सन्तानको पीडाले जग्गा बेचेर अशक्तको स्याहार
दमक : झापा कन्काई नगरपालिका–३ की निर्मला ओझाकी जेठी छोरी नम्रता २५ वर्षकी भइन्। नम्रता बोल्न र सुन्न सक्दिनन्। उनले एसएलसीसम्म अध्ययन गरिन्। उनकै माइली छोरी २३ वर्षीया सुस्मिता शारीरिक रूपमा अशक्त छिन्। ह्विलचेयरको सहयोगमा हिँडडुल गर्छिन्। सुस्मिता जन्मिँदा सकुशल थिइन्। तीन वर्षको उमेरदेखि उनका अंग कुँजिन थाले। उपचार गरे पनि बिसेक भएन। पाँच वर्षको उमेरदेखि उनी हिँडडुल गर्नै नसक्ने भइन्।
दुई सन्तानलाई लिएर लिएर उनले संघसंस्था धाइन्। यस्ता बालबालिकालाई आवासीय रूपमा राख्ने संस्थाले पनि एक–दुई दिन राखेर घरमै फर्कादिए। ‘माइली छोरीलाई इँट्टाभट्टा नामक संस्थाले डेढ महिना राख्यो’, उनले भनिन्, ‘त्यसपछि तपाईंकी छोरी हामी राख्न सक्दैनौं भनेर फकाईदिए।’
उनले त्यही बेला अपांगता भएका बालबालिकाका लागि काम गर्ने संस्था खोल्ने सोच बनाइन्। गाउँमै तीन वर्षदेखि निष्क्रिय पुकार अपांग अशक्त समाजको नेतृत्व उनले लिइन्। संस्थामा ८ देखि २३ वर्षसम्मका १७ बालबालिका छन्। यीमध्ये चार जना मात्र बोल्न सक्छन्। अरूको अवस्था एकदमै नाजुक रहेको उनले सुनाइन्। उनीहरू हिँडडुल गर्न सक्दैनन्। कोही ओछ्यानै परेका छन् भने कोही ह्विलचेयरमा समय बिताउँछन्।
धनकुटाका १३ वर्षीया करुणा र ८ वर्षीया करिना राई दिदीबहिनी हुन्। उनीहरू असारदेखि यही संस्थाको आ श्रयमा छन्। उनीहरू दुवैको हात सानो र खुट्टा दोब्रिएको छ। हातको सहाराले हिँडडुल गर्छन्। पढ्न र लेख्न तेज छन्। उनीहरू पाहुनासँग मज्जाले बोल्छन्।
निर्मलाले झापा, मोरङ, धनकुटा तथा तेह्रथुमका बालबालिकालाई पाल्दै आएकी छन्। संस्थामा दुई जना काम गर्ने र एक शिक्षकको व्यवस्था गरिएको छ। उनीहरूलाई मासिक १० हजारका दरले ३० हजार रुपैयाँ खर्च हुने गरेको उनले बताइन्। उनका अनुसार मासिक ८० हजार खर्च हुन्छ। घर भाडा मासिक १४ हजार तिरिरहेको उनको भनाइ छ।
आफ्ना सन्तानको पीडा महसुस गरेर यस्ता बालबालिकाका लागि काम गर्न थालेको उनले सुनाइन्। दाताबाट भरथेग नभएपछि उनले बाह्रबिघामा रहेको १ कट्ठा जमिन ८ लाख रुपैयाँमा बेचिन्। ‘खर्च धान्न नसक्दा कतै जाऊँ कि जस्तो हुन्छ’, उनले भनिन्, ‘तर, छोरीहरूको पीडा सम्झिन्छु अनि मन सम्हाल्छु।’ उनको संस्थाका लागि एनएमबी बैंकले कन्काई–४ मा भवन बनाइदिने भएको छ। ‘भाडा तिर्ने पैसा त जोगिएला तर बालबालिकाको स्याहारमा हुने खर्चको जोहो गर्न अझै चुनौती छ’, उनले भनिन्।