।

आर्टका अनेक रूप र स्वरूप हुन्छन्। अनेक विषय र विधा हुन्छन्। तर कपिललाई अन्य दृश्यले कहिल्यै छोएन। पहाड, मन्दिर र प्रकृतिको चित्र बनाउन कहिल्यै मन लागेन। किन त ?       उनी भन्छन्, ‘मलाई मानिसको शरीर अत्यन्तै सुन्दर लाग्छ। क्रिया प्रतिक्रिया भएको संवेदना, खुसी र दुःखको भाव पोख्न सक्ने मानव शरीर सधैं एक रहस्य जस्तो लाग्छ। चित्र बनाउँदै गर्दा चित्रसँगै उसको संवेदना पनि समेट्नुपर्ने चुनौती उनलाई बडो गज्जब लाग्छ।

‘ढुंगाको चित्र बनाउँदा ऊ मसँग कहिल्यै बोल्दैन। पहाडको स्वरूप कोर्दे गर्दा उसले मँसग कहिल्यै गुनासो गर्दैन। मेरा लागि निर्जीव वस्तु सुन्दर हुनै सक्दैन’, उनी मानव शरीरसँगको प्रेम प्रकट गरिरहेका थिए।

नेपालमा न्युड आर्टलाई सहज तरिकाले हेर्ने वातावरण बनिनसकेको दीक्षितको अनुभव छ। उनी भन्छन्, ‘न्युड भन्नेबित्तिकै पचाउन सक्दैन मानिस। न्युड चित्र पनि कहीँ आर्ट हुन्छ भन्दै प्रश्न गर्छन् मानिसहरू। मान्छेको इमोसन क्याप्चर गर्नु नै न्युड आर्ट हो भन्ने दीक्षितले धर्मसँग जोडियो भने जस्तोसुकै नग्नता पनि स्विकार गर्ने समाजले कलाकारको आर्ट स्विकार नगरेको अनुभव सुनाए।

मन्दिरका टुँडालमा न्युड आर्ट प्रशस्तै कोरिएका छन्। बाल पेन्टिङ पनि टन्नै छन्। पशुपतिको मन्दिरमा उन्मक्त भैरवको ठूलो न्युड भीमकाय मूर्ति छ। सबै जान्छन्, हेर्छन्, ढोगेर हिँड्छन् तर भगवान् जोडिएको हुनाले मूर्तिले देखाउने नग्नता कसैले देख्दैनन्। ‘बडो अस्पष्ट छ समाजको दृष्टिकोण’, उनी फुसफुसाए।

काठमाडांै सुन्धाराका रैथाने हुन् दीक्षित। आर्ट पढ्न र सिक्न अमेरिकातिर केही वर्ष अल्मलिए। २० वर्ष अगाडिको कुरा हो, अमेरिकामै पढाइकै सिलसिलामा उनी एक दिन न्युड आर्टको कक्षामा गए जहाँ दुईवटा नग्न मोडल युवती विभिन्न पोजमा बसेका थिए। उनीहरूलाई हेरेर डेढ घण्टामै विभिन्न पोजिसनका चित्र तयार गर्नुथियो। एकजना आर्ट शिक्षक कक्षामा थिए। उनको निर्देशनअनुसार मोडेलहरू हाउभाउ परिवर्तन गर्थे। उनले पनि केही आकारका चित्र बनाए। किनकिन उनलाई यस्तो चित्र बनाउँदा अत्यन्तै आनन्द लाग्यो। उनको दिल र दिमाग कनेक्ट भयो न्युड आर्टमा।

दृश्यका लागि अन्य कलाकार ल्याडस्केप खोजेर डाँडाकाँडा हिँड्छन्। कपिललाई भने मानिसका शरीर नै विशाल ल्यान्डस्केप लाग्छ। लुगा नलाएका मानिस सबै समान हुन्छन्। कपिल भन्छन्, ‘न्युड भनेको सत्यता पनि हो। मानिस नांगै जन्मिन्छ र मरेपछि पनि नांगै जलेर जान्छ।’ यसका साथै उनलाई न्युडिटी नै इक्वालिटी हो भन्ने लाग्छ। किन त ? ‘लुगा तथा अन्य हाउभाउ र रहनसहनले मात्रै मान्छेको जात, धर्म, स्तर र अनेक वर्ग छुट्ट्याउँछ। तर जब मानिस न्युड स्वरूपमा हुन्छ सबै समान हुन्छ। उनी भन्छन्, ‘१० जना मानिसलाई न्युड स्वरूपमा लहरै सुताइदियो भने उनीहरू समान देखिन्छन्। कसको के जात, को धनी गरिब, को फरक धर्मको केही पनि छुट्ट्याउन सकिँदैन। त्यसैले पनि न्युडिटी नै समानताको अन्तिम सत्य हो।

न्युड चित्र बनाउन उनले विभिन्न मोडेल प्रयोग गर्छन्। एउटै मोडेललाई हेरेर एकछिनमा अनगिन्ती चित्र उतार्छन्। उनलाई धेरै साथीले गाली पनि गर्छन्। किन नग्न चित्र बनाएको भनेर। तर सबैलाई उनको एउटै एउटै जवाफ छ, सबैसँग भएको सुन्दर शरीरको चित्र कसरी नग्न हुन्छ ?       

न्युड आर्टमै दशकौं खर्च गरेका उनी विभिन्न सम्मान तथा पुरस्कारबाट सम्मानितसमेत भएका छन्। स्वदेश तथा विदेशमा समेत अनेकौं सोलो र ग्रुप प्रदर्शनी गरेका छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.