तीन लाख बत्ती बालेर दीपमहायज्ञ, ४२ हजारले गरे हवन (फोटो फिचर)
वीरगन्ज : वीरगन्जमा जारी अश्वमेध गायत्री महायज्ञमा तेश्रो दिन मंगलबारसम्म ४२ हजार भक्तजनले देवपूजन र हवन गरेका छन्।
चार दिने महायज्ञको उद्घाटन आइतबार गरिएको भए पनि देवपूजन र हवनको कर्मकाण्ड भने सोमबारदेखि मात्र सुरु भएको हो।
सोमबार र मंगलवार गरी दुई दिनको अवधीमा नेपालका विभिन्न जिल्ला, भारतका विभिन्न प्रान्त र तेश्रो मुलुकका गरी ४२ हजार भक्तजनहरूले देवपूजन र हवन गरेको महायज्ञ आयोजक अखिल विश्व गायत्री परिवार वेदमाता गायत्री शक्तिपिठ वीरगन्जका संयोजक विजय सरावगीले जानकारी दिए। उनका अनुसार महायज्ञ अवधीभर ६० हजार भक्तजनले देवपूजन र हवन गर्ने गरी प्रबन्ध मिलाइएको छ।
आदर्शनगर रंगशालामा आयोजित अश्वमेध महायज्ञस्थलमा देवपूजन र हवनका लागि २५१ वटा हवनकुण्ड बनाइएको छ।
सोमबार बिहान एक हजार सात सय ५७ जना मुख्य यजमानहरूले एकै साथ पूजापाठ, गायत्री मन्त्र उच्चारण र हवन गरेर महायज्ञमा देवपूजन र हवन कार्यको शुभारम्भ गरेका थिए।
यसैगरी महायज्ञमा मंगलबार साँझसम्म दुई लाख २५ हजार भक्तजन र आगन्तुकहरूले सामान्य पूजापाठ र अवलोकन पनि गरेको सरावगीले जानकारी दिए।
उनका अनुसार आइतबारदेखि मंगलवार साँझसम्म नेपाल, भारत र मुलुकका गरी दुई लाख २५ हजार भक्तजन र आगन्तुक महायज्ञमा सहभागी भएका हुन्। महायज्ञमा मंगलबार बेलुकी तीन लाख दीप प्रज्वलन गरी भव्य दीपमहायज्ञ गरिएको छ।
महायज्ञस्थल परिसरमा एक लाख एक वटा र नगरवासीका घर घरमा दुई लाख गरी तीन लाख वटा माटोको दियो बालेर दीपमहायज्ञ गरिएको हो।
महायज्ञस्थलमा एक लाख एक र हरेक नगरवासीको घरमा गरी तीन लाख दियो बालेर दीपमहायज्ञ गरिएको संयोजक सरावगीले बताए।
आइतबारदेखि सुरु भएको अश्वमेध महायज्ञ बुधबार सकिने छ। महायज्ञको समापन समारोहमा बुधबार प्रधानमन्त्री केपी शर्मा ओली सरिक हुनेछन्।