मेचीपारि नमुना विद्यालय

मेचीपारि नमुना विद्यालय

भद्रपुर : मेची नदीपारि नेपाली गाउँ छ। यहाँ मेची आधारभूत विद्यालय सञ्चालनमा छ। झापाको भद्रपुर नगरपालिका–३ मा पर्ने यो विद्यालयलाई जिल्लाकै नमुना विद्यालयका रूपमा लिइन्छ। यहाँ १ सय ३१ विद्यार्थी छन्। ३० जना भारतीय हुन्।

सुरुमा फुसको छानो थियो। ३१ वर्षमा सञ्चालन भइरहँदा कर्कटपाताले सजिएको छ। वरिपरि बारेर व्यवस्थित बनाइएको छ। सरसफाइलाई पहिलो प्राथमिकता दिइएको शिक्षक किसान राईले बताए। सरकारले कक्षा ८ सम्म पढाउने अनुमति दिए पनि शिक्षक अभावमा पढाइ सञ्चालन हुन नसकिरहेको उनले सुनाए। कक्षा ७ सम्म पठनपाठन भइरहेको छ।

विद्यार्थी वारिबाट हिउँदको समयमा सहजै आउँछन्। तर, बर्खामा मेची नदी बढ्छ। शिक्षकहरू खोला तरेर आउने गरेको उनले बताए। ‘यो विद्यालयलाई बन्दहड्ताल केहीले छुँदैन’, उनले भने, ‘चाडपर्वको बिदा र शनिबारबाहेक अरू दिन विद्यालय लाग्छ।’

यो गाउँमा १ सय ३५ परिवारको बसोबास छ। उनीहरूका सन्तान खोलासँग ‘युद्ध’ गरेर पढ्न जान सम्भव नभएकाले मेचीपारि विद्यालय खोलिएको प्रधानाध्यापक चमकलाल राजवंशीले बताए। अभिभावक भने छोराछोरी पढाउनुपर्छ भन्नेमा सचेत नरहेको उनको भनाइ छ। ‘घरमा पाहुना आयो भने पनि विद्यालय नजाने बानी छ’, उनले भने, ‘किनभने, पाहुना आएपछि घरमा मिठो–मिठो पाक्छ अनि खान पाउँछन्।’

विद्यालयमा स्थानीय स्रोतका शिक्षक छैनन्। विद्यार्थीलाई आधारभूत कुरा सबै उपलब्ध गराइएको शिक्षक राईले सुनाए। व्यवस्थित फर्निचरसहितको कम्प्युटर कोठा देखाउँदै उनले भने, ‘१० वटा कम्प्युटर छन्। इन्टरनेटको पनि व्यवस्था छ।’

कक्षा ४ देखि ७ सम्मका विद्यार्थीलाई दैनिक एक घण्टा कम्प्युटर सिकाइन्छ। बच्चाबच्चीलाई सातामा तीन दिन युट्युबबाट जानकारीमूलक भिडियो देखाउने गरिएको छ। बत्ती जाँदा विकल्पका रूपमा सोलार प्यानल राखिएको छ।

‘विद्यार्थीलाई हामी हरेक कुरामा अब्बल बनाएर पठाउँछौं’, उनले भने, ‘उनीहरूको रुचि के छ ? त्यहीअनुसार विद्यार्थीलाई सिकाउने गरिन्छ।’ तर, सरकारले बेवास्ता गरेको उनको गुनासो छ। उनका अनुसार विद्यालयको ८ कट्ठा जग्गा छ। भद्रपुर नगरपालिकाले पनि अरू विद्यालयजति नहेर्ने गरेको प्रधानाध्यापक राजवंशीले बताए। ‘सरकारले शिक्षकलाई तलबबाहेक केही दिँदैन’, उनले भने, ‘यहाँको संरचनालाई व्यवस्थित गर्न अरूकै सहयोग लिनुपर्ने अवस्था छ।’

गाउँमा बिजुली बल्न थालेको एक वर्ष भयो। हरेक घरमा टेलिभिजन छन्। परिवारसँगै बसेर टीभी हेर्ने हुनाले बालबच्चाको पढाइ खस्किएको छ। ‘भेला राखेर बालबालिकाको पढाइमा ध्यान पु¥याउन अभिभावकलाई सम्झाउने गरेका छौं’, उनले भने।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.