जलविद्युत् आयोजनाको मर्मत खर्च अत्यधिक
पोखरा : केही समयअघि क्यानाडाका हाइड्रो विज्ञ बाबर खानले नेपालका जलविद्युत् आयोजना अवलोकन गरे। एउटामा पुगेर सोधे, ‘के यो ४० वर्ष पुरानो हाइड्रो पावर हो ? ’ जवाफ उनले सोचे र सोधेभन्दा फरक आयो। होइन ६ वर्षमात्रै भयो आयोजना बनेको भन्ने उत्तरबाट बाबर छक्क परे। ६ वर्षअघिमात्रै सुरु भएको हाइड्रो ४० वर्षको जस्तो बुढो देखिनुको कारण थियो, मर्मतसम्भार नपुग्नु।
बाबर जति जलविद्युत् आयोजना घुमे उस्तैउस्तै समस्या देखे। सबैको समान समस्या—उचित मर्मतसम्भारको अभाव। क्यानाडामा सरकारी नोकरीमै आवद्ध खान आफ्नो देशमा भने ९० वर्ष पुराना जलविद्युत् आयोजना पनि नयाँ जस्तै अवस्थामा रहेको सुनाउँछन्। तिनै खानले पोखरामा तीन दिनसम्म जलविद्युत् आयोजनाका लगानीकर्ता र प्राविधिकलाई आयोजना सञ्चालन र मर्मत सम्भारलगायत विषयमा अनुभव बाँडेका छन्।
‘मैले घुमेका जति हाइड्रो पावर हेर्दा अरु देशभन्दा नेपालीले मर्मत सम्भारमा ४० प्रतिशतभन्दा धेरै खर्च गरेका छन्’, खानले अन्नपूर्णसँग भने, ‘मर्मत खर्च पनि धेरै, तर आयोजना चुस्तदुरुस्त पनि छैनन्।’ सानो कुरामा पहिल्यैदेखि ध्यान नपुर्याएर नेपालका जलविद्युत् आयोजनाले उपकरण बिग्रिएर ठूलो खर्च गर्नुपरेको पनि खान बताउँछन्। ‘विश्वमा जलविद्युत् आयोजनाको मर्मत सम्भार खर्च ४ प्रतिशत छ भने नेपालमा त्योभन्दा ज्यादै धेरै पाइयो’, खानले भने।
विश्व बैंक अन्तर्गतको अन्तर्राष्ट्रिय वित्तीय निगम (आईएफसी) का विज्ञ भीष्म पण्डित तालिका बनाएर नियमित मर्मत गर्ने परिपाटी नेपालका जलविद्युत् आयोजनामा नभएको सुनाउँछन्। भन्छन्, ‘पहिल्यै मर्मत नगर्ने जब बन्दै हुन्छ अनि तात्ने प्रवृत्ति छ’, उनले भने, ‘त्यसो हुँदा उपकरणै बिग्रिएर खर्च बढी हुन गइरहेको छ। उत्पादन बन्दा गर्नुपर्दा अर्को घाटा छ।’
नेपालमा जलविद्युत् आयोजनाले क्षमताअनुसारको उत्पादन नदिनुमा नियमित मर्मत सम्भारको अभाव पनि कारण रहेको पण्डित बताउँछन्। कुन उपकरण गुणस्तरको हो कुन होइन भन्ने जानकारी नहुँदा लगानीकर्ता विदेशी बिक्रेताबाट ठगिएको पनि उनले सुनाए। ‘के मा कति खर्च गर्ने भन्ने योजना पनि व्यवस्थित छैन, पाइपमात्रै राखे हुने ठाउँमा नहरै बनाएर धेरै खर्च गरिएको पनि छ’, उनले भने, ‘गर्नु नपर्ने शीर्षकमा खर्च गर्दा लागत बढेको छ।’
जलविद्युत् आयोजनामा स्वास्थ्य र सुरक्षाका पनि थुप्रै कमजोरी भेटिएको क्यानाडेली विज्ञ खानले बताए। पण्डित पनि उनका कुरामा समर्थन जनाउँछन्। भन्छन्, ‘पावर हाउसभित्र कार्पेट बिच्छाउनु हुन्न, चिसो हुँदा करेन्ट फैलन सक्छ, भित्र काम गर्नेले नाइलनको कपडा लगाउनु हुन्न भन्ने जस्ता सामान्य विषय पनि ख्याल गरिएको छैन।’ मानव संसाधनलाई समयअनुसार तालिम अभाव रहेको पनि खानले औंल्याए।
विदेशी विज्ञ खान र स्वदेशी विज्ञ पण्डितले २५ जना लगानीकर्ता तथा प्राविधिकलाई जलविद्युत् आयोजनाको दीर्घायुबारे तीन दिने कार्यशालामा केही सूत्र बाँडेका थिए। स्वतन्त्र ऊर्जा उत्पादक संघ (इपान) र आईएफसीले कार्यशालाको चाँजो मिलाएका हुन्।
इपान अध्यक्ष शैलेन्द्र गुरागाईंले सरकारलाई ३० वर्षमा बुझाउनुपर्ने आयोजना त्यति समयसम्म टिक्न सक्ने अवस्थामा नरहेको सुनाए। उपकरण टिकाइराख्ने, आयोजनामो आयु दिगो बनाउनेलगायत उपायको खोजी गर्दै कार्यशाला आयोजना गरिएको गुरागाईंले बताए।